
विराटनगर : विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन्। बिहीबार अपराह्नसम्म घोषणा गरिएको मतपरिणाम अनुसार कोइरालाले ४ हजार ९१९ मतले अग्रता कायम राखेका हुन्।
हालसम्म कोइरालाले १९ हजार ६२८ मत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १४ हजार ७०९ मत ल्याएका छन्।
तेस्रोमा स्वतन्त्र उम्मेदवार उमेश यादव छन्। उनले ६ हजार २५१ मतहासिल गरेका छन्।
त्यस्तै, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १६ हजार ९९४ मत ल्याएर आफ्नो अग्रता बनाइरहेकी छिन्। दोस्रोमा गठबन्धनका जनता समाजवादी पार्टीका उम्मेदवार अमरेन्द्र यादव छन्। उनले १० हजार २७ मतप्राप्त गरेका छन्।
त्यस्तै, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ४ हजार ५ सय ९१ मत ल्याएकी छन्।
विराटनगरका १९ वडामध्ये १, २, ७, १३, १४, १५, १६ १७, १८ र १९ नम्बर गरि १० वटाको मतगणना भइसकेको छ। जसमा एमालेले १, २, १४ र १९ नम्बर गरी ४ वटा तथा नेपाली कांग्रेसले ७, १५ र १६ नम्बर गरि तीनवटा वडामा वडाअध्यक्ष हातपारेको छ।
यसबाहेक १३ मा राप्रपा, १७ मा जसपा र १८ मा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका छन्।