PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

काठमाडौंमा बालेनको ‘लौरो’ले माहोल तताउँदा पोखरामा अटेरीको लौरो सिन्को बराबर !



रिना थापा

काठमाडौंमा बालेनको ‘लौरो’ले माहोल तताउँदा पोखरामा अटेरीको लौरो सिन्को बराबर !

पोखरा : यतिबेला स्वतन्त्र उम्मेदवारको लौरोले काठमाडौंमात्र नभई देशकै माहोल तताइरहेको छ। स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)को लौरोले काठमाडौंमा ठूला दललाई तर्साँइरहँदा पोखरामा भने लौरोको बल सिन्का बराबर पनि देखिएको छैन। जति फरक बालेन र पोखराका खड्कराज पौडेल (गनेस)को उम्मेदवारी घोषणामा थियो त्यही हिसाबको फराकिलो अन्तर मतमा पनि छ। मंसिर २९ मा चर्चित र्‍यापरले काठमाडौंको प्रमुख पदमा उम्मेदवारी घोषणा गर्दा पोखरामा चुनावको सरगर्मीले छोएकै थिएन। त्यसको दुई महिनापछि माघ २६ गते लेखक गनेसले पोखरामा प्रमुख पदका लागि उम्मेदवारी घोषणा गरेका थिए। त्यस समय पोखरामा प्रमुख पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति बने।

दुवैको उम्मेदवारी घोषणाले सामाजिक सञ्जाल र मिडियामा ठूलै स्पेस पायो। तर, जति बालेनले चर्चा पाए त्यति गनेसले भने पाउन सकेनन्। र्‍याप सुन्ने र मन पराउने युवा माझ पहिल्यै परिचित भइसकेका बालेनको उम्मेदवारीले सामाजिक सञ्जालमा थप चर्चा पाउँदा गनेसको उम्मेदवारी सीमित वृत्तमा बहसको विषय बनेको थियो। इन्जिनियर, र्‍यापर रहेका बालेन र लेखक रहेका गनेस दुवैले चुनाव चिन्ह लौरो पाए। तर, जति बालेनको लौरोले ठूला दललाई काठमाडौंमा तर्साइरहेको छ त्यसको बाछिटा पनि गनेसको लौरोमा परेन।

काठमाडौंमा बालेन दोब्बर मतले अग्रता लिइरहँदा पोखरामा गनेसले मुस्किलले १ सयको आँकडा पार गरेका छन्। पोखरा बाहेक देशका अन्य पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकाले अग्रता लिइरहेका छन्। काठमाडौं, धनगढी र अन्य केही पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहँदा पोखरामा मात्र लौरो निकै कमजोर देखिएको हो।

देशकै ठूलो महानगर भए पनि पोखरामा बढी ग्रामीण भेग छ। यहाँ रहेका मतदाताको आफनै मनस्थिति छ। ठूला दल भनिएका एमाले र कांग्रेसको प्रभुत्व रहेको पोखरामा फर्केर हेर्दा समेत आजसम्म स्वतन्त्र वा साना दलले टक्कर दिएको रेर्कड छैन।

महानगरमा अघिल्लो निर्वाचनमा प्रमुख पदका लागि १६ जना उम्मेदवार रहेकामध्ये पाँच जना स्वतन्त्र थिए। पाँच जना स्वतन्त्र उम्मेदवारको मत जोड्दा कूल ३ सय ५१ मत आएको थियो उनीहरुलाई। यसले पनि प्रष्ट देखाउँछ पोखरेली मतदाताको मनोविज्ञान जुन अहिलेसम्म पनि परिवर्तन भएको देखिदैन। अथवा अहिलेसम्म पोखरेलीले प्रभावशाली मान्ने उम्मेदवार नै पाएन।

पोखराको लेखाजोखामा काठमाडौं भन्दा फरक छ जुन अघिल्लो निर्वाचनमा पनि देखिएको थियो। भलै, विवेकशीलबाट उम्मेदवारी दिएकी रञ्जु दर्शना स्वतन्त्र उम्मेदवार थिइनन् तर उनले काठमाडौंमा २३ हजार मत ल्याएर ठूला दललाई झस्काउन सफल भइन्।

जसरी त्यससमय रञ्जुले युवामाझ चर्चा पाएकी थिइन् अहिले त्यही समर्थन बालेनले पाएका छन्। बालेनले सामाजिक सञ्जालमा युवाको समर्थनमात्र होइन, मत पाएर अहिलेसम्म दोब्बर मतले लिड गरिरहेका छन्। काठमाडौंका मतदाता माझ बालेनले प्रभाव जमाउँदा पोखरामा भने गनेसले त्यो प्रभाव पार्न सकेनन्। यसमा बालेनको प्रोफाइलले पनि मद्दत पुर्‍यायो। युवा माझ पहिल्यै परिचित उनलाई चर्चा बटुलन सहज पनि भयो। अझ, केन्द्रमा बसेर राजधानी समेत रहेको काठमाडौंको प्रमुखमा उम्मेदवारी दिएका उनलाई मिडियाले स्पेस दिँदा समर्थक बटुल्नका लागि प्लस पोइन्ट बन्यो।

यता, पोखराका स्वतन्त्र उम्मेदवार प्रभावशाली व्यक्ति भए पनि युवामाझ परिचित नभएका अनुहार परे। बौद्धिक वृत्तमा परिचित रहेको उनको परिचय सीमित रह्यो। सीमित वृत्तमा परिचित उनले उम्मेदवारी घोषणा गरेपछि पोखरेली मतदातामाझ पुग्न नसक्नु अर्को कमजोरी बन्यो। बालेनको उम्मेदवारी घोषणा गर्दा जति समर्थक र प्रोत्साहन गर्ने व्यक्ति थिए त्यति गनेसले सुरुवातमा नपाएका भने होइनन्। सुरुवातमा गनेसको उम्मेदवारी घोषणाले पोखरामा राम्रै स्पेस, समर्थन र चर्चा पाएको थियो। तर, गनेस आफ्नै कदमले त्यो समर्थन गुमाउन पुगे। सुरुमा स्थानीय तह निर्वाचन दल रहित बनाउनुपर्ने जोड दिँदै स्वतन्त्र उम्मेदवारी दिएका गनेस आफैँ समूह बनाउँदै मैदानमा होमिए। ‘अटेर’ गर्दै उम्मेदवारी दिएका गनेसले वडा–वडामा ‘अटेरी’को समूह बनाएर अघोषित पार्टी जसरी चुनावमा होमिन पुगे। उनकै कारण समर्थन गरिरहेका उनका समर्थक नै बिच्किए। समर्थन पाएर गनेसले ठूला दलको किल्ला भत्काउन नसके पनि पोखरामा लौरो सिन्का बराबर बन्नुपर्ने स्थिति भने आउने थिएन। यसले पनि उनको मतमा केही प्रभाव पारेका गनेस आफैं बताउँछन्।

‘स्वतन्त्र ममात्र उठेको भए अल्लि बढी प्रभाव हुन्थ्यो होला किनभने अरु ठाउँमा ध्यान दिनुपर्‍यो मैले। हरेक वडाको एकएक घोषणापत्र बनाउनुपर्‍यो। खासमा हामीले अटेरी समूह भन्ने बनाएका थिएनौं अभियान अन्तर्गत उहाँहरु पनि आ आफनो ढंगले स्वतन्त्र नै हो। तर त्यसमा थोरै कन्फ्युजन क्रिएट भयो। ममात्र भए दुई चार हजार बढी मत आउँथ्यो होला। तर, यसको दीर्घकालीन फाइदा चाहिँ कुनै न कुनै अटेरी अभियानलाई स्थापित गर्‍यौं। अभियान भनेको राजनीतिक पार्टी होइन। दलबिहीन भएर बस्न प्रेरित गर्ने एउटा आन्दोलन हो,’ गनेसले भने।

बालेनले सामाजिक सञ्जाल सदुपयोग गर्दै युवामाझ चर्चा बटुलेर चुनावमा होमिने रणनीति बनाउँदा गनेस वडा–वडामा समूह बनाउँदै बसे। उनले पोखरामा थपिएका ४० हजार हाराहारी नयाँ मतदातामा ध्यान पुर्‍याउनै सकेनन्, जो अन्योलमा थिए कसलाई मतदान गर्ने भन्नेमा। अटेरीको घरदैलो कार्यक्रम पनि प्रभावकारी रुपमा भएन। उनको अटेरी समूहले घोषणापत्र बेचेर भने एक लाख हाराहारी भने कमायो। कम समयमा प्रचार गर्न असक्षम रहेको गनेस स्वीकार्छन्। त्यसैले पनि उनले पहिले नै कम मत आउने आँकलन गरिसकेको सुनाए।

‘यस्तो हुन्छ भन्ने अनुमान थियो। समीक्षा बैठकमा नै बढीमा तीन हजारदेखि पाँच हजार मत आउँछ भन्ने अनुमान थियो। हामीले चाहिँ अव प्रशंसकहरु धेरै नै पाइयो,' उनले भने, 'प्रशंसकलाई समर्थकमा रुपान्तरण गर्ने समय हामीलाई भएन। चर्चा भयो चर्चालाई मतमा रुपान्तरण गर्न समय चाहिन्थ्यो। त्यो हामीलाई निकै कम भयो किनकि १७ गते बेलुका चुनाव चिन्ह पायौं। दुई दिन खेरा गयो सातदिनमा सम्भव थिएन,’ उनले भने।

पोखरामा उनले उठाएका मुद्दालाई कम मतले प्रभाव नपार्ने गनेस बताउँछन्। मत परिणाम कम आए पनि उनले सुरु गरेको अभियानले पोखरामा केही मुद्दा स्थापित भइसकेको उनको भनाइ छ।

गनेसले जिकिर गरेजस्तै छोटो अवधिमा गनेसलाई पोखरामा प्रभाव पार्न कठिन परेको राजनितिक विश्लेषक पदमशरण रेग्मी बताउँछन्। काठमाडौंमा बालेनले युवा जमातलाई समेटेर पूर्व तयारी गर्दा प्रभाव परेको रेग्मीको भनाइ छ।

‘काठमाडौंजस्तो संगठित र व्यवस्थित नभएर पनि हो। उता, मत संख्या बढी पनि भयो। इन्जिनियरिङ ब्याक ग्राउण्डको उम्मेदवार भएकोले युवामाझ सक्षम र प्रभावकारी देखिए। पहिले देखिबाट विशेष तयारी भएको हुनाले सामुहिक क्याम्पेन अगाडि बढ्यो। खासै संगठित र पूर्व योजना देखिएन यहाँ। त्यहाँ ठूलो युवा जमातको समूह लाग्दा यहाँ समेटेनन्। नसकेपछि यो हुने नै भयो। पछि आए तयारी भएन,’ उनले भने।

यस्तै, पोखरामा स्वतन्त्र उम्मेदवारले कम मत पाउनुको कारण स्वतन्त्र मतदाता नहुनु पनि बताउँछन् उनी। मतदाता राजनीतिक दलमा आवद्ध भए पनि उनीहरुले नयाँ र आशालाग्ने नेतृत्व खोजिरहेका छन्। तर, मतदाताले नयाँ र नौलो अनुहार खोजे पनि प्रभावशाली उम्मेदवार नभेटेको उनको भनाइ छ।

‘यहाँ स्वतन्त्र उम्मेदवार पनि कम छन्। जति छन् एउटा न एउटा राजनीतिक दलमा आवद्ध भएका छन्। यसले गर्दा कम समर्थन पाए। स्वतन्त्र उठ्दा पनि प्रभावशाली व्यक्ति चाहियो नि। तार्किक, वौद्धिक, क्षमतावान् मान्छे हेर्छेन् स्वतन्त्रमात्र हेर्दैनन्,’ रेग्मीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell