
बुटवल : रुपन्देहीको भैरहवामा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवारको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना भएको छ।
दुर्घटनामा २४ जना घाइते भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
बुधवार सिद्धार्थनगर-१० स्थित शंकरपुरमा एमाले सिद्धार्थनगर नगरपालिका-१० को लु १ ख ८०७९ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेलले जानकारी दिए।
दुर्घटनामा परी सिद्धार्थनगर-१० का ३५ वर्षीय बुद्धकुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनिया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको प्रवक्ता पौडेलले बताए। घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
सिद्धार्थनगर-१० बाट एमालेको तर्फबाट उम्मेदवार बनेका सुर्जमन यादव अहिर विजयी भएका छन्। उनी एक हजार एक मत ल्याएर विजयी भएका हुन्।