PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जारी मतगणनामा ६ महानगरमा कुन उम्मेदवारको कस्तो छ पोजिसन?



पहिलोपोस्ट

जारी मतगणनामा ६ महानगरमा कुन उम्मेदवारको कस्तो छ पोजिसन?

काठमाडौँः शनिबारदेखि जारी मतगणनामा धेरै पालिकाहरूको नतिजा आइसकेको छ। तर देशका ६ वटा महानगरपालिकामा भने मतगणना जारी नै छ। काठमाडौं महानगरपालिका अहिलेसम्म ५० प्रतिशत समेत मतगणना भएको छैन। अहिलेको रफ्तारमा गणना हुने हो भने अझै एक सातासम्म लाग्ने देखिएको छ।

काठमाडौंमा ४० हजारभन्दा बढी मत गणना भइसकेको छ। महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) अग्रस्थानमा छन्। अग्रस्थान मात्र होइन उनको मतान्तरपछि फराकिलो हुँदै गएको छ। बालेनले १८ हजार २३७ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ९ हजार ५१७ मत ल्याएका छन्। त्यस्तै नेपाली (कांग्रेस) की उम्मेदवार सृजना सिंहले ८ हजार ५३७ मत पाएकी छिन्।

त्यस्तै सबैभन्दा चर्चाको रूपमा हेरिएको भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल अगाडि छिन्। दाहालले ११ हजार ७५० मत ल्याएकी छिन्। एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ५४५ मत ल्याएका छन्। कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले ५ हजार १७१ मत ल्याएर तेस्रो स्थानमा छन्।

यता उपत्यकाभित्रको अर्को महानगर ललितपुरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन अघि छन्। महर्जनले सुरुवातदेखिनै आफूलाई अग्रता दिलाउँदै आएका छन्। उनको प्रारम्भिक मत परिणाम हेर्दा पुनः ललितपुरको महानगर प्रमुखमा दोहोरिने निश्चितजस्तै देखिन्छ। चिरीबाबुले १३ हजार ६४६ मत पाउँदा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत पाएका छन्।

त्यस्तै पोखरा महानगरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य अगाडि देखिएका छन्। उनले १७ हजार २४२ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १५ हजार २१० मत ल्याएका छन्।

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला अग्रस्थानमा छन्। कोइरालाले पछिल्लो मत परिणाम अनुसार १५ हजार ४३० मत ल्याएका छन्। एमालेका सागरकुमार थापाले ११ हजार ४९३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका उमेशकुमार यादवले ४ हजार ८०७ मत ल्याएका छन्।

वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले १३ हजार ८७८ मत ल्याएर अगाडि छन्। एमालेका विजयकुमार सरावगीले ७ हजार ३०० मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell