PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उदयपुरका चार वटा गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धन विजयी



रासस

उदयपुरका चार वटा गाउँपालिकामा एमालेलाई हराउँदै गठबन्धन विजयी

उदयपुर : उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन्। लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन्।

लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईलाई ४४८ मतान्तरले पराजित गरे। यस्तै गठबन्धनका तर्फबाटै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राईले एमालेकी गीता कार्कीलाई एक हजार ६६० मत प्राप्त गरी विजयी हासिल गरेका हुन्।

त्यस्तै, रौतामाई गाउँपालिकामा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले एमालेका भरत बहादुर थापालाई एक हजार ७२ मतको अन्तरले पराजित गरे। उपाध्यक्षमा गठबन्धनका उम्मेदवार भुपिन्द्र कुमार थापाले एमालेकी कुमारी ज्यु ठकुरीलाई ८६ मतको अन्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलय उदयपुरले जनाएको छ।

यस्तै, उदयपुर गढी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मानबहादुर केप्छाकी मगरले एमालेका गोपाल बहादुर खत्रीलाई पराजित गरेका छन्। विजयी मगरले चार हजार ९४२ मत तथा खत्रीले चार हजार ११४ मत प्राप्त प्राप्त गरे। उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका जीतबहादुर खड्काले एमालेकी शोभा कुमारी मगरलाई ८६ मतको अन्तरले पराजित गरेका छन्।

यता, ताप्ली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार ढुङ्गराज विकले एमालेका बाबुराम राईलाई पराजित गरेका छन्। विकले एक हजार ७८७ मत प्राप्त गरी ३८ मतान्तरले राईलाई पराजित गरेका हुन्। यस्तै, उपाध्यक्षमा गठबन्धनबाटै कांग्रेसकी धनमाया मगरले एमालेकी मानकुमारी थापालाई पराजित गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell