PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमाले अध्यक्ष ओलीको गृह जिल्लाका १५ पालिकामा कुन कुन दलले जिते र जित्दैछन्?



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीको गृह जिल्लाका १५ पालिकामा कुन कुन दलले जिते र जित्दैछन्?

काठमाडौँः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा स्थानीय तह निर्वाचनमा चासोको साथ हेरिएको छ। त्यसो त अध्यक्ष ओली मात्र नभएर राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलको पनि गृह जिल्लामा पर्छ। कांग्रेसका चर्चित नेता कृष्ण सिटौला र युवा नेता  तथा महामन्त्री विश्वप्रकाश शर्माको जिल्ला भएकाले पनि चासोको केन्द्रमा झापा छ।

१५ वटा पालिकामध्ये अहिलेसम्म ६ वटा पालिकाको मात्र मत परिणाम आइसकेको छ। बाँकी जिल्लामा मतगणना जारी नै रहेको छ। हल्दीबारी, भद्रपुर, बाह्रदशी, झापा,कचनकवल र कन्काई पालिकाको अन्तिम मत परिणाम आइसकेको हो।

झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाका उम्मेदवार रवीन्द्रप्रसाद लिङदेल विजयी भएका छन्। उनले ६ हजार ८५६ मत ल्याउँदा एमालेका उम्मेदवार डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत ल्याएका हुन्। झापाको शहरी क्षेत्रमा पर्ने भद्रपुरमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार गणेश पोखरेलले  १२ हजार ५२५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्न्दी एमालेका असारु राजवंशीले ९ हजार ७५९ मत ल्याएका छन्।

कुनै समयमा राप्रपाको पकड क्षेत्र भनिएको बाह्रदशी नगरपालिकामा एमालेका उम्मेदवारले जित निकालेका छन्। देवीप्रसाद चौलागाईंले  ७ हजार १४८ मत ल्याउँदै विजयी भएका हुन्। कांग्रेसका उम्मेदवार खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत ल्याएका छन्।

उता झापा गाउँपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवार जयनारायण साहले ६ हजार ९९८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका गौरीशंकर राजंवशीले ४ हजार ३६५ मत ल्याएका हुन्। कन्काइ नगरपालिकामा भने एमालेका उम्मेदवार विजयी भएका छन्। राजेन्द्रकुमार पोखरेलले ८ हजार ६७३ मत ल्याउँदा कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत ल्याएका हुन्।

झापाको कचनकवल गाउँपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कालेन्द्रप्रसाद सिंह राजवंशीले ११ हजार ४५७ मत ल्याएका हुन्। त्यस्तै राप्रपाका उम्मेदवार अन्जार आलमले ६ हजार ६६७ मत ल्याएका छन्।

त्यस्तै झापाको पालिकामध्ये धरैको चासो भएको दमक नगरपालिकामा भने मतगणना जारी रहेको छ। राप्रपाका उम्मेदवार रामकुमार थापा अगाडि देखिएका छन्। उनले १४ हजार ५ सय ७० मत ल्याउँदा एमालेकी उम्मेदवार गीता अधिकारीले १३ हजार ७०० मत ल्याएकी छिन्।

गौरादह नगरपालिकामा भने एमालेका उम्मेदवार छत्रपति सुवेदी अगाडि छन्। उनलाई कांग्रेसका उम्मेदवार रोहित साहले पछ्यारहेका छन्। शिवसताक्षी नगरपालिकामा पनि एमालेका उम्मेदवार मेगाहाङ थापा अगाडि देखिएका छन्। उनले ६ हजार ३१६ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार पर्शुराम ढुंगानाले ४ हजार ५८३ मत पाएका छन्। मेचीनगर नगरपालिकामा पनि एमालेका उम्मेदवारले नै अग्रता लिएका छन्। अर्जुनधारा नगरपालिका पनि एमालेका उम्मेदवार नै अगाडि देखिएका छन्।

बुद्धशान्ति नगरपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवार मनोज प्रसाईं १० हजार ५ मतसहित अगाडि देखिएका छन्। उनलाई एमालेकी मीरा भुर्तेलले ७ हजार २०८ मत पाएर पछ्याइरहेकी छिन्। गौरीगंज नगरपालिका पनि कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन्। कमल गाउँपालिका पनि कांग्रेसका उम्मेदवार हुकुमसिंह राई ५ हजार ३३८ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका उम्मेदवार भीमप्रसाद राईले ४ हजार ११९ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell