बुटवल : रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ‘सिल’ तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित भएको छ। वडा नम्बर ११ को मत गणनाका क्रममा मतपेटिका सिलबन्दी तोडिएको भेटिएपछि मतगणना स्थगित भएको बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए।
मतपेटिका खोल्ने क्रममा सिल तोडिएको भेटिएपछि मतगणना रोकिएको उनले बताएका हुन्।
‘च’ बुथको दोस्रो बाक्साको लक तोडिएको अवस्थामा भेटिएको र मतपेटिका शिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमाले नेता दिननाथ भट्टराईले बताए।
१६ हजार मतदाता रहेको वडा नम्बर ११ मा साढे १० हजार मत खसेको छ। बुटवलमा अहिलेसम्मको मतपरिणाम अनुसार कांग्रेसको अग्रता छ।