PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालेनको लौरोले एमाले-कांग्रेसलाई कसरी हानिरहेको छ ट्वाक्क, ट्वाक्क, ट्वाक्क...?



प्रकाश भण्डारी

बालेनको लौरोले एमाले-कांग्रेसलाई कसरी हानिरहेको छ ट्वाक्क, ट्वाक्क, ट्वाक्क...?

काठमाडौं : राष्ट्रिय सभागृहको माहोल काठमाडौं महानगरका स्वतन्त्रतर्फका मेयर पदका उम्मेदवार बालेन साहमय छ। सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो ठूलो तथा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका कार्यकर्ता समेत खासै छैनन्। त्यसैले गुमनाम लाग्छन् कांग्रेस एमाले। मत गणनामा कांग्रेस एमालेका उम्मेदवारको मत धिमा गतिमा अघि बढिरहेको छ भने बालेनको तीब्र।

बालेनले आग्रत लिएको दृश्य मतगणनास्थलमा मात्रै सीमित छैन्। प्रदर्शनमार्गमा पनि उनको जयजयकार जारी छ। जसरी सभागृहमा मतगणनाको ब्रिफिङ हुँदा 'लौरो' भन्ने आवाज निस्किन्छ त्यसरी नै प्रदर्शनीमार्गमा बालेनको पक्षमा चर्को नारावाजी चर्किहाल्छ। स्क्रिनमा बेला बेलामा आउने मत गणनाको स्कोरले माहोल तताइरहेको छ भृकुटीमण्डपको।

'दलको मेयर आएपछि सबै सखाप पार्छ। स्वतन्त्र भएपछि उसले आफ्नो दल हुन्न अनि भ्रष्टाचार पनि हुन्न,' सभागृह बाहिर चर्चा परिचर्चा यस्तै छ। समर्थकको नारा छ - बालेन साह हाइ हाइ.., काठमाडौंले के भन्छ बालेन साह ल्याउ भन्छ...'

तारबार भित्रको माहोल

दलका प्रतिनिधिलाई मात्रै होइन, मतगणना स्थलमा उम्मेदवार र पत्रकारलाई पनि कडा चेक गरेरमात्रै प्रवेश दिइएको छ। म्यादी प्रहरी सहितको दुई घेराको प्रहरीको सुरक्षा जाँचपछि मात्रै पुगिन्छ मत गणना स्थल। १, २, ३, ४, ३१ र ३२ वडाको गणना चलिरहेको छ अहिले। तारबार बाहिर दलका प्रतिनिधि र भित्र निर्वाचन आयोगका गणक व्यस्त छन्। गणकले सुनाइरहेका छन् दलका प्रतिनिधिलाई एक लौरो, दुई सूर्य बाँकी बदर..., मेयरमा लौरो अरु सबैमा रुख...। आक्कल झुक्कल आइरहेका छन् अरु दलका चिन्हको नाम। स्वतन्त्रमा काठमाडौं महानगरमा मेयरका उम्मेदवार साह एक्ला भने होइनन्। २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् यहाँ। स्वतन्त्र तर्फका अरु उम्मेदवारको खातामा मुस्किलले थपिन्छ मत। कतिले त अझैसम्म पनि खाता समेत खोलेका छैनन् भने कतिलाई दोहोरो अंक जोड्नै सकस परिरहेको छ। त्यसैले अरु उम्मेदवारका समर्थक सभागृहमा देखिन्नन् भने गणनास्थलका पार्टीका प्रतिनिधिमा पनि उत्साह देखिँदैन।

यद्यपि, गणकले भन्नासाथ तारबार बाहिरका सबै दलका प्रतिनिधिले टपक्क टिपिहाल्छन् उम्मेदवारले पाएको मतको संख्या। प्रतिनिधिहरु बिच पनि खासखुस चल्छ, 'जताततै लौरो छ। अब खै के गर्ने?'

भित्र बसेकालाई तारन्तार फोन पनि आइरहेको छ। बाहिरबाट आउने फोनको पनि जानकारी दिनै पर्‍यो प्रतिनिधिले। 'दाई, सबैतिर लौरो छ हेरौं अरु वडामा के हुन्छ,' कानमा जोडिएको फोनमा धेरैजसो गणकले यस्तै भनिरहेको सुनिन्छ।

लौरोको कमाल

सत्ता गठबन्धनलाई पाँच दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) र राष्ट्रिय जनमोर्चाको साथ छ। तर, मत गणनास्थलमा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेद्वार बनेकी सिर्जना सिंहको व्यालेटमा बलियो गठबन्धन देखिन्न। किनभने दलका प्रतिनिधिहरुले आक्कल झुक्कल मात्रै सुनिरहेका छन्, 'मेयरमा रुख'। सत्ता गठबन्धनको आँकलन थियो - मुख्य प्रतिस्पर्धी एमाले हो। अनि एमालेको पनि आँकलन थियो प्रतिस्पर्धा सत्ता गठबन्धनसँग मात्रै हुन्छ। तर, दुवैको आँकलन प्रारम्भीक मतगणनामा फेल खाइरहेको छ। दुवैलाई चुनौती थपिरहेको छ साहको लौरोले।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंमा कब्जा जमाएको एमाले सभागृह भित्रको गणनामा भने धर्मराएको छ। माहोल लौरोमय बन्दा कुनैकुनै बेला आउँछ सूर्यको कोठामा दलका प्रतिनिधिलाई धर्सा तान्नुपर्ने मौका।

गणकले बेला मौकामा ठट्टा पनि गरिरहेका छन्। 'ल यसमा चाहिँ गठबन्धनको इमान्दार मान्छे रहेछ,' वडा नम्वर ३ का गणकले रुखमा ७ छाप देखे पछि सुनाए।

कस्तो छ भोटिङ प्याटर्न?

मत गणनाको सुरुदेखि नै बालेन साहको नाम अग्रस्थानमा छ। वर्षौसम्म काठमाडौंको स्थानीय सरकारमा कब्जा जमाएका दलहरुलाई बालेनले प्रारम्भीक मत गणनाले नै तंरगित बनाइदिएका छन्। मत गणना हेर्दा एमाले र कांग्रेसकै मतदाताले बालेनलाई मत हालेको प्रष्ट देखिन्छ। किनभने मेयरमा लौरोलाई हानेर बाँकीमा कि एमाले कि कांग्रेसलाई मत दिनेको संख्या प्रारम्भीक गणनामा धेरै देखिएको छ। भोटिङ ड्रेन्ड कस्तो पनि छ भने मेयरमा लौरोमा मत हाल्ने र बाँकीमा मत बदर गरिदिने। मतदान अघि चर्चा चल्ने गरेको थियो - बालेनले कसको मत काट्छन्? कतिले कांग्रेसकै मत काट्छन् भन्थे त कतिले एमालेको। तर, त्यतिबेला बालेनले भन्ने गरेका थिए - म सबैको मत काटेर जित्छु।

उनको आत्मविश्वासले सफलता प्राप्त गर्छ या गर्दैन मतगणनाको ठूलो हिस्सा गन्तीमा आइसकेपछि मात्र भन्न सकिन्छ।

गठबन्धनलाई सुरुवाति धक्का, एमालेलेलाई साहनुभूति

जसरी साहले काठमाडौंको मेयरमा छलाङ मारिरहेका छन् त्यसरी नै एमालेकी काठमाडौं महानगरकी उप प्रमुखमा सुनिता डंगोलले अग्रता कायम गरिरहेकी छन्। उनले अहिलेसम्म पाएको मत साहको भन्दा पनि लोकप्रिय छ। गठबन्धनका प्रमुख र उपप्रमुख दुवै पछिपर्दा एमालेलाई भने साहनुभूति दिइरहेकी छिन् डंगोलले। त्यसको दृश्य सभागृहमा पनि देखिन्छ। किनभने एमालेका प्रतिनिधि केही आशाका साथ मतगणना स्थलमा बसिरहेका छन् सुनिताले जित्छिन् र मेयरमा भित्री शहरको मत गणना स्थापितको पक्षमा आउने आशमा। हुन त एमालेले डंगोलको लोकप्रियता देखेरै मनोनयनको केही दिन अघिमात्रै उनलाई पार्टीमा भित्र्याएको हो। सुनिताले उप प्रमुखमा जिते निकाल्दा एमालेलाई जति साहनुभुति मिल्ने छ त्यति नै सत्ता गठबन्धनलाई प्रमुख/उपप्रमुखमा हार्दा धक्का लाग्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell