PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तै हो भने 'चिलिम च्वाँट' हुन्छ : बालेनले झनझन् अग्रता बढाउँदा काठमाडौं महानगरमा हतोत्साही एमाले र कांग्रेस



पहिलोपोस्ट

यस्तै हो भने 'चिलिम च्वाँट' हुन्छ : बालेनले झनझन् अग्रता बढाउँदा काठमाडौं महानगरमा हतोत्साही एमाले र कांग्रेस

  • नेत्र तामाङ र प्रकाश भण्डारी-

काठमाडौं : स्वतन्त्र उम्मेदवार बालेन साहले दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई काठमाडौं महानगरमा अकल्पनीय धक्का दिइरहेका छन्। देशव्यापी संगठन र राम्रो जनाधार भएका भनिएका कांग्रेस-एमालेका लागि भने प्रारम्भीक मत परिणाम अनपेक्षित छ, काठमाडौं महानगरमा। एक अर्कालाई मात्रै मुख्य प्रतिस्पर्धी मानिरहेका थिए एमाले-कांग्रेसले। तर, चुनावको प्रारम्भीक मत परिणाम भने ठीक उल्टो आइरहेको छ।

कांग्रेस-एमालेका उम्मेदवारभन्दा दोब्बर मतले साह अगाडि छन्। २०७४ को स्थानीय तह निर्वाचनमा विवेकशीलकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापालाई चुनौतीका रुपमा लिएका थिएनन् कांग्रेस-एमालेले। त्यसैले दुवै पार्टीको आँकलन थियो - कांग्रेस या एमालेले महानगरमा जित निकाल्छ। कांग्रेस एमालेको आँकलनलाई भने प्रारम्भीक मत परिणामले नै धुलोपिठो बनाइसकेको छ।

बालेनलाई नजरअन्दाज  गर्दाको देखिँदैछ परिणाम

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरको मत गणनामा सहभागी प्रतिनिधिहरुले अब महानगरमा कांग्रेसलाई जित्‍न मुस्किल हुने बताएका छन्। भित्री शहरमा पनि साहकै पक्षमा माहोल रहेको आँकलनसहित उनीहरुले अहिलेको परिणाम साहलाई नेतृत्वले नजरअन्दाज गर्दा आएको बताए।

‘बालेन जस्तै स्वतन्त्र त सुमन सायमी पनि हुन्। अझ ऊ महानगरमा एक्टिभ मान्छे हो। उसलाई पनि खासै मत आएको छैन। यसमा कहीँ न कहीँ हामीप्रतिको असन्तुष्टि हो। बालेन एकाएक आएका होइनन्। हामीले यसबारेमा नेताजीलाई भनेका थियौं। तर, उहाँले वास्ता गर्नु भएन। नजरअन्दा गर्दा आज यस्तो भयो,' नेपाली कांग्रेसको महानगरमा सक्रिय एक नेताले नाम नबताउने शर्तमा भने, 'मैले भनेको थिएँ अहिलेको चुनाव पहिलाको जस्तो छैन। यो मानिसले हामीलाई अप्ठेरो पार्न सक्छ भनेका थियौं। यस्तै हो भने हामी चिलिम च्वाँट हुन्छौं।' 

कांग्रेस एमालेका प्रतिनिधिहरु उम्मेदवार चयन गर्नमै ध्यान नपुगेका कारण हार बेहोर्नुपर्ने अवस्था आएको बताउँछन्। बालेन साहको व्यापक तयारीलाई ख्याल नगरेरै उम्मेदवार तय हुँदा दलहरु बढारिनुपरेको उनीहरुको मत छ।

‘युद्धमा जाँदा दुस्मनालाई कमजोर ठानियो भने के हुन्छ? स्याल मार्न जाँदा बाघ मार्ने तयारी गर्नुपर्छ भन्ने हामीलाई के थाहा थिएन र?’ ती नेताले उल्टै नेतृत्वप्रति आक्रोश पोखे। 

'महानगरलाई मुर्कट्टा बनाउने भए’

यी दलका प्रतिनिधि चुनावी परिणामका कारण कतिसम्म निराश छन् भने उनीहरु साहले मात्रै अग्रता लिएका कारण आफ्नो पार्टीको अस्तित्व नै नभएको महसुस गरिरहेका छन्। कांग्रेसकै एक अर्का प्रतिनिधिले साहको जितले दलहरु महानगरमा मुर्कट्टा (टाउको काटिएको) हुन थालेको बताए।

‘साहले त हामीलाई मुर्कट्टा नै बनाउने भए। तल कि कांग्रेसका कि एमालेका प्रतिनिधिले जितिरहेका छन् तर मेयरमा उनको मत राम्रो छ। यसको हावा महानगरको भित्री शहरमा पनि नलागेको होला भन्न सकिन्न,' ती नेताले भने, 'जहाँसम्म अहिलेसम्मको मत गणनाको कुरा छ यसले भित्री शहरमा पनि साहको राम्रै मत छ भन्ने देखियो। 

कांग्रेस-एमालेको मतदाताले पनि बालेनलाई मत हाल्दा आफ्ना उम्मेद्वारको कमजोर मत आएको दुवै दलका नेता कार्यकर्ताले बताएका छन्। उनीहरुले स्वतन्त्र व्यक्तिले अग्रता लिनु र राजनीतिक दलका उम्मेदवार पराजित हुने स्थितिमा जानु भनेको दलहरुमाथिको थ्रेट भएको बताएका छन्। नेपाली कांग्रेसका काठमाडौं महानगर सभापति नीलकाजी शाक्यले  हामीले कुराकानी गरेका एमाले-कांग्रेसका नेताले झै अभिव्यक्ति त दिएनन्। तर, शाक्यको भनाई पनि ती नेताहरुको अभिव्यक्तिबाट धेरै टाढा भने छैन। 

’यो भनेको हामीहरुका लागि थ्रेट पनि हो। दलहरुप्रति जनतामा बढेको आक्रोशका रुपमा लिएका छौं। यसबारेमा पार्टीले समीक्षा गर्नुपर्छ,’ उनले भने। शाक्य नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरका आकांक्षी थिए।

‘मतदानको अघिल्लो दिन झस्कियौं’

मत गणनामा नेकपा एमालेका तर्फबाट व्यवस्थापनको जिम्मेवारी पााएका एमाले वाग्मती प्रदेश सभाका सदस्य गणेशप्रसाद दुलालले आफूहरु मतदानको अघिल्लो दिनमात्रै साहको व्यापक तयारीबाट झस्किएको बताए। दुलालले पहिला साहको चुनावी तयारी र प्रचारलाई खासै वास्ता नगरेको स्वीकारे।

‘चुनावको अघिल्लो दिन अलिकति साहको तयारी देखेर हामी झस्कियौं। त्यसअघि उनीहरु २०/२५ जना जति मात्रै हिँड्थे। हामीलाई त पहिला रन्जु र किशोर थापाकै जस्तो त होला, त्यति धेरै असर हुन्न भन्ने लागेको थियो। तर, अहिले हेर्दा हाम्रो यति ठूलो दल भए पनि व्यवस्थापन त्यति राम्रो हुन सकेको छैन भन्ने देखियो। तर स्वतन्त्र उम्मेदवारको कस्तो व्यवस्थापन छ? उनीहहरुको खानपिन कति व्यवस्थित छ,’ दुलालले भने।

काठमाडौं महानगरको वडाहरुमा एमालेले नै जितेर बहुमत ल्याउने दाबी एमाले नेताहरुमा छ। तर, मेयरमा स्थापितले जित्नेमा उनीहरु ढुक्क हुने स्थिति समाप्त भइसकेको छ। भित्री शहरमा पनि स्थापितलाई मत आए/नआएको बारे मत गणनास्थल सभागृहमा उपस्थित एमालेका प्रतिनिधि ढुक्क हुन नसकेको दुलालले बताए। 

एमाले-कांग्रेसकै भोट बालेनलाई

परम्परागत रुपमा खस्ने गरेको एमाले र कांग्रेसकै मत यसपाला बालेनले थुतेका छन्। मेयरमा बालेन र उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोललाई मत दिएपछि बाँकीमा भने पहिलेकै शैलीमा मत झरेको छ। एमाले या कांग्रेसका वडा अध्यक्ष र सदस्यलाई मत हाल्नेको संख्या धेरै छ। त्यसो हुँदा बालेनको पक्षमा एमाले कांग्रेसका उम्मेदवारका भन्दा दोब्बर खसेको देखिन्छ।

‘रुखमा हाल्नेहरुले पनि मेयरमा बालेनलाई हालेका छन्। सूर्यमा हाल्नेले पनि मेयरमा लौरोमै छाप लगाएका छन्। यसको अर्थ के हो भने हाम्रो भोटहरु नै लौरोमा गएको छ। त्यसकारण पनि यो दलहरुका लागि निकै चुनौति हो,’ कांग्रेसका शाक्यले भने।

मतगणनाको सुरुवातदेखि नै अग्रता बनाएका साहले हालसम्म गणना भएका महानगरपालिकाका वडा नम्वर १, २, ३, ४, ५, ६, ७ तथा २८, २९, ३०, ३१ र ३२ वडाको गणनामा अग्रता कायम गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell