
काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजयी भएको हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए। यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गरे।
यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी भएकी छिन्। उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोखरेलले बताए। यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवार धनलाल महर्जनले दुई हजार ६९५ मत प्राप्त गरे।
कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो। खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए।
नेपाली कांग्रेसले यसअघि काठमाडौंको दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा विजयी हासिल गरिसकेको छ।