PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चुनाव हारेपछि 'ट्रम्प'को बर्बराहट झैं किन आयो एमालेको वक्तव्यमाथि वक्तव्य? (टिप्पणी)



प्रकाश भण्डारी

चुनाव हारेपछि 'ट्रम्प'को बर्बराहट झैं किन आयो एमालेको वक्तव्यमाथि वक्तव्य? (टिप्पणी)
फाइल फोटो।

काठमाडौं : सन् २०२० को आखिरी महिना तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि असाध्यै प्रीतकर रहेन। विभिन्न राज्यबाट आएका मत परिणामसँगै दोस्रो पटक राष्ट्रपति बन्ने आकांक्षा धुमिल बन्दै गइरहेको थियो। आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन् उनले। त्यसैले मतदान र मतगणनामा हेरफेर भएको आरोप लगाउँदै मतगणना नै रोक्न हरसम्भव शक्ति लगाए। आफ्ना समर्थकलाई तोडफोडमै उतारे। उनका अभिव्यक्ति यतिसम्म तुच्छ थिए कि माइक्रो ब्लगिङ साइट ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध नै लगायो। चुनावमा पराजयले तोरीको फूल देखेपछि मान्छे कति विछिप्त हुन्छ – ट्रम्प उदाहरण हुन्। जो बाइडेनले चुनाव जितेको घोषणा गरिसकेपछि पनि ट्रम्म ट्विटबाट चिच्याइरहेका थिए – मैले निर्वाचन जितेँ।

मतदान सकिँनसाथ पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्य र आइतबार एमालेकै महासचिव शंकर पोखरेलले जारी गरेका वक्तव्य पनि करिब ट्रम्पको पराजयपछिको चिच्याहटभन्दा फरक छैन। यतिमात्र फरक हो -ट्रम्पले जस्तै धाँधली भएको दाबी गरे पनि सबैतिर मत गणना रोक्न चाहिँ एमालेले भनिसकेको छैन। गठबन्धन भत्काउन जति नै जोडबल गरे पनि असफल भएको एमालेले सोचेभन्दा फरक परिणाम सामना गर्नुपर्ने भएपछि चर्को अभिव्यक्ति भने दिन सुरु गरेको छ। मतगणना शुरु भएको दोस्रो दिन निर्वाचनमा धाँधली भएको प्रतिक्रिया आउनु पराजयपछिको बर्बराहटभन्दा फरक होइन।

एमालेले जेठ १ गते जारी गरेको वक्तव्यमा तीन विषयलाई उठान गरिएको छ – निर्वाचन हुनुअघिको, निर्वाचनको दिनको र मतगणनाको। मतगणनाको विषयमा महासचिव पोखरेलले जारी गरेको वक्तव्य सान्दर्भिक रहे पनि निर्वाचन सुरु हुँदा र मतदानको दिनको विषयलाई यति ढिलोगरी ल्याउनुपर्ने वाध्यतामा एमाले कसरी रह्यो? आफैँमा जटिल प्रश्न हो।

एमालेले लगाएको आरोप अनुसार निर्वाचन सुरु हुनुअघि –

  • सत्ता गठबन्धन सघाउन गृह प्रशासनले कर्मचारी र प्रहरी खटाएको
  • एमाले मतदातालाई हतोत्साही पार्न गिरफ्तार गरेको, अपहरण गरेको, हत्या गरेको, पोस्टमार्टम नगरेको
  • मौन अवधिमा एमाले उम्मेदवारलाई हतोत्साही पार्न गाडी खानतलासी गरेको, उम्मेदवार पक्राउ गरेको, उम्मेदवारका परिवारका सदस्यलाई घेराबन्दी गरेको, गठबन्धनले पैसा बाढ्दा नरोकेको हो।

यही विषयलाई एमालेले चुनाव अगाडि उठाएन। यतिसम्म कि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई होटलमा प्रहरीले नियन्त्रणमा किन लियो? त्यस प्रकरणमा जनकपुरमा एमाले नेता किन केही समय प्रहरीको नियन्त्रणमा पुग्न पर्‍यो। मियाँले एमालेको बागी उम्मेदवारलाई जिताउन पैसा बाँडेको एमाले जिल्ला नेताको दावी के हो? प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले नै सिफारिस गरेको आयोगका अध्यक्षमाथि किन प्रश्न खडा भयो? यी प्रश्नको न एमालेका अध्यक्ष ‌ओलीले जवाफ दिएका छन् न महासचिव पोखरेलले नै। एमालेमात्र होइन, कुनै पनि राजनीतिक दलले यस्ता गतिविधि गर्नु गलत हो। तर, यस्ता विषयमा मौनता साँध्नुले राजनीतिक दलहरुको विश्वसनीयतामाथि नै प्रश्न खडा गर्छ। सत्ता गठबन्धनले एमालेले आज आरोप लगाए जसरी कर्मचारी र प्रहरी परिचालन गरेको हो भने त्यो कुनै पनि हिसाबले निन्दनीय नै हो। त्यस्तो हर्क सत्ताबाट भएको भए छानविन हुनै पर्छ।

