PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

काठमाडौं महानगरका यी उम्मेदवार जसले अझै खोल्न सकेनन् खाता



पहिलोपोस्ट

काठमाडौं महानगरका यी उम्मेदवार जसले अझै खोल्न सकेनन् खाता

काठमाडौँः शनिबार बिहानदेखि काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ। सोमबार साँझसम्म काठमाडौं महानगरमा १० हजारभन्दा बढी मतगणना भइसकेको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) सबैभन्दा धेरै मत ल्याएका छन्। उनले सात हजार मत कटाएका छन्।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ७८५ र नेपाली कांग्रेसका सृर्जना सिंहले तीन हजार २९८ मत प्राप्त गरेको छिन्।

एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले सात हजार २४६, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार १२ मत प्राप्त गरेका हुन्।

राष्ट्रिय सभागृमा ६ स्थानबाट महानगरको मतगणना भइरहेको छ। अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना कार्य जारी छ। वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ।

तर स्वतन्त्रका उम्मेदवार साहले सात हजारभन्दा बढी मत ल्याउँदा केही स्वतन्त्रका उम्मेदवारले भने खाता समेत खोल्न सकेका छैनन्। निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार यसरी खाता नखोल्ने उम्मेद्वारमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेद्वार रहेका छन्। काठमाडौंको मेयर पदमा ५५ जनाले उम्मेदवारी दिएका मध्ये २० जनाले खाता समेत खोल्न सकेका छैनन्।

स्वतन्त्रका उम्मेदवार सुनिल श्रेष्ठ, मनीष श्रेष्ठ, जेठा महर्जन, निमकान्त पाण्डे, रोशन शाही, सूर्य श्रेष्ठ, किरण रंजितलगायत स्वतन्त्र उम्मेदवारले एक मत समेत ल्याएका छैनन्।

स्वतन्त्र मात्र होइन पार्टीबाट उम्मेदवारी दिएकाहरुको मत पनि शुन्य नै छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका सुरज श्रेष्ठले पनि खाता खोल्न सकेका छैनन्। त्यस्तै नेपाल जनता पार्टीकी सरिता घिमिरेले पनि खाता खोलेकी छैनन्। मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, सचेत नेपाली पार्टीका उम्मेद्वार डिल्लीराम राजभण्डारी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले पनि खाता खोल्न सकेको छैनन्।

महानगरमा स्वतन्त्रबाट उठेका केहीले एक मत ल्याएका छन्। राहुल मानन्धर, बाबुराजा संगत, अमोट महर्जन, राजन कार्की, सन्देश शाक्य, रविकान्त मानन्धर, कान्ति तुलाधर, शैलेस ढुंगाना र दिपक सिलवालले एक मत ल्याएका छन्।

बालेनपछि स्वतन्त्रमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवारमा सुमन सायमि छन्। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार आँखी झ्यालबाट उम्मेदवार बनेका सायमिले ५४६ मत ल्याएका छन्। क्याप चिन्ह लिएका स्वतन्त्रका अर्का उम्मेदवार सुशील थापा क्षेत्रीले २१ मत ल्याउँदा स्वतन्त्रका अर्का उम्मेदवार मधुसुदन खड्काले ७ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell