![हिमाली जिल्ला मुस्ताङको मतपरिणाम : चार पालिकामा एमालेले जित्यो, एउटामा कांग्रेसको जित](https://pahilopost.com/assets/upload/contentthumb/mustang2.jpg)
काठमाडौं : हिमाली जिल्ला मुस्ताङका पाँच वटै पालिकाको मतपरिणाम आइसकेको छ। मुस्ताङमा नेकपा (एमाले)ले अध्यक्ष ४ र उपाध्यक्ष ३ तथा नेपाली कांग्रेसले १ अध्यक्ष र २ उपाध्यक्ष जितेका छन्।
घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहन सिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका हुन्।
मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका सञ्जय कुमार थकालीले ७५८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले ६९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो।
त्यसैगरी, थासाङ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका प्रदिप गौचन र उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन विजयी भएका हुन्। अध्यक्षमा गौचनले १ हजार १४४ र उपाध्यक्षमा हिराचनले १ हजार ११२ मत प्राप्त गरेका छन्। अध्यक्षमा कांग्रेसकी बालकुमारी शेरचनले १ हजार ५५ र उपाध्यक्षमा एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत प्राप्त गरे।
त्यस्तै, लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकै छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन्। अध्यक्षमा विष्टले ६८९ र उपाध्यक्षमा गुरुङले ६४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बताए। उनका अनुसार अध्यक्षमा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरे। यहाँ कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए।
यसैगरी, लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका टसी न्हर्वु गुरुङ र उपाध्यक्षमा एमालेकै छयुमी बिष्ट गुरुङ विजयी भएका हुन्। अध्यक्षमा टसीले ६६८ र उपाध्यक्षमा छयुमीले ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१५ र उपाध्यक्षमा कांग्रेसकी छिरिङ ढोका गुरुङले ५२९ मत प्राप्त गरे।
यता, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि एमालेका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा एमालेका रिङजीन नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकि गुरुङले ७४९ मत प्राप्त गरेर विजयी भएकी छिन्।
अध्यक्षका प्रत्यासी कांग्रेसका आङ्जेन गुरुङले ५७७ र उपाध्यक्षमा कांग्रेसकै धेच आङमो गुरुङले ६७७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।