PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनि यसरी फैलिरहेछ उम्मेदवारले पाएभन्दा धेरै संख्याको मत…



मुकुन्द घिमिरे

अनि यसरी फैलिरहेछ उम्मेदवारले पाएभन्दा धेरै संख्याको मत…

काठमाडौँ: राष्ट्रिय सभागृहमा शनिबार बिहान ८ बजेदेखि जारी छ काठमाडौं महानगरपालिकाको मतगणना। भित्र सुस्त गतिमा मत गन्ती चलिरहँदा बाहिर भने तीब्र गतिमा फैलिरहेको छ परिणाम। वास्तवमा कसले कति मत पाए भनेर सजिलै जानकारी पाउन मुस्किल छ। घण्टौँको फरकमा जबसम्म निर्वाचन अधिकृतले मतपरिणाम सुनाउँछन् त्यतिबेलासम्म मिथ्या मत संख्याले सामाजिक सञ्जाल कब्जा गरिसकेको हुन्छ। सही अपडेट थाहा पाउन पत्रकारलाई नै हम्मेहम्मे परिरहेको छ।

मत गणनास्थलमा एक पटकमा दुईजना पत्रकारलाई मात्र प्रवेश अनुमति छ। अर्थात् दुई जना भित्र जाने, ती दुईजना फर्किएपछि अरु दुई जना जाने अवलोकनका लागि।

सभागृहको परिसरमा टेन्ट टाँगिएको छ। त्यहाँ स्क्रिन राखिएको छ जहाँ समय समयमा मतगणनाबाट प्राप्त आधिकारिक नतिजा सार्वजनिक गरिन्छ। भित्र गएका पत्रकार केहीबेर त्यतै अल्मलिए भने अरु जान सक्दैनन्। त्यसैले अधिकांश पत्रकार त्यही टेन्ट आसपासमा भेटिन्छन्।

सभागृह बाहिर बालेन्द्र साह (बालेन) का समर्थकको भीड छ। मतगणनाको सुरुदेखि नै बालेनले अग्रता बनाउँदा उत्साहित छन् उनका समर्थक। उनका समर्थकमा अधिकांश युवा छन्, केही समयको अन्तरमा उनीहरु एकैपटक हुटिङ लगाइरहन्छन्। भित्र बस्नेले मतगणनाको अपडेट पाएका हुँदैनन् तर बाहिर बसेका उनीहरुले भने सूचना पाउँछन् र हुटिङ लगाउँछन्। उनीहरुले पाएको सूचना भित्र बस्नेले पाएका हुँदैनन्। यस्तो कसरी हुन्छ?

उम्मेदवार र तिनका प्रतिनिधिलाई मत गणनास्थलमा पस्ने छुट छ। त्यसैले बेला-बेला बाहिर-भित्र गरिरहने प्रतिनिधि डायरीमा मत संख्या पनि लिएर फर्कन्छन्। र, त्यो संख्या बाहिर रहेकाहरुलाई 'शेयर'पनि गर्छन्। अनि ठूलो 'हुटिङ' सुनिन्छ।

तर, उनीहरुले पाएका मत परिणामका संख्या कतिपय चाहिँ ‘मिथ्या’ भएको पाइएको छ। त्यस्तै, एकजना प्रतिनिधिले ल्याएको सूचना हामीले पनि पायौँ र फोटो खिच्यौँ। उनले यो सूचना सबैसँग शेयर गरिरहँदा हामीले उनलाई भेटेका थियौं।

बिहान पौने ११ बजे खिचेको उक्त सूचनाका हिसाबले बालेन साहले त्यसबेला २ हजार ४५७ मत, केशव स्थापितले १ हजार ४२७ र सिर्जना सिंहले १ हजार १६८ मत पाएका थिए। तर, दिउँसो १ बजे निर्वाचन आयोगले आधिकारिक सूचना दिँदा डायरीमा टिपिएको मत संख्या मिलेन। १ बज्दा बालेनले २ हजार १३९, स्थापितले १ हजार १९९ र सिर्जना सिंहले १ हजार ५७ मत पाएको घोषणा गरियो।

तर, त्यसअघि नै सञ्चार माध्यम र सामाजिक सञ्जालमा पाएभन्दा धेरै मतसहितको मिथ्या सूचना समाचारका रुपमा संप्रेषित भइसकेका थिए। यस्तै सूचनाका आधारमा बाहिर हुटिङ पनि भइरहेको थियो।

मतगणना सुस्त भइरहँदा ‘फेक न्यूज’ फैलिने जोखिम बढ्दो छ। उसो त, काठमाडौं महानगरपालिकाको मतगणना सुरु नहुँदै एकजना राज्यको जिम्मेवार पदमा पुगिसकेका व्यक्तिदेखि संचारकर्मीसम्मले मतगणनामा जेजस्तो सूचना राखे त्यो गलत थियो। अनि त्यो फैलन कति पनि समय लागेन। अन्तमा उनीहरुले सफाई दिए :हामीले गलत सूचना पायौँ। अघिल्लो सूचना विश्वास नगर्नू। उनीहरुले यसो भनिरहँदा अघिल्लो सूचनाले बजार पिटिसकेको थियो।

राजधानी नै रहेको काठमाडौं महानगरपालिकाको पलपलको अपडेट मानिसले खोजिरहेका छन्। अर्कोतर्फ मतगणना र त्यसको सूचना दिन आयोगले अपडेटमा गति बढाएको छैन। सायद यसैलाई मध्यनजर गरेर हुनुपर्छ चारवटा वडा अर्थात १, २, ३,४, र ३२ वडाको मतगणना चलिरहेकोमा अर्को काउन्टर थपियो। अहिले छैटौँ काउन्टरबाट ३१ नम्बर वडाको पनि मतगणना भइरहेको छ।

उसो त निर्वाचन आयोगकै वेबसाइटमा पनि भएको सूचना ‘अपडेट’ छैन। दिउँसो ४ बजे आयोगले आधिकारिक रुपमा जारी गरेको सूचनामा मेयर पदमा बालेन साहले २ हजार ८२८ मत ल्याउँदै अग्रता बनाइसकेका थिए। त्यस्तै एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले एक हजार ४३८ मत पाएका थिए। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ३४० मत पाएकी थिइन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मदनदास श्रेष्ठले २७६, सुमन सायमीले २७७ मत पाएका थिए। तर, दिउँसो ४ बजेसम्म आयोगको आधिकारिक वेबसाइटमा भने बालेनले २१८, केशव स्थापितले १२७ र सिर्जना सिंहले १४८ मतमात्र प्राप्त गरेको उल्लेख थियो।

आयोगले किन सूचनामा गर्‍यो ढिलाइ?

निर्वाचन आयोगको ढिलाइ मतगणनामा मात्रै होइन। चुनावको मनोनयनको अन्तिम नामावली निकाल्ने बेलामा नै देखिएको थियो। चुनावको अघिल्लो दिनमात्रै निकालेको थियो आयोगले उम्मेदवारहरुको अन्तिम सूची। ५ दिनमा नतिजा आउने भनेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने पनि सभागृहको दृश्यले उनको भनाइलाई गिज्याइरहेको छ। आयोगले भने विज्ञप्ति जारी गरि ढिलाइप्रति ध्यानकर्षण भएको भन्दै पन्छिएको छ।

'मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाई गर्ने गरिएको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,' आयोगले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell