PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाँचौँपटक नेपाल आएका नरेन्द्र मोदी पहिलोपटक पुगे गौतम बुद्धको जन्मस्थलमा

पाँचौँपटक नेपाल आएका नरेन्द्र मोदी पहिलोपटक पुगे गौतम बुद्धको जन्मस्थलमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी लुम्बिनी आएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका मोदीलाई स्वागत गर्न देउवा स्वयं लुम्बिनी पुगे। मोदीलाई स्वागत गर्न प्रधानमन्त्री पत्नी आरजु राणा देउवा तथा नेपाल सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका थिए।

भारतका प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौँ नेपाल भ्रमण हो। उनले पहिलो पटक लुम्बिनीको भ्रमण गरेका हुन्। पटक-पटक गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर विवादमा आएका मोदीको लुम्बिनी भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ।

मोदीसँगै देउवा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डलले मायादेवी मन्दिरको दर्शन गरेका छन्।

मोदी र देउवाले मायादेवी मन्दिरमा बुद्ध धर्म अनुसारको पूजामा समेत सहभागी भए। दुई प्रधानमन्त्रीले मन्दिर नजिकै रहेको अशोक स्तम्भमा दीप प्रज्वलन गरेका थिए। २४९ ईसा पूर्वमा सम्राट अशोकद्वारा खडा गरिएको स्तम्भले लुम्बिनी भगवान बुद्धको जन्मस्थल भएको पहिलो ऐतिहासिक प्रमाण दिन्छ।

भ्रमणकै क्रममा मोदी र देउवाले लुम्बिनी विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदाका लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास समेत गरे।

इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेस (आइबीसी) नयाँ दिल्ली र लुम्बिनी विकास कोषबिच मार्च २०२२ मा हस्ताक्षर भएको सम्झौता अन्तर्गत आइबीसीले केन्द्रको निर्माण गर्ने बताइएको छ।

शिलान्यास समारोह पछि दुई प्रधानमन्त्रीहरूले केन्द्रको नमूना पनि अनावरण गरे। यो सुविधासम्पन्न केन्द्रमा प्रार्थना हल, ध्यान केन्द्र, पुस्तकालय, प्रदर्शनी हल, क्याफेटेरिया, कार्यालय र अन्य सुविधाहरू हुनेछन्।

फोटोहरु : परराष्ट्र मन्त्रालय नेपाल/भारतीय विदेश मन्त्रालय/रासस



ट्रेन्डिङ पोस्ट

Ncell