PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पराजयले पनि आत्मबल बलियो बनाएको छ सृजनाको, भन्छिन् : अब फुर्सद छ, पढाइ सक्छु



सविन ढकाल

पराजयले पनि आत्मबल बलियो बनाएको छ सृजनाको, भन्छिन् : अब फुर्सद छ, पढाइ सक्छु

काठमाडौं : २०७४ सालको स्थानीय तह निर्वाचनमा कलिलो उमेरमा गहन जिम्मेवारी बहन गर्ने अवसर मिल्यो सृजनालाई। २२ वर्षकै उमेरमा सृजना गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन्। स्थानीय तहको निर्वाचनमा सबैभन्दा कम उमेरकी उपाध्यक्ष मध्ये एक थिइन् सृजना लामा।

२०७४ वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा नेकपा एमालेका तर्फबाट १६ सय ९ मत ल्याउँदै विजयी भएकी थिइन् उनी। जितसँगै रसुवाको नौकुण्ड गाउँ पालिकाकाको उपाध्यक्ष भइन् उनी। २०७९ को स्थानीय तह निर्वाचनमा पनि सृजनालाई पार्टीले पत्यायो। २७ वर्षीय युवतीलाई नौ नौकुण्ठ गाउँपालिकाको प्रमुखमा टिकट दियो। सृजनाको लागि यो अवसर र चुनौती दुवै थियो। पाँच वर्ष आफूले उपाध्यक्ष हुँदा गरेको कामले फेरि मेयरमा काम गर्न मौका मिल्ने विश्वास थियो। तर उनको त्यो विश्वास पूरा भएन।

शनिवारदेखि भएको मतगणना उनको गाउँपालिकामा मङ्गलवार सकिएको छ। उनले पाएको मत परिणामले उनलाई गाउँपालिकाको मेयर चयन गरेन। झिनो मतले सृजनाले पराजय खेप्नु पर्‍यो। नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङवो घलेले ३ हजार ४ सय ७४ मत पाएर विजयी भए। सृजनाले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। उनले ३ हजार ९७ मतमात्र पाइन्। तर पनि उनी अहिले हारसँग खासै विचलित भएकी छैनन्।

'सङ्ख्यात्मक रूपमा मैले हारेको छु। तर राजनीतिक र जनताको हिसाबले भने जीत नै सम्झन्छु। जित्दामात्र होइन, आफ्नो बाँचा हारमा पनि पूरा गर्न सकिन्छ,' सृजनाले भनिन्।

रसुवाको कालिका क्याम्पसबाट उच्च शिक्षा लिएकी उनको राजनीतिक यात्रा छोटो छ। पाँच वर्षको उपाध्यक्ष पदमा रहेर गरेको काम नै जीवनको ठूलो सिकाइ भएको छ। आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरेको बताउने सृजना अब पनि राजनीतिमा सक्रिय रुपमा लाग्ने नै बताउँछिन्।

'हारेँ भन्दैमा संन्यास लिने, राजनीतिक नै छोड्ने भन्ने हुँदैन। अब झन् सक्रिय भएर सङ्घर्ष गरेर राजनीति गर्छु। मतसहित साथ दिनुहुने सबैको हार हो तर यो अन्तिम भने हुँदै होइन। यस पटक केही मतले हामी पछि पर्‍यौं तर अर्को पटकको लागि ढोका खुल्ला छ,' उनले भनिन्, 'बस केही समयको पर्खाइमात्रै हो। यस पटक म हारे पनि तपाईं जनताको सुख दु:खमा सधैं सँगै रहेर न्यायका लाग लड्छु।' उनलाई आफू हार्नुमा आफ्नो कमजोरी भएको पनि स्वीकार गरेकी छिन्। के कमजोरी भयो? कहाँ सुधार गर्नुपर्ने छ त्यसलाई ध्यानमा दिएर काम गर्ने सृजना बताउँछिन्।

स्नातक पढ्दै गर्दा उनी उपाध्यक्ष विजयी भएकी थिइन्। त्यसपछि उनको धेरैजसो समय गाउँपालिकाको काममा नै बित्यो। उनको पढाइ पनि केही ब्रेक जस्तै भयो। मास्टर पढ्न पाइनन्। कानुन संकायतर्फ तेस्रो वर्षको परीक्षा दिइन्। तर, परीक्षा खासै राम्रो भएन। अब उनी केही हदसम्म फुर्सदिली हुनेछिन्।

'सार्वजनिक पदमा हुँदा र नहुँदा फरक पर्छ। अब मास्टर पढ्छु। अनि ल को रिजल्ट के आउँछ? त्यसपछि पढाइमा ध्यान दिन्छु,' सृजनाले सुनाइन्।

मध्यम वर्गीय परिवारमा जन्मिएकी उनी गाउँपालिका उपाध्यक्ष हुनुभन्दा अगाडि केही समय गाउँकै स्कुलमा पढाउँथिन्। त्यसपछि एनजीओको अनुभव पनि उनमा थपियो। अब भने केही व्यवसाय गर्ने सोच बनाएकी छिन्।

'यहाँ धेरै गरिवीको रेखामुनि छन्। उनीहरूको गरिवी उकास्ने र शिक्षामा जोड दिएर फेरि पनि राजनीतिमा नै लाग्छु,' सृजनाले भनिन्। स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि अघिल्लो पटक उनलाई एक जना मित्रले उम्मेदवार बन्न उक्साए थिए। लहलहैमा उनले जित पनि निकालेकी थिइन्। तर, पाँच वर्षको उपाध्यक्षले उनलाई थप राजनीति गर्न हौसाएको छ। २२ वर्ष उमेरमा अरूबाट प्रेरित भए राजनीतिमा होमिएकी सृजना जित सँगै अगाडि बढिन्। अहिले ५ वर्षपछि हार बेहोर्नुपरेको छ तर पनि उनी विचलित नहुने बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell