PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विराटनगरमा सुस्त मतगणना, ‘यसरी त एक महिना विद्यालयमा बस्नुपर्ने भयो’



अनन्तराज न्यौपाने

विराटनगरमा सुस्त मतगणना, ‘यसरी त एक महिना विद्यालयमा बस्नुपर्ने भयो’

विराटनगर : विराटनगर महानगरपालिकाको मतगणना शनिवार बिहान १० बजेदेखि सुरु भएको थियो। मतगणनास्थल स्थानीय आदर्श उच्च माध्यामिक विद्यालयमा सञ्चारकर्मीहरू रिपोर्टिङका लागि सोही दिनयता तैनाथ छन्। निर्वाचन आयोगले महानगरको पहिलो मतपरिणाम घोषणा अपराह्न ४ः४५ मा मात्र गर्‍यो। प्रत्येक घण्टा मत परिणामको अपडेट पस्कन कस्सिएर आएका पत्रकारले पौने पाँच घण्टा गफ गरेर बिताए।

अपराह्न ४ः४५ पछि पत्रकारहरू प्रत्येक घण्टा मतपरिणामको घोषणा हुने कुरामा विश्वस्त थिए। तर, राति ११ बजेसम्म पनि मतपरिणाम घोषणा भएन। जसकारण धेरैले अपुष्ट र अघोषित तथ्यांकको साहरा लिएर समाचार बनाए।

आइतवार बिहान ७ नबज्दै पत्रकारहरू फेरि आदर्श उच्च माविको मिडिया सेन्टरमा आइसकेका थिए। आइतवारको पहिलो घोषणा बिहान १०ः३० बजे गरियो। त्यसपछि अपराह्न ३ बजेसम्म दोस्रो घोषणा गरिएको थिएन। तर, साढे ३ बजेपछि भने मतगणनाको अपडेट दिइएको छ।

पछिल्लो अपडेटअनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २ हजार ५६५ मत पाउँदा नेकपा (एमाले)का सागर कुमार थापाले १ हजार ८५० र स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले ८७१ ल्याएका छन्।

त्यस्तै, उपमेयर पदमा एमालेकी शिल्पा कार्कीले २ हजार १०० ल्याउँदा जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १ हजार ३९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४८२ पाएका छन्।

पत्रकार कुमार लुइँटेलका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले समयमा आधिकारिक घोषणा गर्न नसक्दा सञ्चारकर्मीले अघोषित र अपुष्ट सूचनालाई आधार बनाएर समाचार तयार गरिरहेका छन्।

पत्रकार लुइँटेलले राज्यले यस प्रकरणमा सूचनाको अधिकार र मर्मको उपहास गरिरहेको भन्दै आक्रोश व्यक्त गरका छन्।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने आइतवार बिहान पत्रकारहरूको समूहलाई एक–एक घण्टामा अपडेटको घोषणा गर्ने वचनबद्धता दिएका थिए। तर, यो वचन पूरा गरिएको छैन। मुख्य निर्वाचन अधिकृत लम्सालले मतगणनालाई तीव्र बढाउन कर्मचारी र गणकको संख्या थप गर्ने तयारी भइरहेको बताएका छन्

महानगरको उपप्रमुखमा स्वतन्त्र उमेदवार नमिता न्यौपानेले मतगणना ढिलो गरिएकोमा रोष प्रकट गर्दै तुरुन्त जनशक्ति थपेर तीव्र बनाउन माग गरेकी छिन्। प्रमुखका स्वतन्त्र प्रत्याशी उमेश यादवले भने, 'यस हिसाबले त हामीले यो विद्यालयमा एक महिना बस्नुपर्ने भयो।'

विराटनगर महानगरपालिकाको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना जारी छ।

मतगणना स्थलबाहिर सडकमा बसेका सर्वसाधारण र दलका कार्यकर्ताको ठूलो संख्या छ। उनीहरू पनि मुख्य निर्वाचन अधिकृतउपर आक्रोश व्यक्त गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell