PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनमतले नजिताएपछि भाग्यकै भरोसा : अन्तिममा मत होइन, चिठ्ठाबाट चुनिए उनीहरु…



सविन ढकाल

जनमतले नजिताएपछि भाग्यकै भरोसा : अन्तिममा मत होइन, चिठ्ठाबाट चुनिए उनीहरु…

काठमाडौं : जसले धेरै मत ल्याउँछ उ निर्वाचित हुन्छ। तर दुवै जनाले बराबर मत ल्याए भने के गर्ने? के फेरि निर्वाचन गर्ने त? खर्चिलो र अव्यवहारिक हो दोहोर्‍याएर मतदान। त्यसो भए बराबर मत ल्याउने दुवै जनाले आधा-आधा कार्यकाल चलाउने हो त? यस्तो गर्न पनि कानुनी आधार छैन। त्यसैले सबैभन्दा सजिलो बाटो लिइन्छ - 'गोलाप्रथा'। जनमतले जितहार ननिकालेपछि भाग्यकै भरोसा!

निर्वाचन आयोगले मत गणमा प्रतिस्पर्धीले बराबर मत ल्याए, गोलाप्रथाबाट विजयी घोषणा गर्दै आएको छ। अहिलेसम्म आएका मतपरिणाम अनुसार केही स्थानीय तहमा भोटले निर्धारण गर्न नसकेको जित हार गोला प्रथाबाटबाट गरिएको छ। पछिल्लो उदाहरण सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष चयन हो।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरिएको थियो। आइतवार बिहान अन्तिम मत परिणाम अनुसार कांग्रेसका छबिलाल न्यौपाने र माओवादी केन्द्रका पुरुषोत्तम सापकोटा दुवै जनाले बराबर ४ सय ९५ मत पाए। त्यसपछि के गर्ने भन्ने भयो।

स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिकाको नियम ३७ मा मत बराबर भए गोला प्रथाबाट विजयी घोषणा गर्ने उल्लेख छ। सोही नियम अनुसार गोलाप्रथाबाट विजयी घोषणा गर्ने निर्णय भयो बलेफीमा। सिन्धुपाल्चोकमा मात्र होइन मनाङमा पनि यस्तै अवस्था आयो यसपाला। यसरी गोलाप्रथा अनुसार दुई जनामात्र भए सिक्का वा कागजको गोला बनाएर भाग्यशाली छान्ने गरेको मनाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।

'त्यो मतदान अधिकृतले परिस्थिति अनुसार गोलाको छनौट हुन्छ। कहीँ सिक्का त कहीँ कागजको गोला बनाएर गरिन्छ,' मुख्य अधिकृत खनालले भने।

मत बराबर भएपछि सहमतिमा गोलाप्रथा गर्दा मतदाताको रोजाईभन्दा चिट्ठाकै भर हुने भयो। बलेफीमा छबिलालको पक्षमा चिठ्ठा पर्‍यो। छबिलाल यसअघि पनि यस वडाको वडा अध्यक्षमा निर्वाचित प्रतिनिधि हुन्। यसपटक चिठ्ठाले अर्को पाँच वर्षको मौका दियो उनलाई।

मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा पनि गोलाप्रथाबाट नै जित निकालियो। थोरै मतदाता भएको वडामा शुक्रबार राति नै अन्तिम परिणाम आयो। एमालेका उम्मेदवार कैले गुरुङ र कांग्रेसका उम्मेदवार फुर्पा छिरिङले ३०/३० मत ल्याएका थिए। दुवै जनाको सल्लाहमा गोला प्रथाबाट नै जाने निर्णय भएको थियो। एउटा सेतो 'ए फोर' साइजको कागज ल्याइयो। त्यसमा अंक एक र शुन्य लेखेर थुत्न लगाइयो। जसले १ अंक पाए त्यसको एक मत मानिने सहमति भएको मतदान अधिकृत खनालले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोला गर्ने भयो। जसमा एमालेका कैले गुरुङ बिजयी भए।

'सुरुमा हामी गोला थुत्न सहमतिमा गर्छौं। सहमति नभए वर्णानुक्रम अनुसार नामले गोला थुत्न दिन्छौं,' खनालले भने।

फेरि त्यही वडाको सदस्यमा पनि मत बराबर भयो। एमालेका समिरा गुरुङ र कांग्रेसका सेराव विष्टले २८/२८ मत ल्याए। उनीहरुको लागि पनि गोलाप्रथा नै गरियो। एमालेका समिरा विजयी भए।

अहिले पनि देशका विभिन्न स्थानमा मतगणना जारी भएकाले अन्य स्थानमा पनि गोलाप्रथाबाट उम्मेदवार छनौट हुने सम्भावना छ। त्यसो त २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा पनि गोला प्रथाबाट उम्मेदवार छनौट भएको थियो। मेनुका काफ्ले गोलाबाट थप १ मत ल्याएर कुल ८ हजार २ सय ७६ मत प्राप्त गरेकी थिइन् त्यतिखेर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell