PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तिम समयमा गठबन्धन टुटाएको कांग्रेसलाई डोटीमा फलिफाप, ९ मध्ये ७ पालिकामा विजयी



एम बम

अन्तिम समयमा गठबन्धन टुटाएको कांग्रेसलाई डोटीमा फलिफाप, ९ मध्ये ७ पालिकामा विजयी

कैलाली : मनोनयन दर्ताकै दिन पाँच दलीय गठबन्धनको निर्णय विपरीत डोटीमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित निकालेको छ। जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामध्ये २ नगरपालिका र ५ गाउँपालिकामा कांग्रेस विजयी भएको हो।

जिल्लाको मुकाममा रहेको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी भएको छ। २०५४ र २०७४ मा नेकपा (एमाले)ले जितेको उक्त नगरपालिकामा २०४९ सालपछि कांग्रेसले पहिलो पटक जितेको हो।

कांग्रेसका बाजीसिंह खड्का (विजय) मेयर र कलावती महर (साउद) उपमेयरमा निर्वाचित भएका छन्। खड्काले ५ हजार १३८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण बहादुर मलासीले ३ हजार ५१५ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरमा कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, जिल्लाको अर्को नगरपालिका शिखर नगरपालिकाको मेयर र उपमेयरमा पनि कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दीर्घ बलायर र सुनिता रावल (जोरा) विजयी भए। शिखरमा भने २०७४ मा पनि कांग्रेस नै विजयी भएको थियो।

बलायरले ६५६२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बलायरले ४५९१ मत प्राप्त पाए। उपमेयरमा विजयी सुनिता रावल (जोरा) ले ६४२६ मत ल्याइन्। उनकी प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत पाइन्। नगरका ११ वडा मध्ये ७ मा कांग्रेस र ४ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

२०७४ मा कांग्रेसकै जित रहेको बडीकेदार गाउँपालिकामा पुनः कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरव बहादुर साउद २३४३ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर घर्तीमगरले १६८४ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका भक्तबहादुर सावदले १४७१ मत प्राप्त गरे।

पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी डम्मरी कुमारी विष्ट २४०७ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सपना सिराडीले २२७६ मत प्राप्त गरिन्।

एमालेको पकड क्षेत्रका रूपमा परिचित जिल्लाको आदर्श गाउँपालिकामा पनि कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काग्रेसका गणेश बहादुर खड्का विजयी भएका हुन्।

खड्का ३७७३ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर ओलीले ३३७७ मत पाए।

गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै लक्ष्मी धामी (रोकाया) ३६७४ मतका साथ विजयी भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकी खड्काले ३३८९ मत प्राप्त गरिन्।

पालिकाका ७ वडा मध्ये ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ। २०७४ को निर्वाचनमा आदर्श गाउँपालिकामा ६ वटा वडासहित एमाले विजयी भएको थियो भने कांग्रेसले एउटा वडा मात्रै जितेको थियो। उक्त गाउँपालिका एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल र नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र सिंहको गृह पालिका हो।

यता, सायल गाउँपालिका पनि आफ्नो पोल्टामा पार्न सफल भएको कांग्रेसले गाउँपालिकाको अध्यक्षमा धर्मराज जोशी र उपाध्यक्षमा निर्मला बोहरालाई प्राप्त गरेको छ।

अध्यक्षमा निर्वाचित जोशीले ३ हजार २ सय ४६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तेजबहादुर डुम्रेलले २ हजार २ सय ४० मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा ओलीले दुई हजार ९ सय ३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार एवं गाउँपालिकाका निवर्तमान उपाध्यक्ष विष्नादेवी सिंहले २ हजार १ सय ५४ मत प्राप्त गरिन्।

६ वडा रहेको सायल गाउँपालिकामा वडा नम्बर १ एमालेले जितेको छ भने अन्य वडाहरूमा कांग्रेसले जितेको छ।

२०७४ मा एमालेले जितेको जिल्लाको पूर्वीचौकी गाउँपालिकामा पनि कांग्रेसले क्लिन स्विप गरेको छ। अध्यक्ष, उपाध्यक्षसहित सात वटै वडाध्यक्ष र सबै वडा सदस्यमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन्।

अध्यक्षमा कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णकुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्का ४ हजार ७२४ मत हासिल गरेर विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेकी शारदाकुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गरिन्।

यसअघि २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेसबाट अध्यक्षका उम्मेदवार उपाध्याय एमालेका दीर्घराज बोगटीसँग पराजित भएका थिए। त्यति बेला कांग्रेसले ५ वटा वडाध्यक्ष जित्दा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हारेको थियो।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका समेत रहेको डोटीको केआईसिंह गाउँपालिकामा पनि कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकेन्द्र बहादुर शाही विजयी भएका छन्।

उनी ४२६२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३६२ मत मात्रै प्राप्त गरे।

उपाध्यक्षमा पनि कांग्रेसकै मिनादेवी विष्ट विजयी भएकी छिन्। उनी ४०७२ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन्।

गाउँपालिकाका सात वडाहरूमध्ये चार वडामा कांग्रेस, एक/एक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन्।

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा भने माओवादी केन्द्रका कमल बहादुर गड्सिला विजयी भएका छन्। उनी २०५८ मत ल्याई विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हस्तबहादुर बुढाले २०२४ मत ल्याए भने कांग्रेसका डिलबहादुर बमले १९३४ मत ल्याए।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी विष्नादेवी बम विजयी भएकी छिन्। बम २०६३ मत ल्याउँदै विजयी भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानु मल्ल बमले १९९१ मत ल्याइन् भने माओवादी केन्द्रकी कलावती कुमारी चिमालले १८७१ मत ल्याइन्।

गाउँपालिकाका ७ वटा वडाहरूमध्ये २/२ वटा वडामा एमाले, माओवादी केन्द्र र बाँकी ३ वटा वडामा कांग्रेस विजयी भएको छ।

यता, एकीकृत समाजवादीका नेता प्रेम आलेको गृहपालिका जोरायल गाउँपालिकामा एमालेका दुर्गादत्त ओझा विजयी भएका छन्। उनी ३४४९ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक विष्टले ३४१२ मत प्राप्त गरे।

उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी चन्द्राकुमारी साउदले ३५१७ मत ल्याइन्।

डोटीमा कांग्रेसले गठबन्धन टुटाएपछि कांग्रेस र एमाले एकल प्रतिस्पर्धामा थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर अघि बढेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell