PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकामा कांग्रेस विजयी



रासस

जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकामा कांग्रेस विजयी

खलङ्गा : जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ। यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन्।

हिमा गाउँपालिकामा लक्ष्मण बहादुर शाही विजयी भएका हुन्। शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का अम्मराज शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन्। उनले १ हजार ५१८ मत ल्याएकी छन्। उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएको गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय तह २०७४ को निर्वाचनमा हिमामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी भएका थिए।

यसैगरी, कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले विजयी हासिल गरेको छ। कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दामोदर प्रसाद आचार्य दुई हजार ८०६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले दुई हजार ५६३ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढाले दुई हजार ३८० मत ल्याएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता खत्रीले एक हजार ९४५ मत प्राप्त गरेकी छन्। यहाँका तिला, तातोपानी र पातारासी गाउँपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell