PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लुम्बिनीमा एमाले महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई शाख जोगाउनै कठिन, अर्घाखाँचीमा टोपबहादुरले जोगाउँदै एमालेको नाक



विधुर ढकाल

लुम्बिनीमा एमाले महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई शाख जोगाउनै कठिन, अर्घाखाँचीमा टोपबहादुरले जोगाउँदै एमालेको नाक

काठमाडौं : एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको गृह जिल्ला हो रुपन्देही। एमालेकै नेता छविलाल विश्वकर्मा र खिमलाल भट्टराई पनि त्यहीँकै हुन्। यही जिल्लाका हुन् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र अब्दुल रज्जाक।

रुपन्देही जिल्ला एमालेको गढ मानिन्छ। तत्कालीन माओवादीका जिल्ला इञ्चार्ज रहेका दधिराम न्यौपाने (एमएस शर्मा) समेत अहिले एमालेतिरै भएकाले गढ थप बलियो हुनुपर्ने हो।

तर, यहाँ अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा एमालेले प्रदर्शन निक्कै कमजोर गरिरहेको छ।

यहाँका १६ पालिकामध्ये एमाले दुई पालिकामा मात्र अगाडि देखिन्छ - प्रारम्भिक मत गणनाको परिणाममा। एमालेको गढमा कांग्रेसले ९ वटा पालिकामा अग्रता कायम गरेको छ।

यसअघि एमालेले जित हात पारेको कञ्चन गाउँपालिकामा अहिले सत्तारुढ गठबन्धन हावी बन्दै गएको छ। यहाँ अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले टिकेट पाएको छ। माओवादी केन्द्रसमेत कांग्रेसको चुनाव चिन्हबाट चुनाव लडेका छन् यहाँ।

यहाँ कांग्रेसका नवराज ढकाल र माओवादी केन्द्रका मौसमी थापा मगर दुवै अध्यक्ष र उपाध्यक्षमा अगाडि छन् मत गणनाका सुरुवाती अवस्थामा। गत स्थानीय तहको निर्वाचनमा एमालेका गोकर्णबहादुर क्षेत्री अध्यक्ष र उपाध्यक्षमा गोमा तरामुले जित हात पारेका थिए यहाँ। पाँचवटा वडा रहेको कञ्चनमा कांग्रेसले एक वडाध्यक्ष र एक वडा सदस्य बाहेक सबैमा एमालेले जित हात पारेको थियो। यहाँको मतगणना जारी हुँदा सुरु देखि नै गठबन्धनका उम्मेदवार अगाडि छन् अहिले चाहिँ।

माओवादी केन्द्रले अघिल्लो पटक जित हात पारेको ओमसतियामा अहिले राप्रपाले अग्रता लिइरहेको छ। संघीय समाजवादी फोरमले जित हात पारेको कोटहीमाईमा अहिले लोसपाले अग्रता लिइरहेको छ।

त्यस्तै, नयाँ शक्तिले जित हात पारेको गैडहवामा अहिले जनमत पार्टीले अग्रता लिइरहेको छ। यहाँ निवर्तमान अध्यक्ष वछु केवट पाँचौँ स्थानमा छन्।

एमालेले अग्रता लिइरहेको स्थानीय तह हो - तिलोत्तमा नगरपालिका। यहाँ एमाले उम्मेदवारले झिनो मतले अग्रता लिइरहेका छन्। यसअघि यस पालिकामा एमालेले चार हजार मतान्तरले जित पोल्टामा पारेको थियो।

यसअघि कांग्रेसले जित हात पारेको देवदह नगरपालिकामा अहिले एमालेले झिनो मतले अग्रता लिइरहेको छ। त्यतिबेला कांग्रेस र माओवादीको गठबन्धन थियो। गठबन्‍धनबाट कांग्रेसले मेयर जित्दा उपमेयरमा माओवादी केन्द्रलाई एमालेले पराजित गरेको थियो।

अहिले निवर्तमान मेयर हिराबहादुर खत्री एमालेका ध्रुवप्रसाद खरेलसँग झिनो मतले पछाडि छन्।

सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा रहेको रुपन्देहीको बुटवल उप महानगरपालिका हो। एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहपालिका हो यो। यहाँ अहिले एमालेका उम्मेदवार धेरै पछाडि छन्। कांग्रेसका खेलराज पाण्डेले पाँच हजार ५५५ मत पाउँदा एमालेका बाबुराम भट्टराईले तीन हजार ७४१ मत मात्र पाएका छन् प्रारम्भिक नतिजामा।

यहाँ २०७४ सालमा एमालेका शिवप्रसाद सुवेदीले तीन हजार मतान्तरले कांग्रेसका पाण्डेलाई पराजित गरेका थिए।

रुपन्देहीको सैनामैना नगरपालिकामा पनि एमाले पछि छ। यो नगरपालिका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्छ। यहाँ निवर्तमान मेयर चित्रबहादुर कार्की कांग्रेसका फणीन्द्रप्रसाद शर्मासँग पछाडि छन्। २०७४ को चुनावमा शर्मा कार्कीसँग पराजित भएका थिए। यहाँ उपमेयरमा माओवादी केन्द्रको अग्रता छ।

रुपन्देहीमा २०७४ सालमा एमालेले जित हात पारेको सुद्धोधन गाउँपालिकामा अहिले पछाडि परेको छ। यहाँ कांग्रेसले अग्रता लिइरहेको छ।

त्यस्तै, बुटवलपछिको ठूलो नगरपालिका सिद्धार्थनगरमा यसअघि एमालेले जितेकोमा अहिले कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।

यहाँ एमालेका उम्मेदवार तेस्रो स्थानमा छन्। दोस्रोमा राप्रपा छ। त्यस्तै, एमालेले नै जित हात पारेको सियारी गाउँपालिकामा पनि अहिले कांग्रेसले अग्रता लिइरहेको छ।

दाङमा एमालेको कमजोर प्रदर्शन

लुम्बिनी प्रदेशको दाङ एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला हो। यहाँ तुलसीपुर ११ बाट पोखरेलले मतदान गरेका थिए। यहाँको एक मतदान केन्द्रमा मतदान हुन बाँकी छ। त्यसैले मतगणना सुरु भएको छैन।

दाङमा माओवादी केन्द्रले एक पालिकामा जित र तीनमा अग्रता राखेको छ। यो समाचार तयार पार्दासम्म कांग्रेसले तीन पालिकामा अग्रता लिँदा एमालेले दुई पालिकामा अग्रता लिएको छ।

बंगलाचुलीमा गठबन्धन विजयी भइसकेको छ। यसअघि एमालेले जितेको बबई गाउँपालिकामा अहिले कांग्रेस एक्लैले अग्रता हासिल गरेको छ। निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेल कांग्रेसका कुबहादुर खत्रीसँग पछि परेका छन्। खत्री २०७४ सालमा पराजित भएका थिए।

यहाँ उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता छ। यस पालिकामा माओवादी केन्द्र तेस्रो स्थानमा छ। यसअघि कांग्रेसले जितेको राजपुर गाउँपालिकामा अहिले एमालेले अग्रता राखेको छ। यहाँ माओवादी दोस्रो र एमाले कांग्रेस तेस्रोमा छ। यो समाचार तायार पार्दा एमाले र माओवादीको मतान्तर कम छ।

राप्ती गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। यहाँ यसअघि कांग्रेसले जित हात पारेको थियो। यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रले सात सय मतान्तर राखेको छ। उपप्रमुखमा भने एमाले अगाडि छ। कांग्रेसले झिनो मतान्तरले पछ्याइरहेको छ।

यसअघि एमालेले जित हात पारेको लमही नगरपालिकामा पनि एमाले पछाडी परेको छ। यहाँ एमाले तेस्रोमा छ। यहाँ कांग्रेसले अग्रता लिँदा माओवादीले पछ्याइरहेको छ।

शान्तिपुर गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ। यसअघि पनि यहाँ कांग्रेसले जितेको थियो।

यसअघि एमालेले जित हात पारेको गढवा गाउँपालिकामा अहिले एमाले तेस्रो स्थानमा छ। त्यहाँ माओवादी केन्द्रले अग्रता लिइरहेको छ भने कांग्रेसले पछ्याइरहेको छ।

दाङको घोराही उपमहानगर पालिकामा एमालेले अग्रता कायम गरेको छ। यहाँ गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रका नेता हेमराज शर्मा एमाले उम्मेदवार तथा निवर्तमान मेयर नरुलाल चौधरीसँग पछाडि परेका छन्।

त्यस्तै, अघिल्लो चुनावमा एमालेले जित हात पारेको दंगीशरण गाउँपालिकामा पनि एमाले पछाडि छ। यहाँ गठबन्धन नभए पनि कांग्रेसका शम्भु गिरीले अग्रता राखेका छन्। उपमेयरमा पनि कांग्रेस नै अग्रता हासिल गरेका छन्।

अर्घाखाँचीमा टोपबहादुरले जोगाएको एमालेको नाक

अर्घाखाँचीमा गठबन्धन भए पनि एमालेलाई रोक्न कठिन छ।

पूर्व माओवादी नेता टोपबहादुर रायमाझी एमालेमा गएर सचिव भएका छन्। उनको गृहपालिका सन्धीखर्कमा एमालेले बलियो रुपमा अग्रता लिइरहेको छ। त्यहाँ एमालेका कृष्णप्रसाद श्रेष्ठले चार हजार ९७७ मत ल्याउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी शान्ता भण्डारीले तीन हजार ६७३ मत ल्याएकी छिन्।

२०७४ सालको निर्वाचनमा यहाँ कांग्रेसका कमलप्रसाद भुसालले ८ हजार २३० मतसहित जित हात पार्दा एमालेका श्रेष्ठले सात हजार १२७ मत मात्र ल्याएका थिए। उनै श्रेष्ठले अहिले गठबन्धनलाई पछाडि पारिरहेका छन्।

अघिल्लो निर्वाचनमा उपमेयरमा माओवादी केन्द्रका ठाकुरकुमार विकले सात हजार ३६५ मतसहित जित हात पारेका थिए। अहिले यहाँ एमालेका उपमेयरका उम्मेदवार मिश्रा आचार्यले चार हजार १६० मतसहित अग्रता लिँदा माओवादीका राजेन्द्र भुसालले तीन हजार ७२७ सहित पछाडि छन्।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा पनि यसअघि २०७४ मा पराजित एमालेका बसन्तकुमार श्रेष्ठ यसपटक जितका लागि अग्रसर छन्। २०७४ सालमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रले जित हात पारेको थियो। अहिले नतिजा उल्ट्याउँदै एमाले बलियो देखिएको छ।

छत्रदेव गाउँपालिकामा पनि एमालेले नतिजा उल्ट्याएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो। अहिले त्यहाँ प्रतिस्पर्धामै रहे पनि एमालेले अग्रता लिइरहेको छ।

२०७४ सालमा पाराजित एमालेले अहिले अध्यक्ष उपाध्यक्ष दुवैमा जित निकालेको छ। त्यतिबेला कांग्रेसका अच्युत गौतमले ५ हजार ९७७ मत ल्याएर जितेका थिए। अहिले उनै गौतम एमालेका टकराज न्यौपानेसँग पराजित भएका छन्। न्यौपानेले पाँच हजार ४९३ मत ल्याउँदा गौतमले ५ हजार ९८ मत मात्र पाएका छन्।

उपाध्यक्षमा एमालेकी नर्मदा गौतम निर्वाचित भएकी छिन्। उनले कांग्रेसकी लक्ष्मी गौतमलाई पराजित गरेकी हुन्। गत निर्वाचनमा गौतम उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

अर्घाखाँचीको भूमिस्थानमा भने एमाले फर्किन पाएन्। यहाँ राष्ट्रिय जनमोर्चाले अग्रता कायम गरेको छ। यहाँ जनमोर्चा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले भाग लगाएका छन्। उपमेयरमा पनि माओवादी केन्द्रको अग्रता छ।

२०७४ को निर्वाचनमा यहाँ माओवादीले मेयर र कांग्रेसले उपमेयरमा जित हात पारेको थियो। अघिल्लो निर्वाचनमा एमालेले जितको मालारानीमा पनि अहिले एमालेले नै अग्रता कायम गरेको छ।

गुल्मीमा एमालेलाई कठिन

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृहपालिका रुरुमा एमाले पछाडि परेको छ। यहाँ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्।

एमालेले अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष दुवैमा जित हात पारेको थियो। त्यतिबेला एमाले उम्मेदवारसँग पराजित भएका माओवादी केन्द्रका यदु ज्ञवाली अहिले अग्रता लिइरहेका छन्। मतगणनाको सुरुवातमा हिमालकुमार श्रेष्ठले अग्रता लिइरहे पनि पछिल्लो मतगणनामा उनी पछाडि परेका हुन्।

यहाँ एमालेले १, २ र ६ वडामा वडाध्यक्ष जितेको छ। त्यस्तै, एमाले सचिव गोकर्ण विष्टको गृहपालिका इस्मामा पनि एमाले पछि परेको छ। इस्मामा कांग्रेसका भगतसिंह खड्का अध्यक्षमा झिनो मतले अगाडि छन्। यहाँ उपाध्यक्षमा कांग्रेस उम्मेदवार पार्वती कुँवरको मतान्तर एमालेकी विमला खत्री भन्दा बढी छ।

गुल्मीकै मदानेमा पनि नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्। यहाँ अध्यक्षमा कांग्रेसका उम्मेदवारले झिनो मतले अग्रता लिइरहेका छन्।

यहाँ उपाध्यक्षमा भने अग्रता कायम गरेको छ। यहाँको १, ३, ४, ६ मा कांग्रेसले वडाध्यक्ष जितेको छ। २ र ५ वडामा एमालेले वडाध्यक्ष जितेको छ। वडा नं २ मा एकीकृत समाजवादीका उम्मेदवार एमालेसँग पराजित भएका छन्। यो एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको वडा हो।

गुल्मीको छत्रकोट र सत्यवतीमा एमालेका उम्मेदवारले जित हात पारेका छन्।

यसअघि एमालेलेले जितेको मालिका गाउँपालिकामा अहिले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवीराम अर्यालले अग्रता कायम गरिरहेका छन्। यहाँ उपाध्यक्षमा कांग्रेसका उपेन्द्र अर्यालले अग्रता लिइरहेका छन्।

त्यस्तै, मुसिकोट नगरपालिकामा पनि गठबन्धन अगाडि देखिएको छ। त्यहाँ अघिल्लो चुनावमा एमालेले जित हात पारेको थियो। यहाँ अहिले कांग्रेसका हरिनारायण सापकोटाले मेयरमा र एकीकृत समाजवादीका श्रीराम महतले उपमेयरमा अग्रता हासिल गरेका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जितेको रेसुंगा नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। कांग्रेसका खिलध्वज पन्थीले ८ हजार ६१४ मत ल्याएर जित हात पार्दा एमालेका राजेन्द्र पाण्डेले सात हजार ३२० मत ल्याएका छन्। यहाँ कांग्रेसकै अमृता देवी कुँवरले उपमेयर जितेकी छिन्।

यता सत्यवती गाउँपालिकामा भने एमालेले 'कम व्याक' गरेको छ। यहाँ गठबन्धनविना कांग्रेस एक्लै चुनावमा होमिएको थियो। यहाँ अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ हजार ५८६ मत ल्याएर विजयी हुँदा कांग्रेसका पारिश्वर ढकाल पराजित भएका छन्। ढकाल यसअघि निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो। यसपाली गठबन्धन भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell