
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिकाबिच बिवाद बढेपछि मतगणना कार्य रोकिएको छ।
मत गणनामा खटिएका गणकले मत परिणाम नै फरक पारेपछि त्यसबाट उत्पन्न विवादका कारण मतगणना स्थगित गरिएको हो। वडा नम्बर १६ को गणनाको क्रममा गणना भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसको १४१ हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ हुनुपर्नेमा २९६ भएपछि विवाद उत्पन्न भएको हो।
निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले सूचना प्रकाशित गरेर मतपरिणाम फरक परेको स्वीकार गरेका छन्। उनले मत गणनामा खटिएका कर्मचारी र दलका प्रतिनिधिलाई गणना भएको मतपत्रको पछाडि हस्ताक्षर गरेर मात्रै कम्प्युटरमा विवरण प्रविष्ट गर्ने गरी व्यवस्था मिलाईएको सूचनामा उल्लेख गरेका छन्।
तिलोत्तमा नगरपालिकामा नगर प्रमुखमा नेकपा (एमाले)का मोहन चापागाईं र नेपाली कांग्रेसका रामकृष्ण खाणबिच कडा प्रतिस्पर्धा छ। खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्।