PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी



रासस

वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी

चन्द्रौटा : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा (एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ।

वाणगङ्गामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचन जितेका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे। दुवैबिच ६३९ मतको अन्तर छ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै रीता कुमारी चौधरी १९ हजार ३९८ मत ल्याई विजयी भएकी छिन्। उनको प्रतिस्पर्धी कांग्रेसकी तारावती कुमारी थारूले १८ हजार ४६४ मत प्राप्त गरि छ।

वाणगङ्गामा एमालेले नगरप्रमुख र उपप्रमुखसहित ६ वटा वडा जितेको छ। कांग्रेसले चार वडा र माओवादीले एउटा वडा जितेको छ।

कपिलवस्तुको नगरप्रमुखमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट सुदीप पौडेल निर्वाचित भएका छन्। पौडेलले ११ हजार ९०६ मत प्राप्त गरेका छन्। पौडेलले एमालेबाट प्रमुखको उम्मेदवार बनेका डा राजेश गुप्तालाई तीन हजार १२४ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। गुप्ताले ८ हजार ७८२ मत पाएका छन्।

त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित भएकी छन्। उनले ९ हजार ५७० मत प्राप्त गरी विजयी भएकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी तुलसा पाण्डेय गैरेले ९ हजार ३७९ मत प्राप्त गरेकी छन्। कपिलवस्तुका वडामा भने कांग्रेसले धेरै सिट जितेको छ।

वडा नम्बर ३ ,५, ८, १० र १२ मा कांग्रेसले जितेको छ। वडा नम्बर २, ४, ६ र ९ एमालेले जितेको छ। वडा नम्बर १, ११ र ७ मा जसपाले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell