PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कर्णालीका कसैको विरासत भत्कियो, कसैको गढ तोडियोः यस्तो छ हालसम्मको चुनावी परिणाम



पहिलोपोस्ट

कर्णालीका कसैको विरासत भत्कियो, कसैको गढ तोडियोः यस्तो छ हालसम्मको चुनावी परिणाम

सुर्खेतः स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसले आफ्नो साख जोगाएको छ। कतै नेतृत्व खोसेरै वडादेखि नगरमा बर्चश्व जमाएको छ। मत परिणाम आउन बाँकी वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा समेत कांग्रेस र एमालेको टक्कर देखिएको छ। यी दुबै नगरमा झिनो मतान्तरले अघिपछि भइरहेको छ।

एमालेको किल्लाका रुपमा रहेको लेकबेशी नगरपालिकाको नेतृत्व भने यसपटक कांग्रेसले पाएको छ। अघिल्लो निर्वाचनमा वडादेखि नगरको नेतृत्वमा एकलौटी जित हात पारेको एमालेमा यसपटक कांग्रेसले बर्चश्व जमाएको हो। अघिल्लो निर्वाचनमा पराजय भोगेको कांग्रेसले यस पटकको निर्वाचनमा एमालेलाई नराम्रोसँग पराजित गरेको छ। मेयर पदमा कांग्रेसका उमेशकुमार पौडेलले ६ हजार ६३९ मत ल्याएर विजयी भएका छन् भने, उनका प्रतिस्पर्धी एमालेका देवबहादुर रानाले ६ हजार ३७४ मत ल्याएर पराजित भएका छन्।

उपमेयरमा भने एमालेकै बिमला खड्लुले ६ हजार १०९ मत ल्याएर विजयी भएकी छन्। प्रतिस्पर्धी एकीकृत समाजवादीकी तर्फबाट देउकली थापाले पाँच हजार ४४० मत ल्याएर पराजित बनेकी छन्।

नगरमा कांग्रेसकै तर्फबाट बागी उम्मेदवार समते उठेका थिए। नगरको दश वटा वडामध्ये ५ र ७ वडाबाहेक अन्य अरु सवै वडामा कांग्रेसकै उम्मेदवार निर्वाचित बनेका छन्।

एमालेले नराम्रोसँग पराजय भोगेको स्वीकार गर्दै नगर इन्चार्ज टिकाराम सोमै र सहइन्चार्ज शान्तिकुमारी छन्तेलले पदबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेसको किल्लाका रुपमा परिचित सुर्खेतको गुर्भाकोट नगरपालिकामा निवर्तमान मेयर र उपमेयर पुनः निर्वाचित बनेका छन्। कांग्रेसका हस्तबहादुर पुनले ११ हजार ९७८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धफ एमालेका तिलक खत्रीले १० हजार १८६ मत ल्याएर पराजित भएका छन्।

उपमेयरमा मैना विकले ११ हजार ७४३ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी सुशीला विश्वकर्माले १० हजार २८६ मत ल्याएर पराजित बनेकी छन्। नवनिर्वाचित मेयर उपमेयर दुवै जना निवर्तमान मेयर र उपमेयर हुन्।

नेपाली कांग्रेसको किल्लाका रुपमा परिचित सुर्खेतको पश्चिम पालिका पञ्चपुरी नगरपालिकामा कांग्रेसले आफ्नो साख जोगाएको छ। मेयरमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्तिदेवी रेग्मी निर्वाचित भएका हुन्। भण्डारीले पाँच हजार ९०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर थापाले पाँच हजार ११८ मत ल्याएर पराजित बनेका छन्।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मत ल्याउँदा एमालेकी दुर्गाकुमारी जैसीले पाँच हजार १६८ मत ल्याएकी छन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित वडाहरुमा कांग्रेसकै बर्चश्व थियो। रेग्मी निवर्तमान उपाध्यक्ष समेत हुन्।

कांग्रेसकै गढ बराहतालमा आफ्नो साख कायम राखेका छन्। बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीमबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले चार हजार ३९७ मत प्राप्त गरेका छन्। एमालेका घनश्याम पाण्डेले तीन हजार ५५५ मत प्राप्त गरेर पराजित बनेका छन्।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुन मगर विजयी भएकी छन्। पुन मगरले चार हजार ३०१ मत प्राप्त गरेकी छन्। एमालेकी दुर्गाकुमारी विष्टले तीन हजार ५९९ मत प्राप्त गरेर पारजित भएकी हुन्। अघिल्लो निर्वाचनमा समेत बराहतालमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसकै पोल्टामा थियो।

कांग्रेसले साख जोगाउन नसकेको पालिका चिंगाड गाउँपालिका हो। कांग्रेसको गढका रुपमा रहेको चिंगाड गाउँपालिकामा एमालेले विजयी भएको छ। चिंगाडमा एमालेका वोधविक्रम जिसीले तीन हजार ५९१ मत पाएर विजयी भएका हुन्।

नेपाली कांग्रेसका डोरप्रसाद शर्मा तीन हजार ५३० मत पाएर पराजित भएका छन्। यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले तीन हजार ५८१  मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्य पराजित भएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell