
काठमाडौं : काठमाडौं महानगरपालिकामा बालेन साहले लौरो चिन्हबाट 'धमाका' गरिरहँदा छिमेकी नगरपालिका गोकर्णेश्वरको एउटा वडामा पनि त्यस्तै नतिजा निस्केको छ। नेकपा एमालेले सधैं जित निकाल्ने गरेको गोकर्णेश्वर वडा नम्बर ४ मा लौरो चुनाव चिन्हबाट जयराम महतले वडा अध्यक्षमा जित निकालेका छन्।
यसअघि नेपाली कांग्रेसबाट वडा सदस्य रहेका महतलाई कांग्रेसले टिकेट दिएन। कांग्रेसले ज्ञानकुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाएपछि लौरो चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिएका थिए जयराम महतले। अर्कातिर नेकपा एमालेले भने यसअघिका वडा अध्यक्ष श्रीकुमार श्रेष्ठलाई पुन: उम्मेदवार बनाएको थियो। भारी मतान्तरले अघिल्लो पटक निर्वाचनमा जित निकालेका श्रेष्ठका लागि यसपाला चुनाव सहज हुने अपेक्षा थियो किनकि कांग्रेसका उम्मेदवारसँगै महत पनि चुनावी मैदानमा भिडेका थिए।
महतले एक हजार २७ मत ल्याएर जित निकाल्दा सबैभन्दा बलियो दावेदार मानिएका एमालेका श्रीकुमार श्रेष्ठले ९ सय ९९ मत ल्याए। कांग्रेसका ज्ञानकुमार श्रेष्ठ ७ सय ९४ मतमा अड्किए। यसअघि एक वडा सदस्यमा मात्र जित निकालेको कांग्रेसले तीन वडा सदस्यमा जित हासिल गरेको छ भने एमालेले महिला सदस्यमा मात्र जित हात पारेको छ।
गोकर्णेश्वरमा रोचक के छ भने यसअघि कांग्रेसले जित हासिल गरेका एक र तीन नम्बर वडामा एमालेले सेट नै जित हासिल गरेको छ।