काठमाडौं : विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता जारी राखेका छन्।
सोमवार अपराह्न २ बजे घोषित परिणाममा कोइरालाले ५ हजार १८३ मत ल्याएका छन्। कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ३ हजार ६६७ मत हासिल गरेका छन्। प्रमुखका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ७३० मत ल्याएका छन्।
उपप्रमुखमा एमालेका शिल्पा निराला कार्कीले ४ हजार १८२ अग्रता कायम राखेकी छिन्। दोस्रोमा गठबन्धनका जनता समाजवादी पार्टीबाट प्रत्याशी अमरेन्द्र यादवले ३ हजार ८३ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विन्दाकुमारी लुइँटेल आचार्यले १ हजार ३६ मत प्राप्त गरेकी छन्।
विराटनगरमा हालसम्म १६ हजार ९४० मतगणना भइसकेको छ। महानगरका १ लाख ३३ हजार १४२ मतदातामा ८९ हजार ७८९ मत खसेका थिए।
विराटनगरमा १९ वडामध्ये ३ वडाको गणना भइसकेको छ। जसअनुसार १६ मा नेपाली कांग्रेसका उद्धव भुजेल, १७ मा जसपाका समीर कमर र १९ मा एमालेका श्याम घिमिरेले वडाध्यक्षमा विजय हासिल गरेका छन्।
विराटनगरमा अहिले १, २, ३, ४, १५ र १८ नम्बर वडाको मतगणना भइरहेको छ।