PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गुल्मीको मत परिणाम : कांग्रेस पाँच, माओवादी चार र एमाले तीन पालिकामा विजयी



रमेश पराजुली

गुल्मीको मत परिणाम : कांग्रेस पाँच, माओवादी चार र एमाले तीन पालिकामा विजयी

बुटवल : दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको गुल्मीमा सबै पालिकाको मतगणना सम्पन्न भएको छ। जसमा नेपाली कांग्रेसले पाँच वटा, नेकपा (एमाले)ले तीन वटा र नेकपा (माओवादी केन्द्र)ले चार वटा पालिका प्रमुखमा जित हात पारेका छन्।

जिल्लाको रेसुङ्गा नगरपालिका, गुल्मीदरवार गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका र मदाने गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, चन्द्रकोट गाउँपालिका र रुरु क्षेत्र गाउँपालिका माओवादी केन्द्रले जितेको छ भने मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा एमालेले जितेको छ।

गुल्मीका ९३ वडामध्ये कांग्रेसले ४७ वडाध्यक्ष जितेको छ। एमालेले ४० वडाध्यक्ष जित्दा माओवादी केन्द्रले चार वडाध्यक्ष जित्न सफल भएको छ। यस्तै राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेदवारले एक/एक वडाध्यक्ष पद जितेका छन्।

कुन पालिकामा को विजयी?

रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुँदा एमालेका राजेन्द्र प्रसाद पाण्डेयले सात हजार ३२० मत ल्याएका छन्। पन्थी कांग्रेस गुल्मीका सभापति पनि हुन्।

यस्तै, उपप्रमुखमा कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर विजयी भएकी छन्। एमालेकी रीता पाण्डेले सात हजार २३१ मत ल्याइन्।

१४ वटा वडा रहेको रेसुङ्गा नगरपालिकामा २, ३, ४, ५, ७, ९, १०, १२, १३ र १४ मा कांग्रेस र १, ६, ८ र ११ मा एमालेका उम्मेदवार विजयी भएका छन्। यहाँ २०७४ को निर्वाचनमा एमालेले नगरप्रमुख, उपप्रमुख र ६ वटा वडामा वडाअध्यक्ष जितेको थियो।

जिल्लाको मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा जीबलाल खरेल (जीवन)ले सात हजार ३९९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६६५ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा गंगा श्रेष्ठले सात हजार ११ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का श्रीराम महतले ६ हजार ३२३ मत प्राप्त गरेका छन्।

जिल्लाको धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। पालिका अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेल विजयी भएका छन्।

पोखरेलले ६ हजार ८९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी चार दलीय गठबन्धनबाट कांग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ मत प्राप्त गरेका छन्। पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्।

यस्तै, उपाध्यक्षमा एमाले-माओवादी गठबन्धनबाट एमालेकी सीता गिरी ६ हजार १ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी चार दलीय गठबन्धनबाट एकीकृत समाजवादीका चन्द्र सुनारले तीन हजार ४८८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्।

धुर्कोटमा वडा नम्बर १, २, ४, ५, ६ र ७ वडामा एमाले-माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

जिल्लाको इस्मा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका छन्। अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका हिराबहादुर अर्यालले पाँच हजार ४६४ मत ल्याएका छन्।

उपाध्यक्षमा कुँवरले पाँच हजार ९०९ मत ल्याएर विजयी हुँदा एमालेकी विमला खत्रीले पाँच हजार १२१ मत पाएकी छन्। खत्री २०७४ को निर्वाचनमा उपाध्यक्षमा विजयी भएकी थिइन्। इस्मा पूर्वमन्त्री तथा एमालेका सचिव गोकर्ण विष्टको पालिका पनि हो।

गाउँपालिकामा रहेका छ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ। जसअनुसार वडा नम्बर १, २, ५, ६ मा कांग्रेस र ३ र ४ मा एमालेले वडाअध्यक्ष जितेको छ। यहाँ २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जितेको थियो।

जिल्लाको गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा सरोज थापाले एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन्। थापाले छ हजार १६६ र भुसालले पाँच हजार ६०२ मत पाएका छन्।

उपाध्यक्ष पदमा कांग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५९९ मत अन्तरले हराइन्। थापाले छ हजार १८८ मत पाउँदा पुनले पाँच हजार ५८९ मत पाइन्।

७ वटा वडा रहेको गुल्मी दरबार गाउँपालिकामा ४ वटा वडामा कांग्रेस र ३ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा तथा ७ मा शालिकराम टण्डन विजयी भएका छन्।

एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल विजयी भएका छन्। यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेस नै विजयी भएको थियो।

जिल्लाको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका युवराज खत्री विजयी भएका छन्। उनी ५ हजार ७ सय मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले ३ हजार ३४७ मत ल्याएका छन्।

उपाध्यक्षमा कांग्रेसका बिष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा एमालेकी राधिका अर्यालले ३ हजार ८१६ मत ल्याएकी छन्।

आठ वटा वडा रहेको चन्द्रकोट गाउँपालिकामा ४ वटा वडामा कांग्रेस, २ वटा वडामा एमाले, १/१ वटा वडामा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

जसअनुसार वडा नम्बर ३, ४, ५ र ८ मा कांग्रेस, वडा नम्बर ६, ७ मा एमाले, वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्।

यहाँ कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए। २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको थियो।

जिल्लाको छत्रकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा एमालेका रामप्रसाद पाण्डे विजयी भएका छन्। उनले ६ हजार ५८६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अनन्तराम पौडेल पाँच हजार ९४८ मत ल्याएका छन्।

उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चा गुमान सिंह पुन मगर पाँच हजार १२४ मत ल्याएका छन्।

गाउँपालिकाका ६ वटा वडामध्ये ३/३ वटा वडामा एमाले र कांग्रेसले वडाध्यक्षमा जितेका छन्। जसअनुसार वडा नम्बर ३, ४, ६ मा एमाले र १, २, ५ मा कांग्रेसले वडाध्यक्ष जितेको छ। छत्रकोट कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको गाउँपालिका पनि हो।

यहाँ कांग्रेस र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए। यहाँ २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो।

जिल्लाको सत्यवती गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) विजयी भएका छन्। उनले ६ हजार २६७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पारिश्वर ढकालले पाँच हजार ६११ मत ल्याए। ढकाल २०७४ को निर्वाचनमा अध्यक्षमा विजयी भएका थिए।

उपाध्यक्षमा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी भएकी छन्। नेपाली कांग्रेसकी तेजकुमारी थापाले पाँच हजार ५६१ मत ल्याएी छन्।

गाउँपालिकाका ८ वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले जितेको छ। जसअनुसार वडा नम्बर १, २, ४, ७ र ८ मा एमाले र ५ र ६ मा कांग्रेस, वडा नम्बर ३ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ।

जिल्लाको मालिका गाउँपालिकामा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा विजयी भएका छन्।

अध्यक्षमा विजयी माओवादीका अर्यालले ६ हजार १७६ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रीतबहादुर थापाले ४ हजार ६१७ मत ल्याए। थापा २०७४ को निर्वाचनमा अध्यक्षमा विजयी भएका थिए।

उपाध्यक्षमा कांग्रेसका अर्यालले ६ हजार ३३४ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रनमाया पुनले ४ हजार ६९२ मत पाएकी छन्। २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेले यसपटक वडामा सदस्यसमेत जित्न सकेन।

मालिकामा माओवादी केन्द्र र कांग्रेसबिच चुनावी तालमेल भएको थियो। तालमेल अनुसार सबै वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

गाउँपालिकामा रहेका ८ वटा वडाहरुमध्ये ७ वटा वडामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले जितेको छ। जसअनुसार वडा नम्बर १, २, ४, ५, ६, ७, ८ मा कांग्रेस र वडा नम्बर ३ मा माओवादीले वडाअध्यक्ष जितेको छ।

जिल्लाको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित ज्ञवालीले पाँच हजार ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन्।

उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम पाँच हजार ४५१ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी दुर्गा ज्ञवालीले चार हजार ६४६ मत पाएकी छन्।

गाउँपालिकाका ६ वडामध्ये ५ वडाध्यक्ष र उपाध्यक्ष जितेपनि अध्यक्षमा एमालेका उम्मेदवार पराजित भएका हुन्। रुरु क्षेत्र पूर्वमन्त्री तथा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो।

जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बेदबहादुर थापा विजयी भएका छन्। थापाले चार हजार ८१० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याएका छन्।

उपाध्यक्षमा भने एमालेकी मञ्जुकुमारी दर्लामी विजयी भएकी छन्। उनले चार हजार ४८४ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत पाइन्।

जिल्लाको मदाने गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका महेन्द्र बहादुर कुँवर विजयी भएका छन्।

कुँवरले चार हजार ७०७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका प्रेम केसीले चार हजार ६९७ मत पाएका छन्।

उपाध्यक्षमा एमालेकी सरिता खड्का विजयी भएकी छन्। खड्काले चार हजार ५६५ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बेगम चन्दले चार हजार २११ मत पाए।

मदानेमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए। गाउँपालिकाका सात वटा वडामध्ये ५ वडामा नेपाली कांग्रेस र २ वडामा एमालेले जितेको छ। जसअनुसार वडा नम्बर १, ३, ४, ६ र ७ मा कांग्रेस तथा २ र ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।

यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जितेको थियो। मदाने सहरी विकासमन्त्री तथा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको पालिका पनि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell