PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित



रासस

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर : मकवानपुरको तीन वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तै, कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका लोक मुक्तान र उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल निर्वाचित भएका हुन्।

इन्द्रसरोवरमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित पाँच वटामध्ये दुई वटावडामा नेतृत्व गरेको छ भने भीमफेदी गाउँपालिकामा अध्यक्षसहित ९ वटामध्ये ५ वडामा नेतृत्व गरेको छ। भीमफेदीको उपाध्यक्षमा गठबन्धनका कांग्रेस र माओवादीले क्रमश ३ र १ नम्बर वडामा नेतृत्व हात पारेको छ।

कैलाश गाउँपालिकामा भने अध्यक्ष तथा उपाध्यक्ष गठबन्धनले जित्दा पाँच वडामा नेपाली कांग्रेस विजयी भएको छ भने नेकपा एमाले र माओवादी केन्द्र क्रमशः ४ र १ वडामा विजयी भएको छ।

जिल्ला निर्वाचन कार्यालयले अब मकवानपुरगढी गाउँपालिकाको ८ वडामध्ये दुई वटा वडा मात्रै गन्न बाँकी रहेको र मनहरी, बकैया र राख्सिराङ गाउँपालिकाको अन्तिम परिणाम आजै रातिसम्म आउने जनाएको छ। मनहरि, बकैया र बागमती गाउँपालिकाको पनि मतगणना जारी रहेको छ।

थाहा नगरपालिकाको आठ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकासहित पाँच वटा गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

हेटौँडा उपमहानगरपालिकाको चारवटा वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। वडा नम्बर १ मा गठबन्धनका सविन न्यौपाने, २ मा पनि गठबन्धनकै विष्णु गोपाल महर्जन निर्वाचित भएका छन् भने १८ नम्बरमा एमालेका अनिल बानियाँ र १९ नम्बरमा पनि एमालेकै नरनाथ सुवेदी निर्वाचित भएका छन्।

कुल १९ वटा वडा रहेको हेटौँडामा चारवटा वडाको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख तथा उपप्रमुखका उम्मेदवार मीना लामा र राजेश बानियाँले अग्रता कायमै राखेका छन्। मतगणना जारी रहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell