PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गोरखामा सिंगल भिड्दा कांग्रेसको बेहाल : किन भएन गठबन्धन?



नेत्र तामाङ

गोरखामा सिंगल भिड्दा कांग्रेसको बेहाल : किन भएन गठबन्धन?

काठमाडौँ : २०७४ सालको स्थानीय तह निर्वाचन परिणाम हेर्ने हो भने गोरखामा रहेका ११ तहमध्ये ९ तहमा पकड जमाएको थियो नेपाली कांग्रेसले। बाँकी दुई तहमा मात्र नेकपा (माओवादी केन्द्र) ले जितेको थियो।

यस पटकको स्थानीय तहको नतिजा उल्टिएको छ। सामाजिक सञ्जालमा एउटा ट्रोल चल्न थालेको छ : पहिले न्याय नपाए गोर्खा जानु भन्थे, अहिले माओवादी नपाए गोर्खा जानु भन्छन्।

यसबाट प्रष्ट हुन्छ - गोरखामा कांग्रेस कमजोर भयो, माओवादी बलियो।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यस पटक देशभर आफ्नो पक्षमा माहोल बनाइरहँदा गोरखाका महत्वपूर्ण स्थानीय तह गुमाएको छ। गठबन्धनका लागि प्रयास हुँदा पनि सफल हुन नसकेपछि गोरखामा एक्लिएको कांग्रेस ९ बाट २ पालिकामा सीमित भएको हो। ठिक उल्टो माओवादीले भने २ बाट ९ पालिकामा पकड बनाएको छ।

यी ७ स्थानीय तह जुन गुमायो कांग्रेसले

भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लोकप्रसाद बन्जारा विजयी भएका छन्। ५ हजार ६५१ मत पाएर बन्जारा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेससँग पराजित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोशन गुरूङले ५ हजार १७६ मत पाए। 

उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार अमृतादेवी वस्ती भट्टले ५ हजार १४७ मतसहित विजयी भएकी छिन्। यस गाउँपालिकामा गत स्थानीय निर्वाचनमा कांग्रेसका ईश्वर पाण्डे निर्वाचित भएका थिए। त्यतिबेला उपाध्यक्ष भने कांग्रेसकी विनु वाग्ले निर्वाचित भएकी थिइन्।

धार्चे गाउँपालिकामा यसपटक ३ हजार ७७१ मत पाउँदै माओवादीका लक्ष्मण गुरुङ निर्वाचित भएका छन्। यसअघि अध्यक्ष जितेका कांग्रेसका सन्तबहादुर गुरुङले एक हजार ९४६ मतमात्रै पाए। अध्यक्षमात्र होइन, उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार फूलमाया गुरुङ पनि पराजित भइन्। माओवादीकी सुनिता गुरुङले ३ हजार ७७९ मत पाउँदा फूलमायाले एक हजार ९७६ मतमात्रै पाइन्। फूलमाया यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ। अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन्। देवकोटाले ३ हजार ७८७ मत ल्याए। उनका प्रत्यासी उम्मेदवार कांग्रेसका गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याए। उपाध्यक्षमा विजयी भुजेलले ३ हजार ५३२ मत ल्याएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार इन्द्र गुरुङले ३ हजार ३६१ मत ल्याएकी छन्। यसअघि अजिरकोटको अध्यक्षमा कांग्रेसका फणिन्द्रप्रसाद धिताल निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दिपक देवकोटा रहेका थिए।

उपाध्यक्षमा कांग्रेसकी चन्द्रमाया गुरुङ निर्वाचित भएकी थिइन्।

गण्डकी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दिपक तिमिल्सिना ६ हजार ३२६ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका होमबहादुर रानाले ४ हजार ६५५ मत पाएका छन्। राना यसअघिको निर्वाचनमा पालिका अध्यक्ष निर्वाचित भएका थिए। २०७४ मा पराजित माओवादीका तिमिल्सिनाले यसपटक बदला लिएका हुन्। उपाध्यक्षमा नेपाली कांग्रसकी ललिता अधिकारी निर्वाचित भएकी छन्। अधिकारी यसअघि पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

गोरखा नगरपालिकामा निवर्तमान मेयर राजनराज पन्तलाई हराउँदै नेकपा (माओवादी केन्द्र) का कृष्ण रानामगर निर्वाचित भएका छन्। २०७४ को स्थानीय निर्वाचनमा रानाले पन्तलाई ६ हजार ५६० मतका हराएका थिए भने पराजित बनेका रानाले ५ हजार २६ मत पाएका थिए।

पालुङटार नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ। जनता समाजवादी पार्टी -नेकपा एमाले गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका उम्मेदवार यहाँ मेयर र उपमेयरमा विजयी भएका हुन्।

नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६ हजार ७२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङ बने। उनले ५ हजार ७१७ मत ल्याए। यो जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको गृहपालिका हो। 

यहाँ निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका दीपकबाबु कँडेल तेस्रो भए। उनले ४ हजार ९९७ मत पाए।

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन्।

चुमनुब्रीमा माओवादी केन्द्रका निमा लामा निर्वाचित भएका छन्। चुमनुब्रीमा यसअघि कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका थिए। उनै गुरुङलाई हराउँदै माओवादीका लामा चुमनुब्रीको अध्यक्षमा निर्वाचित भएका हुन्।

दुई पालिका माओवादीको यथावत

शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेशबाबु थापामगरले ५४७४ मत पाउँदै जित हात पारेका छन्। दोस्रो बनेका कांग्रेसका नारायणप्रसाद लामिछानेले ४ हजार ४३२ मत पाए। उपाध्यक्षमा पनि माओवादीबाट इन्दिरा तिवारीले ४ हजार ९९६ मत पाएर जितिन्। कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत पाएन्।

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका छन्। भट्टले ५ हजार ७१९ मत ल्याएका छन्। भट्ट यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर घलेले ४ हजार ८६४ मत ल्याए। उपाध्यक्षमा नेकपा माओवादीबाट सनमाया गुरुङ ५ हजार ७६५ मत ल्याएर निर्वाचित भएकी छन्। भट्ट र गुरुङ दोस्रो कार्यकालयका लागि निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेखमाया रानाले ४ हजार ५७५ मत पाइन्।

कांग्रेसले जोगाएको गाउँपालिका

आरुघाट गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षमा कांग्रेसकै कल्पना नेपाली विजयी भएका छन्। अध्यक्षमा गुरुङ ५ हजार ५५६ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा नेपालीले ५ हजार ६३१ मत ल्याएकी छन्। अध्यक्षका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्णबहादुर नेपाली ४ हजार ८३३ मत ल्याएका थिए। यो कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको गृह पालिका हो। यहाँ अघिल्लो निर्वाचनमा पनि कांग्रेसका पूर्णबहादुर दाहाल निर्वाचित भएका थिए। उपाध्यक्षका कांग्रेसकी कल्पना नेपाली जितेकी थिइन्।

सिरानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ज्ञानेन्द्र गुरुङ निर्वाचित भएका छन्। उनले ५ हजार ४०३ मत ल्याउँदा माओवादीका नवराज पुडासैनीले ४ हजार १६८ मत पाए। सिरानचोकमा यसअघि कांग्रेसका राजु गुरुङ निर्वाचित भएका थिए।

कांग्रेस किन कमजोर भयो गोरखामा ?

देशभर गठबन्धन गरेर चुनावमा उत्रँदा गोरखामा कांग्रेस ‘सिंगल’ उत्रियो चुनावी मैदानमा। त्यसै कारण कांग्रेस कमजोर भएको कतिपयको दाबी छ। तर गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने यसमा सहमत छैनन्।

गठबन्धनका लागि अधिकतम प्रयास गर्दा माओवादी र जसपाले नमानेपछि कार्यकर्ताको निर्देशन अनुरुप एकल प्रतिस्पर्धामा उत्रेको न्यौपानेले बताए। ‘कांग्रेसलेले लचकता देखाएकै हो तालमेलका लागि। ७-४ मा हामीले मिलाउन खोजेकै हो। तर जसपाले सुरुबाटै एमालेसँग एकता गरेर जाने भनेको थियो। माओवादीले पनि मानेन। माओवादीले कतै जसपाको सपोर्ट लियो। कतै एमालेको सपोर्ट लियो,’ सभापति न्यौपानले भने, ‘त्यसपछि आम कार्यकर्ताले सिंगल जाने भन्ने कुरा आयो।’

कार्यकर्ताले इमानदारिता अपनाएको भए परिणाम अनपेक्षित नआउने उनको धारणा छ। ‘सबै खटेको भए जित्नुपर्ने हो नि,’ न्यौपानेले भने।

कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ पनि माओवादी र जसपाले गठबन्धन तोडेर एमालेसँग तालमेल गरेकोले परिणाम अनपेक्षित आएको स्वीकार्छन्। पालुङटारदेखि अरु स्थानमा गठबन्धन गर्न खोज्दा माओवादी र जसपाले सहमति नगरेको श्रेष्ठले आरोप लगाए।

टिकट वितरणमा असन्तुष्टि पो हो कि?

गोरखाका स्थानीय तहमा टिकट वितरणमा चलखेल भएको आरोपसमेत लागेको छ। भूगोल र जातीयता नमिलाई टिकट वितरण गर्दा नेता कार्यकर्ता असन्तुष्ट भएको बताइएको छ।

पालुङटारमै सुरुमा विश्वदेव श्रेष्ठको नाममा निर्णय भएको थियो। तर उनको नाम अन्तिम समयमा हटाएर निवर्तमान मेयर राजनको नाम तोकेपछि बजार क्षेत्रका कांग्रेसजन रुष्ट भएको बताइएको छ।

पालुङटारमा कांग्रेसले निवर्तमान मेयर दीपक कँडेलको नाममा सहमति गरी उम्मेदवारी दर्ता गरिएको थियो। तर जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर पालुङटार आफ्नो पार्टीलाई छाड्न आग्रह गरेपछि कांग्रेसले कँडेलको नाम फिर्ता गर्ने निर्णय गरेको थियो। तर गोरखामा जसपाले माओवादीलाई सघाउने देखिएको भन्दै पालुङटारका कांग्रेसले केन्द्रको निर्देशन स्वीकारेनन्।

तर केन्द्रीय निर्देशन जसपाले नमानेको उनले कांग्रेसको आरोप छ। ‘जसपासँग पालुङटारमा एकता गरेको थियो। केन्द्रले निर्देशन गरिसकेपछि पालुङटारको मेयरमा हामीले सहयोग गर्ने उपमेयरमा हामीलाई सहयोग गर्ने। गोरखामा कांग्रेसलाई जसपाले सहयोग गर्ने भनेको थियो केन्द्रको। पछि जसपाले त्यसको विपरीत गोरखा नगरपालिकामा माओवादी र जसपा तालमेल गरेर जाने भइसकेपछि उहाँहरुले ब्रेक गर्न सक्नु भएन,’ कांग्रेस जिल्ला सभापति न्यौपानेले भने।

त्यसपछि कँडेलको उम्मेदवारी कायम भयो। पछि आएर जसपा र एमालेबीच तालमेल भएको भयो। तर, गठबन्धनका उम्मेदवार पनि पराजित बने। कांग्रेसका कँडेल भने पार्टीभित्रको आन्तरिक द्वन्द्वकै कारण उनी पराजित बनेको बताइन्छ।

पालुङटारको नतिजा आफ्नो पक्षमा नआउने देखिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ आरोप लगाएका थिए।

प्रतिनिधि सभाको जेठ ३ गते बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले भनेका थिए, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो। तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन।’

तर बाबुरामकै बेइमानीले गठबन्धन हुन नसकेको कांग्रेसका एक स्थानीय नेताले दाबी गरे। ‘जसपा नै एमालेसँग मिल्यो। अनि बाबुरामले माथि पुगेर त्यस्तो कुरा गर्नेरु’ पालुङटारका एक कांग्रेस नेताले भने।

टिकट वितरण एउटा प्रक्रिया भएकोले यसमा असन्तुष्टि मान्नुपर्ने कुनै कारण नरहेको सभापति न्यौपानले बताउँछन्।

‘पात्रमा असहमति भए पनि पार्टी हेरेर पवित्र सोचेको भए धेरैमा हाम्रोमा आउँथ्यो। हामी बलियो भएको ठाउँमै हामी हारिरहेका छौं। यो त प्रक्रिया हो। यो केन्द्रदेखि वडासम्मको हात हुन्छ। इच्छा जाहेर गरेकै साथीबाट छान्ने हो। यसमा जात क्षेत्र भन्ने हुन्न। यो त आइडोलोजीबाट गर्ने हो,’ न्यौपानले भने।

कांग्रेस हार्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको न्यौपाने बताउँछन्। ‘हारेको ठाउँमा कांग्रेसको मतान्तर धेरै छैन,’ उनले भने, ‘एउटा निर्वाचनमा हारिँदैमा आत्तिनुपर्ने र जित्दैमा मात्तिनुपर्ने अवस्था सिर्जना गर्न हुँदैन। यसलाई सहज तरिकाले लिनुपर्छ।’

२०७४ सालमा नयाँ शक्तिको कारण कांग्रेस बलियो भएको माओवादी पक्षको तर्क छ।

‘त्यतिबेला माओवादीको मत नयाँ शक्तिले काटेको थियो। नयाँ शक्ति जसरी पनि माओवादी हराउने अभियानमा थियो। त्यसैले पनि कांग्रेस बलियो भएको हो त्यतिबेला,’ माओवादीका एक नेताले भने, ‘अहिले जसपाले पनि माओवादीलाई मत हालेको छ। कतिपय जसपा माओवादी फर्किरहेको छ। त्यसैले माओवादी बलियो भएको हो।’ त्यसो त कांग्रेसकै कारण गठबन्धन नभएको माओवादीका ती नेताले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell