रामपुर : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन। वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो।
मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए। निर्वाचन आयोगबाट मतगणना कार्य गर्न आदेश आए पनि दलहरु बिच विवाद हुँदा प्रक्रिया अगाडि बढ्न नसकेको उनको भनाइ छ।
खसेको मतभन्दा ७४ मत फर्जी भेटिएपछि विवाद भएको हो। यहाँ एक हजार ९२२ मत खसेको थियो। सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाइ पुनः मतदानको माग गरेका छन्। मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरी बिच झडपसमेत भएको थियो।
रम्भास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको विभिन्न चरणका बैठकले स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपनि सफल नभएको जनाइएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ।