PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

५० मत गन्दा बालेनको लौरोमा १९ छाप, लौरोकै ६ मत बदर: पछ्याउँदै सूर्य र रुख



नेत्र तामाङ

५० मत गन्दा बालेनको लौरोमा १९ छाप, लौरोकै ६ मत बदर: पछ्याउँदै सूर्य र रुख

काठमाडौँः मंगलबार दिउँसो २ बजे। राष्ट्रिय सभागृहमा काठमाडौँ वडा नम्बर ३२ को मतगणना जारी थियो। दोस्रो तल्लामा गणक तारजालीभित्र मतपत्र धमाधम उठाउँदै मत संकेतबारे जानकारी दिँदै थिए।

‘एक लौरो, दुई सूर्य, तीन सूर्य, चार सूर्य, पाँच सूर्य, छ सूर्य, सात सूर्य,’ यति भनेपछि उक्त मतपत्र थन्कियो।

अर्को मतपत्र तान्दै गणकले भन्छन्, ‘एक लौरो, दुई रुख, तीन कलम, चार रुख, पाँच रुख, छ रुख, सात रुख।’

गणकले अर्को मतपत्र तान्दै भन्छन्, ‘एक बदर’, कारण : उक्त मतपत्रमा मेयरमा लौरो र रुख दुबैमा स्वस्तिक छाप लागेको थियो। बाँकी सातै छाप रुखमा।

मत टिप्नेहरु अगाडि बेन्चमा झुम्मिएका थिए। तीमध्ये केहीमात्र उत्साहित देखिन्नथे। बाँकीको मुहारमा उत्साह देखिँदैनथ्यो।

केही दिनयता राष्ट्रिय सञ्चार माध्यमको ध्यान काठमाडौंमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले तानिरहेका छन्। लौरो चिह्न लिएर चुनावी मैदानमा उत्रेका बालेन उम्मेदवारी घोषणा गरेको सुरुवाती दिनहरुमा सोसल मिडियामा मात्र सीमित थिए। राष्ट्रिय सञ्चार माध्यममा उनको खासै चर्चा थिएन। उम्मेदवारी दर्ता गराएपछि भने उनको चर्चा सामाजिक सञ्जालसँगै मिडियामा पनि छाउन थाल्यो। 

++

स्थानीय तह निर्वाचन २०७९ को मतदान सकिएको पनि ४ दिन पूरा भएको छ।

यो लेख तयार पार्दासम्म चार दिनमा काठमाडौं महानगरको १ र २ वडाकोमात्र नतिजा आएको छ। दुबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। मतपत्रमा उपमेयरमा सूर्य छाप भएकै सुनिता डंगोलको ‘क्रेज’ औधी छ। तर मेयरको सूर्य चिह्न खाली देखिएको छ। जसले गर्दा लौरो चिह्न पाएका बालेन ‘बाहुबली’ बनेर उदाएका छन्।

बालेनबारे कति जोडतोडका साथ सतही विश्लेषणमा उत्रेका थिए। बालेनको ‘क्याल्कुलेट’ थियो -९० हजार ८३५ लिएर आफू काठमाडौंको मेयरमा जित्ने। यो कुरालाई कतिपयले मजाक नै बनाए।

बालेनको क्याल्कुलेटर मेरो लागि पनि मजाक नै थियो त्योबेला।

मतगणना सुरु भएयता राष्ट्रिय सभागृह अगाडि उभिएर बालेनका पक्षमा हुटिङ गर्नेहरु केवल भीड लाग्थ्यो। उनीहरु बालेनलाई उत्साहित बनाउने खालका विविध नारा लगाउँथे। सोसल मिडियाका लागिमात्र हैन उनीहरुका नारा युट्युबरका लागि मसला बन्थे। युट्युबर लाइन लगाएर बालेनका पक्षमा बोल्न लगाइरहेकाझैं देखिन्थे। उनीहरुका कुरा सुन्दा सबै ‘कस्मेटिक’ लाग्थे। न्युज डेस्कमा बस्दामात्र हैन, मिम, टिकटकतिर बालेनबारे सम्पादन गरिएका भिडियो हेर्दै हाँस्थे। जारी बालेनको अग्रताले बल्ल उनको पक्षमा परेको मतबारे बुझ्ने व्यग्रता जाग्यो।

त्यसपछि डेस्क छाडेर पुगेँ राष्ट्रिय सभागृह।

मतगणना भइरहँदा काठमाडौंको चुनावी ‘ट्रेन्ड’ के छ बुझ्न मन लाग्यो।

वडा ३२ को मतगणनास्थल पसेर मेयरको ५० मतको परिणाम धमाधम टिपेँ। जसमा १९ छाप लौरोमा परेको थियो। ६ छाप लौरो र रुखमा परेको थियो। ६ वटै मत बदर भयो।

वडा नम्बर ३२ मा एमालेबाट नवराज पराजुली वडाध्यक्षका उम्मेदवार छन्। त्यसैगरी गठबन्धनबाट एकीकृत समाजवादीकी रमा पराजुली वडाध्यक्षकी उम्मेदवार हुन्। पाँच दलले गठबन्धन गरेको यो वडामा एकीकृत समाजवादीले राम्रै मत काटेर कांग्रेसको पक्षमा मत पार्ने अनुमान गरिएको थियो।

तर, यस क्षेत्रबाट मेयरका लागि परेको ५० मतमा कांग्रेसले ८ मतमात्र पायो। यता एमालेले भने १० मत पायो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हलोमा मेयरका उम्मेदवार मदनदास श्रेष्ठले १ मतमात्र पाए। ५० मत गन्दा विवेकशीलको तराजु लिएर उठेकी समीक्षा बास्कोटाले एक मत पनि पाइनन्। बाँकी ६ मत कुनै खाली थिए कुनै बदर भए।

त्यसपछि पुगेँ वडा ३ को मतगणनास्थलमा। वडा ३ को मतगणना केही समय प्रभावित भयो। १०० पुग्न लागेकोले गणक र प्रतिनिधिबीच सवालजवाफ चल्यो। गणकले एकैसाथ सयभन्दा बढी मत गन्न लागेकोले प्रतिनिधिले रोके। गणक प्रतिनिधिको कुरामा राजी भए। जसमा ९२ मत सदर थिए र बाँकी ८ मत बदर। ती पोको पारेपछि एकपटक रुजु भयो नम्बरमा। जसमा ४३ मत लौरोलाई परेको रहेछ। सूर्यमा २२, रुखमा १७, कलममा दुई,  हलोमा ३, आँखी झ्यालमा १ मत परेको टिपोट दलका प्रतिनिधिले देखाए। मेयरमा बाँकी ४ मत खाली छाडेको देखियो। 

१५० मतमा ६२ मतमात्र बालेन साहको पक्षमा थियो जबकी एमालेका केशव स्थापितले ३२ मतमात्र पाए। यता गठबन्धनबाट साझा उम्मेदवार रहेकी कांग्रेसकी सिर्जना सिंहले २५ मत पाइन्। राम्रो मत पाउने अनुमान गरिएका सुमन सायमिको पक्षमा १ मतमात्र थियो डेढसय मतमा।

डेढ सय मतको गणना सकिएपछि मतगणनास्थलबाट बाहिरिएँ।

राष्ट्रिय सभागृहमा कांग्रेस र एमालेका प्रतिनिधि भेटेँ। कांग्रेसका प्रतिनिधि भित्री वडाहरुको बाकसतिर नजर लगाइरहेका देखिन्थे। ‘भित्री शहरको हेरौं न,’ कांग्रेसका एक प्रतिनिधि भन्दै थिए, ‘अनि थाहा हुन्छ।’

एमालेका प्रतिनिधि भन्दै थिए, ‘सूर्यलाई आउनुपर्ने भोट सबै त्यतै गएको छ। भित्री शहरको पनि त्यस्तै भए गाह्रै होला।’

उनीहरुको अनुहार भने त्यति उत्साहित देखिँदैन थियो। कतै मेयर बालेनले उछिट्याउने हो कि भन्ने शंका उनीहरुको अनुहारमा पढ्न सकिन्थ्यो। त्यो अनुहारको शब्दहरु प्रिन्ट हुँदा कस्तो आउने हो त्यो देखिन भने अझै केही दिन कुर्नु नै पर्नेछ। अनि सभागृह अघि नारा लगाउनहरु कति ‘कस्मेटिक’ हुन त्यो हेर्न पनि बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell