PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गठबन्धनलाई हराउँदै मर्स्याङ्दी गाउँपालिका प्रमुखमा दोहोरिए एमालेका अर्जुन गुरुङ



रासस

गठबन्धनलाई हराउँदै मर्स्याङ्दी गाउँपालिका प्रमुखमा दोहोरिए एमालेका अर्जुन गुरुङ

लमजुङ : मनाङसँग सिमाना जोडिएको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्जुन गुरुङ निर्वाचित भएका छन्। सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ मतान्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे। यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका गुरुङ पुनः अध्यक्ष बन्न सफल भएका हुन्।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमाले-माओवादी केन्द्रको गठबन्धनबाट एमालेका गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९०२ मतले हराएका थिए। तर, अहिले कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनलाई पछि पार्दै एक्लै लडेको एमालेले मर्स्याङ्दीमा जित हासिल गरेको छ।

यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी जुनामाया थापाले गठबन्धनका उम्मेदवार अजय तामाङलाई एक हजार ८८५ मतअन्तरले पछि पार्दै विजयी भएकी छन्। उनले पाँच हजार ८९५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी तामाङले चार हजार १० मत प्राप्त गरे।

त्यस्तै, यस पालिकामा ९ वडा रहेकोमध्ये पाँच वडामा एमालेले जितेको छ भने ४ वडामा गठबन्धनतर्फबाट कांग्रेसले जितेको छ। एमालेका उम्मेदवारतर्फ वडा नम्बर १ मा रुद्रमान गुरुङ, वडा नम्बर २ मा चेतबहादुर गुरुङ, वडा नम्बर ३ मा दूतमान तामाङ, वडा नम्बर ७ मा तिलबहादुर गुरुङ र वडा नम्बर ८ मा धनसिंह तामाङ वडाअध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै, कांग्रेसबाट वडा नम्बर ४ मा बलबहादुर गुरुङ, वडा नम्बर ५ बाट घनश्याम घले, वडा नम्बर ६ बाट मीनराशी गुरुङ र वडा नम्बर ९ बाट हरिबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका छन्। यस गाउँपालिकामा १५ हजार १४० कुल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell