
काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा मेयरमा नेपाली कांग्रेसले अग्रता लिइरहँदा उपमेयरमा भने नेकपा एमालेले नेतृत्व जित्ने सम्भावना देखिएको छ।
नौ मध्ये ८ वटा वडाको मत गणना सकिएको गोकर्णेश्वरमा वडा नम्बर ९ को मतगणना जारी छ। नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपक रिसालको वडामा अहिले मत गणना जारी छ।
आठ वटा वडाको मत गणना हुँदा रिसालले ८ हजार ९ सय ७६ मत हासिल गरिसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उद्धव विष्टले ८ हजार २ सय ७८ मत ल्याएका छन्। झन्डै ७ सय मतान्तरले रिसाल अगाडि छन्। उनको आफ्नै वडामा मतदाता ११ सयको हाराहारीमा रहेकाले उनी जितोन्मुख भइसकेका छन्।
उपमेयरमा भने नेकपा एमालेका सान्नानी लामाले ८ हजार ४ सय ६६ मत ल्याएर नेपाली कांग्रेसका शान्ति नेपाललाई ३ सय ४४ मतान्तरले अग्रता कायम राखेकी छिन्। शान्ति नेपालले ८ हजार १ सय २२ मत ल्याएकी छिन्। वडा नम्बर ९ मा शान्ति नेपालले अप्रत्यासित हिसाबले मत ल्याउन नसकेमा गोकर्णेश्वर नगरपालिकाको उप प्रमुखमा एमालेले जित निकाल्ने निश्चित छ।