मत परिणामका प्रारम्भिक नतिजा सार्वजनिक भइरहेको अवस्थामा एमालेले निर्वाचनको दिन भएका सत्ताका कमजोरीको सूची पनि पेश गरेको छ।

मतदानको दिनबारे एमाले

  • दोलखादेखि रौतहटसम्म बुथ कब्जा भयो
  • उदयपुरमा ५ बजेपछि मतदान गराउन खोजियो।
  • बाजुरामा निर्वाचन रोक्न सत्ता गठबन्धन लाग्यो।
  • मतपेटिका बोकेको सवारीसँगै उम्मेदवारका प्रतिनिधि जान दिइएन, बाकसको सिल तोडियो।
  • मतदान सुरु र सम्पानको मुचुल्का एकै पटक हस्ताक्षर गराइयो।
  • नेपालगञ्ज लगायतका स्थानमा गठबन्धनको पक्षधर प्रहरी र कर्मचारी राखियो।
  • कतिपय ठाउँमा मतदानभन्दा बढी मतपत्र भेटियो, गलत स्थानमा मतदान अधिकृतले हस्ताक्षर गरे।

ओलीले विज्ञप्तिमा चुनावमा बाजुरामा भएको घटनालाई उल्लेख गरेको भए पनि दोलखाको झडप र सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनुपरेको हस्तक्षेपबारे भने मौनता साधे। जब कि दिनभरको तनावपछि वैशाख ३० को निर्वाचन दोलखामा स्थगित भएको थियो। मतदाता आउने बाटोमै एमाले-कांग्रेसका कार्यकर्ताले अवरोध गरेपछि सुरक्षाकर्मीले हवाइ फायर गर्नुपरेको थियो।

काठमाडौं लगायतका महानगरको प्रारम्भिक मत परिणाम अनुसार एमाले सबैजसो महानगरमा पछि परेको छ। मतगणना जारी रहेकै बेला एमालले आइतवार विज्ञप्ति जारी गर्‍यो। जसमा लगाइएका आरोप हुन्-

  • मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने।
  • मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने
  • 'हामी सत्ता गठबन्धनबाट नेकपा (एमाले) विरुद्ध गरिएका मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, 'योजनाबद्ध धाँधली'लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसंग माग गर्दछौं।
  • पुनः मतदान र मतगणनाको लागि नेकपा (एमाले ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न र हामीले २०७९ १/३० लगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदन अनुसार निष्पक्ष तवरले पुनः मतदान गराउने र मतगणना गराउन आग्रह गर्दछ।'

एमालेले मतदानका दिनमा केही असन्तुष्टि जाहेर गरेको भए पनि समग्रमा चुनाव सम्पन्न हुनु राम्रो विषय भएको भन्दै स्वागत गरिएको थियो। तर, चुनाव सकिएको तीन दिन पछि मतगणनाको प्रारम्भीक नतिजा आउन थालेपछि भने अनेक आरोपमा उत्रिएर एमालेले पराजयको मनोविज्ञानबाट ग्रसित भएको विज्ञप्तिले पुष्टि गर्छ। किनभने आजको एमालेको विज्ञप्तिमा बुथ कब्जा गरेकोदेखि प्रहरी प्रशासनको दुरुपयोग गरेको विषय उल्लेख छ। जसआधारमा कतिपय ठाउँमा एमालेको माग छ- पुन : मतदान।

पराजयको संकेत देखिनासाथ आफ्ना कमिकजोरिको गहन समीक्षामा लाग्न भन्दा ‘धाँधली’को आरोप लगाउने एमाले र अध्यक्ष ओली नयाँ पात्र भने होइनन्। २०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभाको चुनावमा माओवादी व्यापक रुपमा पराजित भएर तेस्रो पार्टी हुन परेपछि हारको रन्को सहन नसकेर तत्कालीन एकीकृत माओवादीले छानविन समिति नै बनाएर चुनावमा सरकार, सेना र निर्वाचन आयोग मिलेर धाँधली भएको आरोप लगाएका थिए। उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यतिबेला कीर्तिपुरको चुनावलाई प्रतिष्ठाका रुपमा अघि सारेका थिए। पराजय भएपछि प्रचण्डले सरकारमाथि आक्रोश ओकलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell