PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

राजधानीको पूर्वी प्राचिन शहर शङ्खरापुरमा राप्रपाको जित, काठमाडौंका ११ मध्ये ३ मा जितसहित ८ नगरमा कांग्रेसको अग्रता



पहिलोपोस्ट

राजधानीको पूर्वी प्राचिन शहर शङ्खरापुरमा राप्रपाको जित, काठमाडौंका ११ मध्ये ३ मा जितसहित ८ नगरमा कांग्रेसको अग्रता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको पूर्वमा रहेको नगरपालिका शङ्खरापुरमा जित निकालेको छ। काठमाडौंको नगरपालिकामा राप्रपाको पहिलो जित हो। काठमाडौंका ११ नगरपालिकामध्ये मत गणना सकिएको यो चौथो नगर हो। बाँकी तीनवटा नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ५ वटा नगरपालिकामा अग्रस्थान कायम राखेको छ।

शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले मेयरमा जित निकाल्दा उप प्रमुखमा नेपाली कांग्रेसले सफलता पाएको छ। तीन वडामा जित निकाल्दै राप्रपाले काठमाडौंमा मेयर जितेको हो। यसअघि मेयर तथा उपमेयर दुवै नेकपा एमालेले जितेको थियो शङ्खरापुरमा। पञ्चायतकालीन नेता तथा पूर्व मन्त्री जोगमेहर श्रेष्ठको गृह नगरका रुपमा चर्चित शङ्खरापुरमा राप्रपाको स्थिति बलियो रहे पनि मेयरमा जित भने पहिलो पटक हो।

यसअघि काठमाडौंको कीर्तिपुर नगरपालिकामा क्लिन स्विप गर्दै नेपाली कांग्रेसले जित निकालेको छ। राजधानीको दक्षिण पश्चिमको पुरानो शहर कीर्तिपुरमा कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो। नेकपा एमालेको 'किल्ला' का रुपमा स्थापित कीर्तिपुरमा राजकुमार नकर्मी र शुभलक्ष्मी शाक्यल क्रमश: प्रमुख र उप प्रमुख बनेका छन्। त्यस्तै राजधानीको दक्षिणी भेगमा रहेको दक्षिणकाली नगरपालिकामा काग्रेसले जित हासिल गरेको छ। दक्षिणकाली नगरपालिकामा मेयर तथा उप प्रमुखमा मोहन बस्नेत र बसन्ती तामाङको जोडीले पुन: जित हासिल गरेको हो। अघिल्लो पटक जित निकालेको भन्दा बढी मतअन्तरले यी दुवैले जितेका हुन्।

काठमाडौंको उत्तरमा रहेको तारकेश्वर नगरपालिकामा पनि मत गणना पूरा भइसकेको छ। त्यहाँ नेपाली कांग्रेसले जित हासिल गरेको छ। तारकेश्वर नगरपालिकाको प्रमुखमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् भने उप प्रमुखमा सृजना बुर्लाकोटी निर्वाचित भएकी हुन्।

महानगरपालिका सहित काठमाडौंका ११ नगरपालिकामध्ये मत गणना जारी रहेका पाँचवटामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता हासिल गरिरहेका छन्।

उत्तरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता हासिल गरिरहेका छन्। मीठाराम अधिकारीले नेपाली कांग्रेसका विनोद चालिसेलाई पछाडि पारेका छन्। यस नगरपालिकामा उप प्रमुखमा पनि एमालेकै अग्रता कायम छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका बालेन्द्र साहले ठूलो मतान्तरले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसका सिर्जना सिंहलाई पछाडि पारिरहेका छन्। स्वतन्त्र उम्मेदवार साहले सुरुदेखि नै फराकिलो अग्रता कायम राखेका छन्। यसअघि काठमाडौं महानगरापालिकामा बहुमत वडा अध्यक्षसहित नेकपा एमालेले जित हासिल गरेको थियोर

पूर्वोत्तर काठमाडौंका कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा पनि नेपाली कांग्रेसको अग्रता कायम छ। यीमध्ये कागेश्वरी मनोहरा यसअघि नेकपा एमालेले जित निकालेको नगरपालिका हो। गोकर्णेश्वर नगरपालिका भने अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसले नै सफलता पाएको थियो।

उत्तरी काठमाडौंको प्राचित शहर टोखामा नेपाली काग्रेसले अग्रता कायम राखेको छ। मेयरमा रजनी थापाले नेकपा एमालेबाट अघिल्लो पटक मेयर निर्वाचित प्रकाश अधिकारीलाई पछि पारेकी छिन्। रजनी यसअघि कांग्रेसबाट उप मेयरमा पराजित भएकी थिइन्। उनले जित निकालेमा काठमाडौं उपत्यकामा मेयर हुने पहिलो महिला समेत हुनेछिन्।

उत्तर पश्चिम काठमाडौंको नागर्जुन नगरपालिकामा नेपाली कांग्रेसले नै लिड गरिरहेको छ। मोहनबहादुर बस्नेतले एमालेका नन्दहरि गौतमलाई पछि पार्दै अग्रता लिइरहेका छन्। बस्नेत यसअघि सोही नगरपालिकाका मेयर रहिसकेका छन्।

पश्चिम काठमाडौंको चन्द्रागिरि नगरापालिकामा पनि नेपाली कांग्रेसले नै अग्रता लिइरहेको छ। त्यहाँ कांग्रेसका घनश्याम गिरीले नेकपा एमालेका उत्तमबहादुर राउतलाई पछि पारेका छन्। यसअघि गिरी नै उक्त नगरपालिकाका मेयर रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell