PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जब एउटै ओछ्यानमा मत कुरिरहेका भाइले दाइलाई हराए…



सविन ढकाल

जब एउटै ओछ्यानमा मत कुरिरहेका भाइले दाइलाई हराए…

काठमाडौँ: शुक्रबार मतदान सकिएपछि देशभरका केही स्थानमा मतगणना सुरु भइहाल्यो भने अधिकांश ठाउँमा शनिबार बिहानबाट। शनिबारबाट थालिएको गणना त्यही दिन सकिएन। ५ हजारभन्दा धेरै मतदाता भएका वडादेखि नगरसम्म रातभर गणना चलिरह्यो। इलामको रोङ गाउँपालिका वडा नम्बर १ को गणनाको कथा पनि उस्तै थियो। त्यहाँ पनि चलिरहेकै थियो मत गन्तीको काम।

निर्वाचन सुरु हुनभन्दा अगाडि लाठी मुङ्ग्री गरेर उत्रिएका राजनीतिक दलका हर्कत केही स्थानमा मतगणनाको समयमा पनि रोकिएको थिएन। कतिपय दलका कार्यकर्ताहरु मतगणना स्थलमै नाराबाजीमै उत्रिएका थिए।

राति मतगणना भइरहँदा भाइ मनोहरि खड्का र दाजु मनोज भने एउटै ओछ्यानमा सुतेर मत परिणाम कुरिरहेका थिए। रातिको खाना समेत एउटै भान्छामा बनेको थियो। कसको मत कति आउँछ भन्ने कौतुहलताले भने दुबैलाई सताइरहेको थियो।

मत परिमाणको परिणाम कुरेर छुट्टाछुट्टै गुटमा नाराबाजी भइरहेँ पनि उनीहरु एउटै ओछ्यानमा अटाएका थिए। उनीहरू दुवै जना एक अर्काको मत परिणाम कुरिरहेका थिए। प्रतीक्षा यति सौहार्दपूर्ण थियो कि एकको जितमा अर्कोको हार निश्चित थियो।

एकै दलबाट उम्मेदवारी दिएका दाजुभाइको कथा हुन्थ्यो भने यसमा खासै रोचकता हुन्नथ्यो। एकै पदमा दुई फरक पार्टीका उम्मेदवार थिए उनीहरु। अझ सोझो अर्थमा एकअर्काका प्रतिस्पर्धी। उनीहरू दुईबीच एकको हार अर्को जित सुनिश्चित थियो। तर पनि दाजुभाइको नाताले राजनीतिभन्दा माथि थियो।

'हामीमा अरूको जस्तो अवस्था थिएन। हामी रातिसम्म सँगै सुतेकामात्र होइन, खानासमेत सँगै बसेर खाएका थियौं। राजनीतिभन्दा पहिले हाम्रो दाजु भाइको सम्बन्ध हो,' रोङ गाउँपालिकाको वडा नम्बर १ मा वडा अध्यक्षमा कांग्रेसबाट उम्मेदवार दिएका मनोहरि खड्काले सुनाए।

उता उनकै दाजु मनोज भने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए। आइतबार बिहानै मत परिणाम आयो। भाइ मनोहरले विजयको रातो टिका लगाए। मनोहरले ६ सय १० मत पाउँदा मनोजले ४ सय ८८ मतमात्र।

'विजयी भइसकेपछि पनि दाइसँग कुराकानी भएको छ। आज बेलुका (आइतबार) भेट्ने कुरा भएको छ,' वडा अध्यक्षमा जित निकालेका मनोहरले भने।

उनीहरू काका बडवाका छोराहरू हुन्। घर पनि नजिकै। त्यसो त निर्वाचनमा होमिनु अगाडि पनि परिवारका सदस्यसँग कुराकानी भएको थियो। मनोहरले दाइको भन्दा पाँच दिन अगाडि उम्मेदवारी घोषणा गरेका थिए। जसको लागि आफ्ना काका र दाइ मनोजलाई भेटेर छलफल गरेको सुनाए।

उता दाइ मनोजले पनि सल्लाहमा नै उम्मेदवारी दिए। त्यसपछि उनीहरूको एउटा सहमति भयो। दुवै जनाले घरदैलोदेखि अन्य कुरामा स्वास्थ प्रतिस्पर्धा गर्ने। उनीहरु अनौपचारिक सहमति परिवारको सदस्य झैँ बलियो नै रह्यो। तर घरदैलो गर्दा एउटै प्रश्नले मनोहरलाई सताइरहेको रहेछ।

'जहाँ गए पनि एउटै परिवारबाट किन दुई पार्टीमा उम्मेदवार? कसलाई भोट दिने भन्ने प्रश्नले धेरै सतायो। यसैको जवाफ दिँदादिँदै धेरै समय गयो,' पहिलोपोस्टसँगको टेलिफोन कुराकानीमा मनोहरले भने।

उम्मेद्वारी दिएपनि मनोनयन फिर्ता लिने समयमा मनोहरले उम्मेदवारी फिर्ता लिने कि भन्ने पनि सोचेको सुनाए। तर पार्टीको निर्णय र पार्टीबाट अरु उम्मेदवार दर्ता नभएकाले मनोहरले पछि हट्न मिलेन। अनि निर्वाचनमा नै होमिए। र, निकाले जित।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell