PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

जगन्नाथ पौडेलले ४२६५ मत हासिल गर्दा रेनु दाहालको विजय सुवेदीसँग १३९३ मतको अग्रता



पहिलोपोस्ट

जगन्नाथ पौडेलले ४२६५ मत हासिल गर्दा रेनु दाहालको विजय सुवेदीसँग १३९३ मतको अग्रता

चितवन : भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार रहेका जगन्नाथ पौडेलले ४ हजार २६५ मत हासिल गरेर तेस्रो स्थान लिँदा पनि दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १ हजार ३ सय ९३ मत पछि पारेकी छिन्। हिजो मतगणनामा रेनु र विजयबिच अघि/पछि चलिरहेको थियो। रेनु पाँच दलीय गठबन्धनबाट मैदानमा छिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको चुनावी एकतामा नेकपा एमालेका विजय।

पछिल्लो मत परिणाम अनुसार रेनुले ९ हजार ४४७ मत ल्याएर अग्रता कायम राखेकी छिन्। उनलाई पछ्याइरहेका विजय सुवेदीले ८ हजार ५४ मत हासिल गरेका छन्। जगन्नाथ पौडेलले तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेका छन्। पौडेललाई उम्मेदवारी फिर्ता गराउन कांग्रेसका शीर्ष तह असफल भएको थियो। त्यसैले पनि उनको मतले चुनावी नतिजा प्रभावित हुने आँकलन गरिएको थियो।

भरतपुरको उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ मत हासिल गरिसकेका छन्। उनको मत परिणामले असन्तुष्ट नेपाली कांग्रेसका मतदाताको मत नेकपा एमालेलाई नगएको देखिन्छ। त्यो मत मेयरका बागी उम्मेदवार पौडेलले हासिल गर्दा रेनुको अग्रतालाई सहज बनाइरहेको छ। एमालेसँगको चुनावी तालमेलमा रहेको राप्रपाका उपप्रमुख उम्मेदवार हिमला गुरुङले ६ हजार ५७७ मत ल्याएकी छिन्।

राससका अनुसार भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ। वडा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गरेका छन्। यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका वडा अध्यक्षले जित निकालेका छन्।
भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।

चितवनको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ। इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell