PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

चुनावमा मतपत्र छापिए तर छैनन् पर्याप्त पाठ्यपुस्तक : शैक्षिक सत्र सुरु गर्नै सकस



पहिलोपोस्ट

चुनावमा मतपत्र छापिए तर छैनन् पर्याप्त पाठ्यपुस्तक : शैक्षिक सत्र सुरु गर्नै सकस

काठमाडौं: सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ।

जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो। विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ। तर अहिलेसम्म पनि छपाई कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरुमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्यौलता छाएको छ। स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरु बताउँछन्।

अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरुको बुझाइ छ। विश्व निकेतन माध्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्राँइ गरेर लाखौँ बालबालिकाहरुको भविष्यमा अन्योल पैदा गरेको बताए। प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरु नछापिएकोले विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए। पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरुका पुस्तक मागेर नयाँ विद्यार्थीहरुलाई दिने योजना विद्यालयको योजना छ। तर नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरुलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने बताए।

शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरेपनि दूरदराजका क्षेत्रहरुमा यो उपाय सही साबित हुन सक्दैन। जसकारण पनि शिक्षविद्हरुले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरुले पाठ्यपुस्तक बिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन्। प्रधानाध्यापक कडेलले कक्षा ४, ७ र ९ को नयाँ किसिमको पाठ्यपुस्तकहरु लागू भएकोले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्यापन गराउन समस्या भएको बताए।

‘नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष जेठ ५ गतेबाट पठनपाठन शुरु गर्ने, वैशाख महिनाभर परीक्षा, नतिजा प्रकाशन, भर्ना प्रक्रियाहरु गर्ने भनेको थियो। हामीले जेठ ५ गतेदेखि नियमित पठनपाठन गर्ने योजना बनाएका थियौँ,' उनले भने, 'यसबेला पाठ्यपुस्तक छैन। जसकारण हामी सबै अन्योलमा छौँ। कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छैन।'

स्थानीय तहको निर्वाचनले गर्दा पनि पुस्तक छपाइ प्रभावित भएको उनको बुझाई छ।

'स्थानीय तहको जुन निर्वाचन भयो, त्यो निर्वाचनको लागि मतपत्र छपाइका कारणले हामीले पाठ्यपुस्तक छपाउन सकेनौँ, डेढ, दुई महिना ढिलो हुन्छ भनेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भनेको छ भनेर पुस्तक पसलेहरु भन्नुहुन्छ,' उनले भने, 'हामीले पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने भन्ने योजना बनाएका छौँ। तर विद्यार्थीहरुमा पाठ्य पुस्तकबिना कक्षामा पढ्नै सकिँदैन जस्तो भन्ने हाम्रो मानसिकता छ।'

अझ केही कक्षहरुमा नयाँ पाठ्यपुस्तक लागु गरिँदा समस्या भएको उनको तर्क छ।

'कक्षा ४, ७ र ९ को भने यसपालि नयाँ किसिमको पाठ्यपुस्तकहरु लागू भएको छ । त्यो बाहेकका अन्य कक्षाहरुमा अगाडि पढेका विद्यार्थीहरुको पुस्तक मागेर पठनपाठन गराउने सोच बनाएका छौँ,’ उनले भने।

प्रधानाध्यापक कडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाईमा हेलचेक्राँइ गरेको आरोप लगाए।

-न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell