PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लोसपाका नेता जितेन्द्र सोनलको गढ परवानीपुर एमालेको कब्जामा : अध्यक्षमा कुर्मी, उपाध्यक्षमा कानु



राधेश्याम पटेल

लोसपाका नेता जितेन्द्र सोनलको गढ परवानीपुर एमालेको कब्जामा : अध्यक्षमा कुर्मी, उपाध्यक्षमा कानु

वीरगंज : बाराको परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्री प्रसाद कुर्मी गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। कुर्मी दुई हजार ९ सय १७ मत पाउँदै अध्यक्षमा विजयी भएका हुन्। गत २०७४ सालको चुनावमा कुर्मी एमालेबाटै दोस्रो स्थानमा समेटिएका थिए।

यसपालीको चुनावमा उनका निकटतम प्रतिस्पर्धी लोसपाका जगतनारायण महतोले दुई हजार ४४३, काँग्रेसका लालबाबुप्रसाद यादवले दुई हजार ४२६ मत ल्याएका छन्। गापा उपाध्यक्षमा सोही पार्टीकी सुगान्धी देवी कानु विजयी भएकी छन्।

निर्वाचित उपाध्यक्ष कानुले तीन हजार २ सय ३२ मत ल्याएकी छन्। कानुले गापा अध्यक्षभन्दा पनि बढी मत ल्याएकी छन्। उपाध्यक्ष कानु बाराका एमाले यूवा नेता उमेश गुप्ताकी श्रीमति हुन्। त्यसैगरी, गाउँपालिकाको वडा नं १ बुनियादमा काँग्रेसका चोकट महतो, २ मा रामपुर मुसहरीमा एमालेका महम्द नुरुलहोदा अन्सारी, वडा नं ३ लिपनीमा एमालेकै इब्राहिम मियाँ धोबी, वडा नं ४ चैनपुरमा लोसपाका गम्भिरा पटेल, वडा नं ५ बहुअरीमा जसपाका रामेश्वर साह कलवार विजयी भएका छन्।

परवानीपुर गाउँपालिकालाई लोसपाका प्रभावशाली नेता जितेन्द्र सोनलको गृह पालिका हो। यो भन्दा अघिल्लो चुनावमा यहाँ लोसपाले मेयर र उपमेयरमा बाजी मारेको थियो। तर यसपाली टिकट वितरणमा उम्मेदवार परिवर्तन गरिएको कारण लोसपाको पार्टीमा फुट देखिएको थियो। पूर्व मेयर हरिनारायण साह रौनियार तथा कार्यपालिका सदस्य सन्जु साह जसपातिर लागेका थिए। जसले गर्दा उनकै लोसपाको गढ मानिएको परवानीपुरमा एमालेले कब्जा गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell