PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हेटौँडा उपमहानगरमा मतगणना सुस्तः पालो कुर्दै उम्मेदवार र प्रतिनिधि,थपिँदै चार गणना स्थल



निशा गुरुङ

हेटौँडा उपमहानगरमा मतगणना सुस्तः पालो कुर्दै उम्मेदवार र प्रतिनिधि,थपिँदै चार गणना स्थल

हेटौँडा: शुक्रबार मतदान भएका अधिकांश स्थानमा मतगणना भइरहेको छ। नेता कार्यकर्ताहरु मतदान स्थलमा दुई दिनदेखि मतपरिणाम कुरिरहेका छन्।

मतदान सकेर शुक्रबार मतपेटिका मतगणना स्थलमा ल्याइएपछि आफ्नो वडाको पालो कुरेर बसेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षका उम्मेदवार दीपक खड्का तीन दिनदेखि बजारमै बास बस्नुपरेको बताए।

‘तीन दिनदेखि बजारमै बसेका छौँ, हाम्रो अझै केही दिनसम्म पालो आउने छाँटकाट छैन। फेरि घर जाउँ भने पनि आफ्नो वडाको पालो आइहाल्ने हो कि भन्ने पनि हुन्छ,’ उनले भने।

मतगणना गर्न निकै समय लागेको हुँदा कुर्दाकुर्दै हैरान भएको खड्काले बताए।

त्यसैगरी, हेटौँडा वडा नम्बर १२ का वडाध्यक्षका उम्मेदवार ललित घलानको पनि उही अवस्था छ। तीन दिनदेखि मतपरिणाम कुरेर बसेका उनको पनि कुन बेला समय आउने हो पत्तो छैन।

‘दुई दिनमा पनि एउटा वडाको मतगणना नसकिने रहेछ, पालो कहिले आउने हो थाहा छैन,’ उनले भने।

उम्मेदवारहरु मात्रै होइन कार्यकर्ताहरु पनि तीन दिनदेखि मत परिणामको पर्खाइमा छन्।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतगणनाको परिणाम सकेसम्म चाँडो सार्वजनिक गर्ने पक्षमा रहेको र त्यसका लागि ढिलाइ भइरहेका ठाउँमा मत गणना सकिएका गाउँपालिकाका टोली खटाउने बताए।

यसअघि, आयोगले पाँच दिनभित्र सबै स्थानीय तहका परिणाम सार्वजनिक गरिसक्ने लक्ष्य रहेको बताएको थियो। तर, एउटै मतपत्र गन्न धेरै समय लाग्ने र धेरै गनिसकेर चित्त नबुझेकाहरुले दोहोर्‍याएर गन्न लगाउँदा समय लागेको श्रेष्ठले बताए।

‘मतपत्र ठूलो छ। चिन्ह पनि धेरै छन्। मतपत्रको पाना खोल्नुपर्‍यो। सात ठाउँमा कसले कति मत पाए त्यो हेर्नुपर्‍यो। कुन सदर र कुन बदर भयो त्यो पनि हेर्नपर्‍यो। एक जनाले मात्र पाएको मत गन्नुभन्दा ६ देखि ७ गुणासम्म समय त्यसले लिने गर्छ। त्यही भएर मत गन्न समय लाग्छ,’ उनले भने।

कयौँ स्थानमा तारजाली र सीसीटीभी क्यामेराको निगरानीसहित उच्च सुरक्षा व्यवस्था कायम गरेर मतगणना भइरहेको छ। नयाँ संविधान जारी भएयता दोस्रो पटक भइरहेको स्थानीय तहको निर्वाचनमा मकवानपुरका करिब ७१ प्रतिशत मतदाताले भोट खसालेका छन्।

चासोका साथ हेरिएका वाग्मती प्रदेशकै एकमात्र उपमहानगरमा शनिबार बिहानदेखि मतगणना थालिएको थियो।

शनिबार बिहान मतगणना सुरु गरेको १ नम्बर वडामा आइतवार बेलुका ६ बजे बल्ल मत गनेर सकिएको छ। वडा नम्बर १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका छन्। १३१ मतान्तरले न्यौपाने पुनः ५ वर्षको लागि वडाध्यक्षमा निर्वाचित भएका हुन्।

न्यौपानेले एक हजार ४४२ मत प्राप्त गर्दा नेकपा (एमाले) का उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुजन शाहीले २०७ मत ल्याएका छन्। हाल हेटौँडा २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ।

थपिँदै चार मतगणना स्थल

मतगणनामा ढिलाइ हुँदा हेटौँडास्थित सिद्धार्थ माविमा चार वटा मतगणना स्थल थप्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।

छिटोभन्दा छिटो मत परिणाम सार्वजनिक गर्ने उद्देश्यले चार वटा मतगणना स्थल थप्न लागेको उनले बताए। थप चार स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको उनले बताए।

तयार भएपछि आज रातिदेखिनै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell