PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यी हाइप्रोफाइल नेता : जसले भुईंको टिप्न खोज्दा गुमाए खल्तीको, आफ्नो वडामै साख जोगाउन नसक्ने को - को?



मुकुन्द घिमिरे

यी हाइप्रोफाइल नेता : जसले भुईंको टिप्न खोज्दा गुमाए खल्तीको, आफ्नो वडामै साख जोगाउन नसक्ने को - को?

काठमाडौं : स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। देशभर नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ चुनावमा होमिएका पार्टीका कमान्डहरुको पार्टीले भने वडामै हार्नुपरेको यथार्थ सार्वजनिक भइरहेको छ।

भुईंको टिप्न खोज्दा खाल्तीको जोगाउन नसक्ने सबैभन्दा हाइ प्रोफाइल नेता हुन् : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

देउवाको वडामा कांग्रेसबाटै अलग्गिएको नेपाली कांग्रेस (बीपी)का उम्मेदवार विजयी भएका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको वडा १ मा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार नरेशराज भण्डारी निर्वाचित भएका हुन्।

३६ वर्षका भण्डारीले ६ सय ७३ मत पाउँदा कांग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मतमात्र ल्याए। पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा भिडेका हुन्।

डडेल्धुरामा कांग्रेस सभापतिसमेत रहेका देउवा र कर्ण मल्ल पक्षधरको टकराव रहेको छ। मल्ल पक्षधर करुवा चिन्ह लिएर एमालेसँग तालमेल गरी चुनावी मैदानमा उत्रिएको थियो। त्यतिमात्रै हैन देउवाको वडामा प्यानलै बीपीका उम्मेदवार निर्वाचित भयो। यसअर्थमा देउवा आफैंले दिएको भोटले आफ्नै साख जोगाउन सकेन। प्रधानमन्त्रीको क्षेत्रमा माहोल आफ्नो पक्षमा बनाउन प्रधानमन्त्री पत्नी आरजू देउवाको प्रयाससमेत खेर गयो। नेपाली कांग्रेसबाहेक अन्य पार्टीले चुनाव जिते बजेट नपठाउने धम्कीदेखि बेरोजगारलाई सित्तैमा मलेसिया पठाउनेसम्मको स्किम लिएर प्रचार गर्दा आलोचना उनले ब्यहोर्नु पर्‍यो नै, निर्वाचन आयोगले स्पस्टीकरण पनि सोध्यो। तैपनि उनैले 'करुवा, सरुवा, हरुवा' भनेको पार्टीले चुनाव जित्यो।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी ओलीको वडामा पनि एमालेका उम्मेद्वारले चुनाव जित्न सकेनन्। भूकम्प र नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएर शक्तिशाली नेताको छविसमेत बनाइसकेका उनले आफ्नै वडामा भने साख जोगाउन सकेनन्।

भक्तपुरको सूर्य विनायक नगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रदिप कार्की १ हजार ५ सय ११ मत ल्याएर निर्वाचित भए। एमालेका विश्वराज विष्ट १ हजार ३ सय ५ मत ल्याएर पराजित भए। यतिमात्र हैन वडामा एमाले क्लिन स्विप नै भयो। वडा सदस्यमा नेपाली कांग्रेसकै जनार्दन खड्का र भगत राना निर्वाचित भए। महिला सदस्यमा कल्पना खड्का निर्वाचित भइन्। दलित महिला सदस्यमा पनि नेपाली कांग्रेसकी रन्जिता तिखत्री निर्वाचित भएकी छन्।

त्यस्तै अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको मुसिकोट १ मा माओवादीले वडा सदस्यमा चित्त बुझाएको छ भने नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा अन्य पार्टी अगाडि देखिन्छ।

सभामुख अग्निप्रसाद सापकोटाको गृह वडा सिन्धुपाल्चोकको बलेफी वडा २ को कांग्रेसको पोल्टामा परेको छ। वडाध्यक्षमा दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरेको थियो। कांग्रेसका छबिलाल न्यौपाने र माओवादी केन्द्रका पुरुषोत्तम सापकोटा दुबै जनाले ४९५ मत पाए।

मत बराबर भएपछि सहमतिमा गोलाप्रथा गर्दा चिट्ठा छबिलालको पक्षमा पर्‍यो। माओवादीलाई जिताउन अग्निदेखि उनका उनका भतिज सुवोध सापकोटासम्म खटेका थिए।

ताप्लेजुङमा एमालेका सचिवसमेत रहेका योगेश भट्टराइले मतदान गरेको मौवा खोला ३ मा नेपाली कांग्रेसका खगेन्द्र थक्लुङले ७० मतले वडाध्यक्ष जिते। त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमलकुमारी लिम्बु अघि छिन्। त्यस्तै गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका विजय प्रकाश वनेमको अग्रता छ।

भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले क्लिन स्वीप गर्दा एमाले अध्यक्ष लगायतका प्रभावशाली नेता हेरेको हेरै हुन पुगे।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ४ मा रामकुमारी झाँक्रीले मतदान गरेकी थिइन्। उनको वडामा एकीकृत समाजवादीबाट उम्मेदवार थिएनन्। एकीकृत समाजवादीको उक्त पालिकामा एक मात्र वडाध्यक्ष्यका उम्मेदवार थिए। वडा नम्बर २ मा वडाध्यक्षमा उम्मेदवारी दिएपनि उनी नेकपा (एमाले)का उम्मेदवारसँग पराजित भएका छन्। त्यसबाहेक वडा सदश्यमा पनि समाजवादीका सफल हुन सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell