PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

शहरी जनमतमा बढारिँदै एमालेः आवरण बहाना सत्ता गठबन्धन तर फुटको असर देखिँदै ब्यालेटमा



प्रकाश भण्डारी

शहरी जनमतमा बढारिँदै एमालेः आवरण बहाना सत्ता गठबन्धन तर फुटको असर देखिँदै ब्यालेटमा

काठमाडौँ: नेकपा (एमाले) ले २०७४ सालको स्थानीय तहको निर्वाचनमा २९४ पालिकामा जित निकालेको थियो। ४० प्रतिशतभन्दा बढी मत एमालेको पोल्टामा पर्दा राजनीतिक समीकरण भने खासै फरक थिएन त्यति बेला। अहिले जस्तै एमाले प्रतिपक्षमै थियो, सत्तामा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गरेका थिए। तर, सबैभन्दा धेरै ठाउँमा चुनाव जितेर आफूलाई पहिलो शक्तिका रूपमा एमालेले स्थापित गर्‍यो। एमाले स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्दा कांग्रेस-मा‌ओवादी गठबन्धनले त्यति सफलता पाएन। राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' लगायतका दलसँग एमालेले त्यति बेला पनि तालमेल नगरेको होइन जसरी अहिले पनि एमालेले ठाउँ विशेषमा गठबन्धन गरेको छ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा ६ महानगर र ११ उपमहानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवारसँग एमालेले प्रतिस्पर्धा गर्‍यो। अधिकांश ठाउँमा भने सत्ता घटक दलको गठबन्धन बन्न सकेन।

पराजयको कारणबारे औपचारिक रूपमै छलफल थालिनसकेको एमालेले प्रारम्भिक नतिजाका आधारमा प्रतिक्रिया भने दिइरहेको छ। मतगणनामा पछि परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘धाँधली’भएको आरोप लगाएका थिए, विज्ञप्तिमार्फत। एमालेले हारको कारण भने सत्ता गठबन्धन भएको बहाना बनाएको छ।

आवरणमा एमालेले हारलाई दलविरुद्धको गठबन्धन देखाएको छ। तर मत परिणामको तथ्य फरक छ। केही ठाउँमा गठबन्धनकै कारण एमाले हारे पनि दल विभाजन मुख्य कारण रहेको जवाफ ब्यालेटले दिएको छ।

यसमा पनि शहरी क्षेत्रमा एमालेले भोगिरहेको पराजयको कारण सत्ता गठबन्धन र दल विभाजन मात्रै सीमित छैन। यसको कारण केपी ओली नेतृत्वको सरकार हुँदै प्रतिनिधिसभा विघटनसम्म जोडिन्छ। कोरोनाको मध्य कहरको सत्ता छिनाझम्टीको जवाफ पनि मतदाताले ब्यालेटमार्फत दिएका छन्।  

+++

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै एमाले बनेपछि एमाले पनि विभाजित भयो। तत्कालीन वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरे। एमालेले एकीकृत समाजवादीका कारण आफ्नो पार्टीलाई चुनावमा कुनै असर नै नहुने बताए पनि निर्वाचनको नतिजाले भने त्यो पुष्टि गर्दैन। बरु गठबन्धनले भन्दा पार्टी विभाजनले एमालेलाई नमिठो हार चखाइदिएको छ। अहिलेसम्मको परिणाम अनुसार एमाले १६४ पालिका जितेर दोस्रो स्थानमा छ। कांग्रेस २५८ पालिका जितेर पहिलो हुँदा १०५ पालिका जितेर तेस्रो स्थानमा छ नेकपा माओवादी केन्द्र। यस पटक एमालेलाई २०७४ सालमा जितेको २९४ पालिका जित्न मुस्किल त छ नै जितको आँकडा २ सय कटाउनै मुस्किल हुने देखिन्छ हालसम्मको चुनावको परिणाम अनुसार।

शहरी क्षेत्रबाट बढारियो एमाले

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले काठमाडौँ महानगरमा मेयरसहित ३२ वटा वडामध्ये १७ मा जित निकालेर बहुमत कायम गरेको थियो। तर, यस पटक काठमाडौँ महानगर प्रमुखमा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँगको प्रतिस्पर्धामा सुरुवातदेखिनै पछि परेका छन्। काठमाडौँका अरू नगरपालिकाहरूमा पनि एमाले अधिकांश ठाउँमा पराजित भएको छ।

२०७४ सालमा काठमाडौँ महानगरसहित काठमाडौँका ११ वटा स्थानीय तहमध्ये ७ वटामा एमालेले प्रमुखमा जितेको थियो भने ४ वटामा मात्रै नेपाली कांग्रेसले मेयर जितेको थियो। तर, अहिलेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले एमालेको गढ भत्काएको छ। जस्तै, कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले लामो समयसम्मको कम्युनिस्ट पार्टीहरूको दबदबालाई तोडेर जीत निकालेको छ।

यस पटकको निर्वाचनमा हालसम्म मत गणना सकिएका ९ स्थानीय तहमध्ये अधिकांशमा कांग्रेस जितेको छ भने आक्कलझुक्कल मात्रै एमालेले जीत निकालेको छ। काठमाडौँमा ९ मध्ये ६ ठाउँमा कांग्रेसले जितेको छ भने एमालेको भागमा २ स्थानीय तहमात्रै छन्। एक ठाउँमा राप्रपाले जितेको छ। काठमाडौँ महानगरमा पनि एमालेका उम्मेदवार पछि परेका छन् भने चन्द्रागिरि नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिँदा एमाले पछि परेको छ।

ललितपुरका ६ स्थानीय तह मध्ये ५ वटाको नतिजा आउँदा एमालेले जम्मा २ स्थानीय तहमा मात्रै जितेको छ। कांग्रेसले ३ ठाउँमा जितेको छ भने ललितपुर महानगरपालिकामा पनि एमालेका उम्मेदवारभन्दा कांग्रेसका उम्मेदवार दोब्बर मतले अघि छन्। त्यसैले त्यहाँ पनि एमाले पराजित हुने सम्भावना छ। ललितपुरका स्थानीय तहमा कांग्रेसले अहिले किल्ला जमाउँदा २०७४ सालको स्थानीय तह निर्वाचनमा भने एमाले कांग्रेस बराबरी अवस्थामा थिए। ६ स्थानीय तहमध्ये ३ वटामा कांग्रेस र ३ वटामा एमालेले चुनाव जितेका थिए।

मोफसलमा पनि एमाले नाजुक

काठमाडौँ बाहिरका शहरी क्षेत्रमा पनि एमालेले कमजोर उपस्थिति देखिएको छ। उपत्यकाबाहिरका ४ महानगरमा पनि एमालेले कुनै पनि अग्रता लिन सकिरहेको छैन। चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार विजय सुवेदी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालसँग पछि परेका छन्। पोखरा महानगरमा पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग एमालेका उम्मेदवार कृष्ण थापा पछि परेका छन्।

विराटनगर महानगरमा पनि कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता बढाउँदा एमालेका उम्मेदवार सागरकुमार थापा पछि परेका छन्। वीरगंज महानगरमा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार राजेशमान सिंहले एमालेका उम्मेदवार विजय सरावगीलाई दोब्बर मतले पछि पारेका छन्।

उपमहानगरमा एमाले अहिले कस्तो होला?

११ उपमहानगर मध्ये एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा ७ वटामा जित निकालेको थियो। इटहरी, धरान, हेटौँडा, जीतपुर सिमरा, बुटवल, तुल्सीपुर र घोराहीमा एमालेले जितेको थियो। कांग्रेसले दुई उपमहानगर धनगढी र कलैयामा मात्रै जितेको थियो भने तत्कालीन राष्ट्रिय जनता पार्टी 'राजपा'ले एक ठाउँ, जनकपुरधाम उपमहानगरमा जितेको थियो।

तर, अहिले भने एमाले उपमहानगरमा पनि कमजोर देखिएको छ। एमालेका उम्मेदवार अधिकांश उपमहानगरको प्रमुख पदमा पनि पछि परेका छन्। इटहरीमा कांग्रेसका हेम कर्णले अग्रता लिएका छन् भने धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता लिँदा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन्।

जनकपुरमा पनि स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता लिँदा एमालेका उम्मेदवार शिवशंकर साह दोस्रो स्थानमा छन्। हेटौँडामा एकीकृत समाजवादीकी मीनाकुमारी लामा अग्रस्थानमा छन् भने एमालेका उम्मेदवार अनन्त पौडेल दोस्रोमा छन्। बाराको कलैयामा भने एमालेका उम्मेदवार विनोद प्रसाद साहाले अग्रता लिएका छन्। जितपुर सिमरामा एमालेकी उम्मेदवार पराजित भइसकेकी छिन।

बुटवलमा बाबुराम भट्टराई दोस्रो स्थानमा हुँदा तुल्सीपुरमा टीकाराम खड्का दोस्रो स्थानमै छन्।

घोराहीमा एमालेका नरुलाल चौधरीले जितेका छन्। नेपालगंजमा एमालेका पशुपति दयाल मिश्र दोस्रो स्थानमा छन् भने धनगढीमा पनि एमालेका रणबहादुर चन्द तेस्रो स्थानमा छन्।

एकीकृत समाजवादीका कारण हार्दै छ एमाले

एमालेले सत्ता गठबन्धनलाई दोष देखाएर एमाले पराजित भइरहेको बताए पनि अधिकांश ठाउँमा एमाले पराजित एकीकृत समाजवादीका कारण भएको छ।

जस्तै, काठमाडौँको तारकेश्वरमा एमालेले आफ्नो पुरानो साख जोगाउन सकेन। एमालेका उम्मेदवार ७ हजार ८०८ मत ल्याएर दोस्रो हुँदा कांग्रेसले मेयरमा जित्यो। एकीकृत समाजवादीका उम्मेदवार लवकुमार बस्नेतले २ हजार ५२८ मत ल्याए। एमाले विभाजित नभएको भए तारकेश्वरमा कांग्रेसलाई जित्न मुस्किल हुने थियो। किनभने एकीकृत समाजवादीका उम्मेदवारले ल्याएको मतले पनि यसको पुष्टि गर्छ।

कागेश्वरी मनोहरा नगरपालिकामा पनि एमालेका उम्मेदवार रामशरण ढुंगानाको ७६८१ र एकीकृत समाजवादीका उम्मेदवार कृष्णहरि थापाको ३११६ मत जोड्दा कांग्रेसबाट निर्वाचित उपेन्द्र कार्कीको १०४६७ भन्दा बढी हुन्छ। एमाले विभाजित नभएको भए आफ्नो पुरानो गढ कागेश्वरीमा एमाले पराजित हुने थिएन। काठमाडौंसहित उपत्यकाका नगरपालिका र धेरै पहाडी जिल्लामा समाजवादीको उम्मेदवार उठाइएका स्थानमा एमाले थोरैमात्र मतान्तरले पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell