काठमाडौँ : राजधानीको उत्तरमा रहेको प्राचिन शहरको नामबाट चर्चित टोखा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। रोचक प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार रजनी थापालाई पछि पार्दै प्रकाश अधिकारीले एमालेका लागि जित निकाले। यससँगै काठमाडौंमा नेकपा एमालेको खाता खुलेको छ।
कांग्रेसका थापालाई झिनो मतान्तरले पराजित गर्दै अधिकारीले जित हासिल गरेका हुन्। यसअघि पनि उनले कांग्रेसलाई पराजित गरेर नगर प्रमुखको जिम्मेवारी बहन गरिसकेका छन्। रजनी यसअघिको निर्वाचनमा उप मेयर पदमा पनि झिनो मतान्तरले पराजित भएकी थिइन्।
प्रकाश अधिकारीले १० हजार ३४० मत ल्याएका छन्। उनले १ सय ७४ मत अन्तरले जित निकाल्दा यहाँको मत गणना रोमाञ्चक बन्न पुगेको थियो। थापाले लामो समय लिड गरे पनि अन्तिममा अधिकारी बलियो रुपमा देखा परेका थिए। थोरै मतान्तरमा अग्रता कायम रहेकाले मत परिणाममा धेरैको ध्यान खिचिएको थियो।
कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गरेकी छिन्।
मेयरमा पराजय भोगे पनि उपप्रमुखमा भने नेपाली कांग्रेसले जित हासिल गरेको छ। मुरारी तामाङ १० हजार १३२ मत ल्याएर उप प्रमुख पद सुरक्षित गरे। उप प्रमुखमा एमाले उम्मेदवार ज्ञानमाया डङ्गोलले ९ हजार ५१८ मत ल्याइन्। उपप्रमुखमा पराजित डङ्गोल यसअघि भने टोखाको उप प्रमुख थिइन्। कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो।
यसअघि काठमाडौंको पूर्वी नगरपालिका शङ्खरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित निकालेको थियो। पहिलो पटक राप्रपाले नगरपालिका प्रमुखमा जित हासिल गरेको हो। शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले मेयरमा जित निकाल्दा उप प्रमुखमा नेपाली कांग्रेसले सफलता पाएको छ।
यसअघि काठमाडौंको कीर्तिपुर नगरपालिकामा क्लिनस्वीप गर्दै नेपाली कांग्रेसले जित निकालेको छ। राजधानीको दक्षिण पश्चिमको पुरानो शहर कीर्तिपुरमा कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो। नेकपा एमालेको 'किल्ला' का रुपमा स्थापित कीर्तिपुरमा राजकुमार नकर्मी र शुभलक्ष्मी शाक्यल क्रमश: प्रमुख र उप प्रमुख बनेका छन्। त्यस्तै राजधानीको दक्षिणी भेगमा रहेको दक्षिणकाली नगरपालिकामा काग्रेसले जित हासिल गरेको छ। दक्षिणकाली नगरपालिकामा मेयर तथा उप प्रमुखमा मोहन बस्नेत र बसन्ती तामाङको जोडीले पुन: जित हासिल गरेको हो। अघिल्लो पटक जित निकालेको भन्दा बढी मतअन्तरले यी दुवैले जितेका हुन्।
काठमाडौंको उत्तरमा रहेको तारकेश्वर नगरपालिकामा पनि मत गणना पूरा भइसकेको छ। त्यहाँ नेपाली कांग्रेसले जित हासिल गरेको छ। तारकेश्वर नगरपालिकाको प्रमुखमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् भने उप प्रमुखमा सृजना बुर्लाकोटी निर्वाचित भएकी हुन्।
उत्तरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता हासिल गरिरहेका छन्। मीठाराम अधिकारीले नेपाली कांग्रेसका विनोद चालिसेलाई पछाडि पारेका छन्। यस नगरपालिकामा उप प्रमुखमा पनि एमालेकै अग्रता कायम छ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका बालेन्द्र साहले ठूलो मतान्तरले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसका सिर्जना सिंहलाई पछाडि पारिरहेका छन्। स्वतन्त्र उम्मेदवार साहले सुरुदेखि नै फराकिलो अग्रता कायम राखेका छन्। यसअघि काठमाडौं महानगरापालिकामा बहुमत वडा अध्यक्षसहित नेकपा एमालेले जित हासिल गरेको थियो।
पूर्वोत्तर काठमाडौंका कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा पनि नेपाली कांग्रेसको अग्रता कायम छ। यीमध्ये कागेश्वरी मनोहरा यसअघि नेकपा एमालेले जित निकालेको नगरपालिका हो। गोकर्णेश्वर नगरपालिका भने अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसले नै सफलता पाएको थियो।
उत्तर पश्चिम काठमाडौंको नागर्जुन नगरपालिकामा नेपाली कांग्रेसले नै लिड गरिरहेको छ। मोहनबहादुर बस्नेतले एमालेका नन्दहरि गौतमलाई पछि पार्दै अग्रता लिइरहेका छन्। बस्नेत यसअघि सोही नगरपालिकाका मेयर रहिसकेका छन्।
पश्चिम काठमाडौंको चन्द्रागिरि नगरापालिकामा पनि नेपाली कांग्रेसले नै अग्रता लिइरहेको छ। त्यहाँ कांग्रेसका घनश्याम गिरीले नेकपा एमालेका उत्तमबहादुर राउतलाई पछि पारेका छन्। यसअघि गिरी नै उक्त नगरपालिकाका मेयर रहेका थिए।