PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?



रासस

स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?

स्याङ्जाः स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन्।

पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो। त्यस्तै कालीगण्डकी, आँधीखोला, बिरुवा, हरिनाश, फेदीखोला गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा वालिङ नगरपालिकाकाका प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका हुन्।

गाउँपालिकामा एमाले बलियो र नगरपालिकामा कांग्रेस बलियो देखिएको छ। यसअघि एमालेले प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको पुतलीबजार नगरपालिकाको प्रमुख/उपप्रमुख यसपटक नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका तुल्सीराम रेग्मी प्रमुखमा र देवी अर्याल उपप्रमुखमा विजयी भएका हुन्।

२०७४ मा एमालेले जितेको गल्याङ नगरपालिकामा यसपटक नेपाली कांग्रेसले प्रमुख/उपप्रमुखमा जितेको हो। गल्याङमा कांग्रेसका तर्फबाट गुरुप्रसाद भट्टराईले नौ हजार २९ मत ल्याएर नगर प्रमुखमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद गैह्रे पारसले आठ हजार ९२२ मत पाए।

त्यस्तै नगर उपप्रमुखमा हेमा न्यौपाने नौ हजार ११८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी देवीसरा थापाले नौ हजार ५५ मत प्राप्त गरिन्।

त्यस्तै भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य छ हजार ५०४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी विश्वनाथ अर्यालले पाँच हजार ६६९ मत ल्याए। उपप्रमुखमा नेपाली कांग्रेसकै भगवती अर्याल सात हजार १९७ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी सरस्वती अधिकारीले चार हजार ९२८ मत प्राप्त गरिन्। भीरकोटमा कूल ४७ सिटमा नेपाली कांग्रेसले ४६ सिटमा जितेको थियो। चापाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देवबहादुर खाँण (ईश्वर) सात हजार ४९० मतसहित विजयी भएका छन्।

उनले एमालेका राजु कोइरालालाई पराजित गरी विजयी भएका हुन्। कोइरालाले छ हजार ५५५ मत ल्याए। उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना सात हजार ४१३ मतसहित विजयी हुँदा एमालेकी सृष्टि मल्लले छ हजार ३७६ मत प्राप्त गरिन्। त्यस्तै वालिङ नगरपालिकामा नेपाली कांग्रेसले उपप्रमुख जितेको छ। उपप्रमुखमा कांग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८२२ मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी खगिसरा थापाले १२ हजार ३४० मत प्राप्त गरिन्। थापा २०७४ को निर्वाचनमा पनि उपप्रमुखमै पराजित भएकी थिइन्।

अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारीले पाँच हजार २९१ मत ल्याएर विजयी हुँदै गर्दा प्रतिस्पर्धी चीनमाया गुरुङले तीन हजार ३४७ मत पाइन्। उपाध्यक्षमा कांग्रेसकै सपना गुरुङ चार हजार ८२७ मत ल्याएर विजयी भइन्। उनलाई पछ्याउँदै एमालेका टङ्कप्रसाद खनालले तीन हजार ७६७ मत पाए।

वालिङ नगरपालिकाको प्रमुखमा एमालेका कृष्ण खाँण विजयी भए। कांग्रेसका दिलीपप्रताप खाँणलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन्। विजयी खाँणले १३ हजार ७७६ मत ल्याएका हुन्। पराजित खाँणले ११ हजार ९९६ मत प्राप्त गरे।

कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा चार हजार ७६९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गरिन्। उपाध्यक्षमा एमालेकै सावित्रा कोइराला छ हजार २२३ मतसहित विजयी भइन्। कोइरालालाई पछ्याउँदै जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार ८३९ मत पाए।

त्यस्तै आँधीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका विश्व पौडेलले पाँच हजार १७७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कमलप्रसाद पौडेलले चार हजार ३५१ मत पाए। उपाध्यक्षमा एमालेकै सीता थापाले पाँच हजार २७३ मतसहित विजयी भइन्। पराजित उम्मेदवार एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत प्राप्त गरे।

बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका सूर्य कुँवरले चार हजार ८७२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै भगवती शर्माले चार हजार ९३७ मतसहित विजयी हुँदा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गरे।

हरिनाश गाउँपालिकाको अध्यक्षमा एमालेका खिमनारायण मानन्धरले चार हजार ७६९ मत ल्याएर विजयी हुँदै गर्दा उनलाई पछ्याउँदै नेपाली कांग्रेसका टोपबहादुर भुजेलले चार हजार ७३२ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी राना विजयी भइन्। विजयी रानाले चार हजार ७४० मत प्राप्त गरिन् भने प्रतिस्पर्धी माओवादी केन्द्रकी मिठु लम्सालले चार हजार ७१६ मत ल्याइन्।

फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी तीन हजार ८३६ मत ल्याएर विजयी भए। प्रतिस्पर्धी लक्ष्मीप्रसाद बरालले तीन हजार ७०४ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ तीन हजार ९७८ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले दुई हजार ३७९ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell