PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सङ्खुवासभामा ६ पालिका प्रमुख कांग्रेस र चार पालिका प्रमुखमा एमाले विजयी



रासस

सङ्खुवासभामा ६ पालिका प्रमुख कांग्रेस र चार पालिका प्रमुखमा एमाले विजयी

किमाथाङ्का : स्थानीय तहको निर्वाचनमा सङ्खुवासभाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले छ र नेकपा (एमाले) ले चारवटा पालिका प्रमुख जितेका छन्। २०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाँच प्रमुख तथा अध्यक्ष जितेका थिए।

कांग्रेसले खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ। एमालेका उम्मेदारहरु मादी नगरपालिका, धर्मदेवी नगरपालिका, चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन्।

दश स्थानीय तहका ७६ वडामध्ये एमालेबाट ३४ वडाध्यक्ष निर्वाचित भएका छन्। कांग्रेसबाट ३३ वडाध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै, माओवादी केन्द्रबाट नौ र स्वतन्त्रमा एक वडाध्यक्ष निर्वाचित भएका छन्। वडाध्यक्षहरुमा एमाले पहिलो देखिएको छ।

त्यसैगरी, कांग्रेसबाट तीन र एमालेबाट चार उपप्रमुख तथा उपाध्यक्षमा विजयी भएका छन्।  माओवादीले एक, नेकपा (एकीकृत समाजवादी)ले दुई उपप्रमुख तथा उपाध्यक्ष जितेका छन्।

२०७४ को निर्वाचनमा एमाले छ वटा र कांग्रेसले चारवटा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो।

खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपप्रमुखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन्।

सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन्। मादी नगरपालिकाको प्रमुखमा एमालेका जीवन लिंथेप र उपप्रमुखमा सुनिता देवी भट्टराई निर्वाचित भएकी छन्।

पाँचखपन नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका विपीन राई र उपप्रमुखमा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ विजयी भएका छन्। भोटखोला गाउँपालिकाको अध्यक्षमा एमालेका वाङ छेदर लामा र उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन्।

मकालु गाउँपालिका गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की मनकला राई विजयी भएका छन्। सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन्।

चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएकी छन्। धर्मदेवी नगरपालिकाको प्रमुखमा एमालेका उदचन्द्र पौडेल र उपप्रमुखमा कांग्रेसकी तारा महत विजयी भएकी हुन्। चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ र उपप्रमुखमा एमालेकै एलिना श्रेष्ठले विजयी भएकी छन्।

दुई पालिका प्रमुख दोहोरिए

सङ्खुवासभामा दुई पालिका प्रमुख दोहोरिएका छन्। एक नगरप्रमुख र एक पालिका अध्यक्ष पुनः दोहोरिएका छन्।

पाँचखपन नगरपालिका प्रमुख विपीन राई र चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पा पुनः निर्वाचित भएका छन्। पाँचखपनका राई र चिचिलाका शेर्पा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए।

मकालु गाउँपालिका अध्यक्षमा वाङ्दी शेर्पा निर्वाचित भएका छन्। शेर्पा २०७४ को निर्वाचनमा मकालु गाउँपालिका-१ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell