डोटीः डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी ४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो।
गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताले निकालेको र्यालीमा सहभागी भएको उक्त ट्र्याक्टर दुर्घटना भएको हो। र्यालीमा सहभागी कम्तिमा २९ जनाभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको बताइएको छ।
घाइतेहरुलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याएको छ। घाइतेमध्ये १४ वर्षीया मनीषा जोशीलाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ। अर्का १० वर्षीय अनिल खड्कालाई पनि थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।