PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गतिहीन काठमाडौं महानगरको मतगणना : चर्को आलोचनापछि थपियो एउटा काउन्टर, वडा नम्बर ३१ को गन्ती सुरु



पहिलोपोस्ट

गतिहीन काठमाडौं महानगरको मतगणना : चर्को आलोचनापछि थपियो एउटा काउन्टर, वडा नम्बर ३१ को गन्ती सुरु

काठमाडौं : काठमाडौं महानगरपालिको पछिल्लो मतगणनामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायम राखेका छन्। अहिले काठमाडौं महानगरपालिका ३२ वडामध्ये वडा नम्बर १, २, ३, ४ र ३२ को गणना भइरहेको छ।

शनिवार बिहान ८ बजेदेखि गणना भए पनि अहिलेसम्म ६ हजारमात्र मतगणना भएको छ। मध्यान्हबाट वडा नम्बर ३१ को मतगणना समेत सुरु गरिएको छ। मत गणना ढिला भएपछिक चर्को आलोचना भइरहेको छ। 

अहिले एउटा काउन्टर थप गरेर वडा नम्बर ३१ को गणना सुरु भएको छ। गणना भइरहेको वडामध्ये केहीको अन्तिमतिर पुग्न लागेको छ।  अहिलेको अवस्थामा नै मतगणना हुने भए दुई साता भन्दाबढी समय लाग्ने पनि देखिएको छ।

हिजो शनिवार बिहान ८ बजेदेखि काठमाडौंको मत गणना सुरु भयो। जनसङ्ख्याको हिसाबले सबैभन्दा धेरै मतगणना गर्नुपर्ने महानगरपालिका हो काठमाडौं। तर, २४ घण्टा बितिसक्दा पनि काठमाडौंमा करिब ६ हजारभन्दा धेरै मत गणना हुन सकेको छैन।

गठबन्धनका उम्मेदवारको फरक चिन्हमा लागेको स्वस्तिक छाप, अवैज्ञानिक मतपत्र, निर्वाचन शिक्षाको कमी लगायतले यसपाला महानगरपालिकाको मतदान र गणना दुवै प्रभावित भएको छ। त्यसैले पनि बदर मतको सङ्ख्या तुलनात्मक रूपमा धेरै हुने अपेक्षा गरिएको छ। मतगणना पनि झन्झटिलो बनेको छ। उम्मेदवारको सङ्ख्या धेरै भएकाले मतगणनामा सबैलाई समावेश गरिएको छ। जसले मतगणना गर्दा सबैलाई एकाएक गरेर देखाउनु परेकाले पनि मतगणनामा समय लागेको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अधिकारीले बताए।

मतपत्र दुई फोल्ड गर्नुपर्ने हुन्छ। ७ जना उम्मेदवारको सदर बदर गरेर छुटाउनुपर्ने भएकाले पनि प्रदेश र संसदीय निर्वाचनको तुलनामा सात गुणा समय लाग्ने गरेको छ।

काठमाडौं महानगरपालिका ३२ वटा वडा रहेका छन्। ३/४ वडामा मतदाताको सङ्ख्या १५ हजार भन्दा धेरै छ। ३ लाख मतदाता रहेको काठमाडौंमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। त्यही हिसाबले डेढ लाख भन्दा धेरै मतपत्र गणना गर्नुपर्ने देखिन्छ। अहिलेको हिसाबले नै मतगणना गर्ने हो भने अर्को दुई साता बित्नेछ मत गन्दैमा।

'केही व्यवस्थापकीय सुधार गर्नुपर्ने हुन्छ। एक दुई दिनको ट्रेन्डलाई हेरेर मतगणना कसरी गर्ने भन्ने विषयमा आयोगले छलफल गर्छ,' आयोगका सह प्रवक्ता सूर्यप्रसाद अधिकारीले भने।

२०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएको थियो। काठमाडौं महानगरपालिकाको मतपरिणाम गणना भएको १३ दिनपछि मात्र आएको थियो। अर्थात् जेठ १४ गते मेयरमा विद्यासुन्दर शाक्य विजयी भएको घोषणा भएको थियो। त्यही हिसाबले पनि काठमाडौं महानगरपालिकाको अन्तिम रिजल्ट जेठको दोस्रो सातामा आउने देखिएको छ। त्यसमा पनि अहिलेको गतिमा नै मतगणना भए त्यो पनि सम्भव देखिँदैन। किनकि २०७४ को स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रममा गणना ढिलो भएको आलोचना भएपछि आयोगले मतगणना गर्ने स्थान थप गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell