PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एमालेको 'लाल किल्ला' र कमल थापाको दबदबामाथि दीपक सिंहको हमलाले तरङ्गित हेटौडा



निशा गुरुङ

एमालेको 'लाल किल्ला'  र कमल थापाको दबदबामाथि दीपक सिंहको हमलाले तरङ्गित हेटौडा

हेटौंडा : वागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा तीन दशकदेखि एमालेले लगातार जित्दै आएको हो । यसअघि तीनपटक निर्वाचनमा लगतार हेटौंडामा जित हासिल गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको छ ।

तर, यस पटकको निर्वाचनको नतिजा हेर्ने हो भने एमालेले दोश्रो स्थान सम्म प्राप्त गर्न सकेको छैन। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयर सहित १९ वडामध्ये १२ वडा जितेको एमालेले यो निर्वाचनमा पनि राम्रो मत पाउने अपेक्षा गरेको थियो। तर, हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न भई ६ वटा वडाको मतगणना जारी रहँदासम्म एमाले तेस्रो स्थानमा सीमित बनेको छ।

नेकपा एमालेका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता विरोध खतिवडा, नेपाली कांग्रेस वागमती प्रदेशका सभापति ईन्द्र बानियाँमात्रै नभइ कमल थापा समेतको गृह नगरमा पछि पर्नु नै सबैभन्दा लज्जाको विषय बनेको छ।

हाल समाचार तयार पार्दासम्म २४ हजार १ सय ३८ मत गणना गर्दा गठबन्धन तर्फकी मीना कुमारी लामा ७ हजार ४ सय ९६ मतहित अग्रस्थानमा छिन्। ७ हजार ३ सय ७१ मत प्राप्त गर्दै राप्रपातर्फका उम्मेद्वार दीपक सिंह दोस्रो स्थानमा छन् भने एमालेतर्फ उम्मेद्वार अनन्त पौडेल ६ हजार २ सय ७३ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

एमालेको सबैभन्दा धेरै भोट भएको मानिने ४ नम्वर वडाबाट पनि राम्रो मत पाउन सकिरहेको छैन। एमालेबाट मेयरका उम्मेद्वार अनन्त पौडेलले आफ्नै वडाबाट कम भोट प्राप्त गरेका छन्।

एमालेको भोट बैंक मानिने उक्त वडाबाट राप्रपातर्फ उम्मेद्वार  सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। त्यसैगरी दोस्रोमा गठबन्धनतर्फकी  लामाले दोस्रो स्थान प्राप्त गरेकी छिन् भने एमालेका अनन्त पौडेललाई लालकिल्लाकै वडाबाट सबैभन्दा कम मत प्राप्त भएको छ।

शनिवार मतगणना सुरु भएदेखि नै दोस्रोमा रहँदै आएको एमाले आइतवारदेखि तेस्रोमा झरेको छ। आइतवार दिउँसोको मतगणनामा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मीना लामासँग केही समय प्रतिस्पर्धाम देखिए पनि एमाले अहिले निरन्तर रुपमा दुई हजार भन्दा बढी मतान्तरले तेस्रोमा अगाडि बढिरहेको छ।

राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अनपेक्षित रुपमा अग्रता लिएसँगै एमाले उम्मेदवार अनन्त पौडेल पछि परेका हुन्। उनी गठबन्धनका उम्मेदवार लामासँग कडा प्रतिस्पर्धासहित अघि बढिरहेका छन्। गठबन्धन आफ्नो प्रतिस्पर्धी नै बन्न नसक्ने बताउँदै आएका पौडेल नै पछिल्लो मतगणनामा प्रतिस्पर्धामा आउन सकेका छैनन्।

कसरी आए दिपक सिंहलाई भोट?

२०७४ को स्थानीय निर्वाचनयता नेकपा एमाले पार्टी विभाजन भएको भए पनि हेटौँडामा त्यसको ठूलो असर परेको थिएन। त्यसमा पनि एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालको समर्थन लिएर पार्टीको क्षति परिपूर्ति गरेको बताएको थियो।

यता, कमल थापाले छोडेको राप्रपाबाट उम्मेदवार बनेका दीपक सिंह हेटौँडाको मेयरमा कडा प्रतिष्पर्धामा उत्रिनुले पनि हेटौँडाको माहोललाई तताएको छ। थापाको गृह नगरमा उनले छोडेको पार्टीबाट उठेका सिंहले थापाकै समर्थन रहको एमालेलाई पछि पार्नु पनि राप्रपाले एउटा सफलताको रुपमा लिएको बुझिएको छ।

पछिल्लो समय नेकपा एमालेमा पार्टी विभाजनको असर र नेपाली कांग्रेसमा देखिएको विवादले सिंहलाई फाइदा भएको देखिन्छ। कांग्रेस पार्टी कार्यालयमा प्रमुख पद आफुहरुले पाउनुपर्छ भन्दै दिनहुँ ताल्चा लगाउने र एमाले पार्टी सक्षम मान्छे भन्दा पनि नातावाद हावी भएको कारणले गर्दा विवाद चल्दै आएको थियो। 

एमालेलाई उछिनेर प्रतिस्पर्धामा उत्रिनु गठबन्धनको लागि पनि सहज थिएन। एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका मीना लामालाई उम्मेदवार बनाएको गठबन्धनले हेटौंडामा एमालेसँगको मतान्तरलाई कायम राख्दै आएको छ। एमालेको लाल किल्लामा उसैलाई पछि पार्दै राप्रपा र गठबन्धनको प्रतिस्पर्धाले हेटौँडाको चुनावी मतगणना रोचक बन्दै गएको छ।

अहिलेसम्मको मतगणनामा गठबन्धन र राप्रपा बलियो देखिएको भए पनि अझै एमालेको बलियो पकड रहेका वडाहरु गन्न भने बाँकी नै रहेको एमालेको दावी छ।

ती वडामा पनि एमालेले ४ नम्बर वडामा जस्तै अपेक्षाकृत मत पाउन नसकेमा निर्वाचनमा एमालेको लालकिल्ला तोड्दै गठबन्धन वा राप्रपाले नयाँ इतिहास रच्ने सम्भावना देखिन्छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा उपमहानगरमा ८३ हजार ५३७ मतदाता रहेकोमा ६२ हजार १७० मत खसेको थियो। यस पटकको निर्वाचनमा मतदाता सङ्ख्या एक लाख चार हजार ४७३ पुगेको छ। उपमहानगरमा सत्ता गठबन्धन र एमालेका उम्मेद्वारलाई परम्परागत जनाधार जोगाउँदै थपिएको २० हजार ९३६ नयाँ मतदाता नै विजयको महत्वपूर्ण आधार बन्ने देखिन्छ ।

मकवानपुरको जनताले पार्टी हेर्दैन : सिंह

हेटौंडा उपमहानगरपालिकामा तहल्का अनपेक्षित रुपमा मत प्राप्त गर्दै आएका राप्रपा तर्फका बाटको उम्मेद्वार दिपक सिंहले मकवानपुरका जनताले पार्टी नहेर्न दावी गरेका छन् ।

‘ठुलो पार्टीमै लागेको मान्छेले जित्छ भनेर घमण्ड गर्नेहरुलाई अहिले हेटौंडा उपमहानगरको जनताले देखाएको छ। हेटौंडाका जनताले आफ्नो स्वतन्त्र मत मैले पाएको छु। नगरपालिकालाई कसले निष्पक्ष तरिकाले चलाउन सक्छ त्यो मान्छेलाई जनताले चुन्छ,' उनले भने। हेटौंडाका जनता बाठा भएको भन्दै कुनै पनि नेताले भ्रममा पार्न नसक्ने सिंहले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell