PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भोजपुरको मतपरिणाम : कांग्रेस र एमालेले तीन - तीन तहमा जित निकाले, कुन पालिकामा को?



रासस

भोजपुरको मतपरिणाम : कांग्रेस र एमालेले तीन - तीन तहमा जित निकाले, कुन पालिकामा को?

भोजपुर : भोजपुरको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ। यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। 

यहाँ एमाले र कांग्रेसले तीन-तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर नगरपालिका, अरुण र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसले जित हासिल गरेको  छ। आमचोक र रामप्रसाद राई गाउँपालिकामा माओवादीले जित हासिल गरेको छ। 

आमचोकमा माओवादी एक्लै लडेको हो, भने रामप्रसाद राईमा कांग्रेस माओवादीले गठबन्धन गरेका थिए। साल्पासिलिछो गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्। एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका दौलथ कुलुङ विजयी भएका छन्। 

भोजपुर नगरपालिका

भोजपुरमा कांग्रेसबाट मेयरमा कैलाशकुमार आले पाँच हजार ६१५ मत प्राप्त विजयी बनेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तामाङले पाँच हजार १०० मत पाएका थिए। 

त्यस्तै उपमेयरमा एमालेकी निर्मला शेर्पा विजयी बनेकी छिन्। उनले रुख चिह्नबाट उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)की ममिता राईलाई पाँच हजार ५०० पराजित गरेका छन्। निकटतम प्रतिद्वन्द्वी राईले पाँच हजार १३३ मत प्राप्त गरिन्। 

षडानन्द नगरपालिका

षडानन्द नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै एमालेका सुरेन्द्र कुमार उदास विजयी बनेका छन्। उनले छ हजार ७७२ मत ल्याए भने गठबन्धनका उम्मेदवार कांग्रेसका बिरवल राईले पाँच हजार ७५७ मत ल्याएर पराजित भए। उपमेयरमा सत्तारुढ गठबन्धनकी माओवादी उम्मेदवार प्रमिला राई विजयी बनिन्। उनले सात हजार २५७ मत ल्याएर विजयी बनेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मेरीका राईले चार हजार ३५८ मत प्राप्त गरिन्। 

पौवादुङमा गाउँपालिका

पौवादुङमा गाउँपालिका अध्यक्षउपाध्यक्ष दुवै पद एमालेले जितेको छ। यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी बने। उनले दुई हजार ४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेलले एक हजार ६८८ मत र कांगेसका टेक नरसिं कार्कीले एक हजार ३७१ मत ल्याए। उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर विजयी बनिन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ र कांग्रेसकी रामकुमारी राईले एक हजार ३८७ मत प्राप्त गरिन्। 

हतुवागडी गाउँपालिका

हतुवागढीमा एमालेका प्रेमकुमार राई विजयी बने। उनले गठबन्धनका उम्मेदवार कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित बनेका हुन्। उनले कांग्रेसका कार्कीलाई अध्यक्ष पदमा ६८९ मतले पराजित गरे। राईले चार हजार ४२ मत पाए भने कार्की तीन हजार ३५३ मत ल्याएर पराजित बने। उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीकी सुनिता किराती  तीन हजार ७०७ मत विजयी बनिन्। राईकी निकटतम प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ६११ मत ल्याएर पराजित भइन्।  

टेम्केमैयुङ गाउँपालिका

टेम्केमैयुङमा अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सरोज बस्नेत विजयी बने। बस्नेत तीन हजार ९८० मत ल्याएर विजयी बन्दा एमालेका ध्रुवराज राई तीन हजार २८८ मत ल्याए पाए।  उपाध्यक्षमा एमालेकी रमादेवी राई विजयी बनिन्। राईले तीन हजार ३८८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीकी इन्द्रवती राई तीन हजार २९८ मत पाइन्। 

अरुण गाउँपालिका

अरुणमा काङ्ग्रेसले जित हासिल गरेको छ। यहाँ अध्यक्षमा दुई हजार ८८७ मत ल्याएर शालिकराम खत्री र तीन हजार मत ल्याएर उपाध्यक्षमा वितिना ढकाल विजयी भए। खत्रीका निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण घिमिरेले दुई हजार ४२४ मत पाए। उपाध्यक्षकी प्रत्यासी कविता राईले दुई हजार ५४४ मत पाइन्। 

रामप्रसाद राई

रामप्रसाद राईमा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादीका थामबहादुर राई तीन हजार ७० मत ल्याएर विजयी बने। राईका निकटतम प्रतिद्वन्द्वी एमालेका बलराम राई दुई हजार ८५१ मत ल्याएर पराजित बने। उपाध्यक्षमा कांग्रेसका वीरेन्द्र राई तीन हजार ५७७ मत ल्याएर विजयी बने भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला राईले दुई हजार २१४ मत पाइन्। 

आमचोक गाउँपालिका

आमचोकमा माओवादीले जित हासिल गरेको छ। यहाँ अध्यक्षमा तीन हजार ६८६ मत ल्याएर अशोक राई विजयी बने। एमालेका वसन्त राईले तीन हजार २५८ मत पाए। उपाध्यक्षमा सीता राई तीन हजार ५६१ मत ल्याएर विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी छिरिङ शेर्पाले तीन हजार २४४ मत पाए। 

साल्पासिलिछो गाउँपालिका

साल्पासिलिछोमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्। यहाँ एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका दौलथ राई एक हजार ८२४ मत ल्याएर विजयी भए। एमालेका शान्तिबहादुर अधिकारीले एक हजार ३८३ र कांग्रेसका महेश राईले एक हजार ७८६ मत पाए। 

उपाध्यक्षमा कांग्रेसकी अस्मिता राई एक हजार ८६२ मत ल्याएर विजयी बनिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रिता घलेले एक हजार ३९५ मत पाइन्। जिल्लामा ८१ ओटा वडामध्ये सबैभन्दा धेरै ३२ एमाले, २८ कांग्रेस, माओवादी १८, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक÷एक र एउटा वडा स्वतन्त्रले जितेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell