PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकै किल्लामा कसरी गुम्यो कांग्रेसको विरासत



पी बी खड्का

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकै किल्लामा कसरी गुम्यो कांग्रेसको विरासत

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस कमजोर सावित भएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस एक्लैले जिल्लाका ६ वटा पालिकाको नेतृत्व गरेको थियो। तर, यसपटक चुनावी तालमेल गर्दा पनि कांग्रेस चारवटा पालिकामा झरेको छ। पार्टीकै किल्लाका रुपमा रहेको भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिकाको प्रमुख उपप्रमुख दुवै कांग्रेसले गुमायो।

अघिल्लो निर्वाचनमा कांग्रेसले प्रदेशको राजधानी वीरेन्द्रनगरसहित भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका, बराहताल र चिंगाड गाउँपालिकाको नेतृत्व सम्हालेको थियो। गुर्भाकाट र पञ्चपुरी नगरपालिका बाहेक सबै पालिकाको नेतृत्व कांग्रेसले गुमाएको छ।

कर्णालीकै मुटुका रुपमा रहेको वीरेन्द्रनगरमा २०७४ को निर्वाचनमा प्रमुख पदमा निर्वाचित बनेको थियो। तर, यसपटक भने न प्रमुख पद, न उपप्रमुख। दुवै पदमा नेकपा एमालेले जित निकालेको छ। वीरेन्द्रनगर यस्तो पालिकाको हो जहाँ कांग्रेसका शक्तिशाली नेताहरु छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीको बसोवास रहेको यस पालिकामा कांग्रेसले आफ्नो विरासत जोगाउन पूर्ण रुपमा असफल रह्यो।

गठबन्धन गर्दा पनि पराजित कांग्रेस

अघिल्लो निर्वाचनमा कांग्रेस सुर्खेत एक्लैले ६ वटा पालिकाको नेतृत्व लिएको थियो। तर, यसपटक भने कतै नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल त कतै नेकपा एकीकृत समाजवादीसँगको तालमेल गर्दा पनि अधिकांश पालिकामा नराम्रोसँग हार बेहोरेको छ कांग्रेसले। माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको प्रदेशकै राजधानी वीरेन्द्रनगरमा काँग्रेसले हार ब्यहोर्न पर्‍यो। प्रमुख पद कांग्रेसको भागमा र उपप्रमुख माओवादीको भागमा थियो तर, दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

पालिकाको १६ वटा वडामध्ये नगरप्रमुख, उपप्रमुख र ११ वडा वडा एमालेले आफ्नो कब्जामा राख्यो। कांग्रेस भने ५ वटा वडामा चित्त बुझाएको छ। जुन कांग्रेसको जनाधार भएको पालिका हो।

त्यस्तै, अघिल्लो पटक कांग्रेस एक्लैले प्रमुख, उपप्रमुख जितेको, अहिले माओवादीसँग तालमेल गरेको पालिका भेरीगंगा पनि हो। तर, यो पालिकामा मेयर उपमेयरसहित वडामा कमजोर सावित भयो।

एमालेले खोसेको अर्को पालिका हो चिंगाड गाँउपालिका। जहाँ कांग्रेसको विरासत भएको पालिका यसपटक भने एमालेले अध्यक्ष, उपाध्यक्षसहित पालिकाका वडाहरु आफ्नो कब्जामा लियो।

उपसभापति खड्काको निर्वाचन क्षेत्रमै गुम्यो विरासत

कांग्रेस उपसभापति खड्का कांग्रेसमा प्रभावशाली नेताका रुपमा चिनिन्छन्। पार्टीभित्रका गतिविधि होस् या सरकारका गतिविधि, उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। पद र शक्तिमा रहेकै बेला उपसभापति खड्काको निर्वाचन क्षेत्रमै विरासत गुमेको छ। उनकै निर्वाचन क्षेत्र अन्तर्गतका दुईवटा पालिकाको सिंगो नेतृत्व गुमाएको छ। जब कि यी पालिकामा अघिल्लो निर्वाचनमा कांग्रेसले विरासत जमाएको थियो।

खड्काले चुनाव लड्ने निर्वाचन क्षेत्रमध्ये कांग्रेसको बलियो जनाधार भएको भेरीगंगा र चिंगाड गाँउपालिका सहजै एमालेले खोस्यो। अझ भेरीगंगामा त माओवादीसँग तालमेल थियो।

गुर्भाकोटमा विरासत कायम राखे पनि मत परिणाम भने घटेको स्थानीयको भनाई छ। सिम्ता गाउँपालिका भने एमालेको कब्जामा छ।

खड्का पछिल्लो समय निर्वाचन क्षेत्रभन्दा पनि केन्द्रीय राजनीतिमा शक्ति आर्जन गर्न व्यस्त रहँदा आफ्नो जनधार भएका पालिका गुमाएको उनी निकटस्थहरु बताउँछन्।

यद्यपि, एकीकृत समाजवादीसँग तालमेल गरेको लेकबेशीमा भने कांग्रेसलाई फलिफाप भएको छ। लेकबेशीमा मेयर पद कांग्रेसले हत्याएको छ। उप प्रमुख भने एमालेको पोल्टामा गयो। अघिल्लो पटक मेयर, उप प्रमुख सहित वडाहरुमा एमालेको बर्चस्व थियो।

यसकारण भयो सुर्खेतमा कांग्रेस कमजोर

केन्द्रीय नेतृत्वमा जस्तै सुर्खेतमा पनि कांग्रेसभित्र दुईवटा गुट छन्। उपसभापति खड्का र नेता शेखर कोइराला पक्षका सुर्खेतमा नेता हृदयराम थानी आ आफ्नै गुटमा सक्रिय छन्।

विशेषगरी महाधिवेशनमा उपसभापति खड्का पक्षले थानी गुटलाई पाखा लगाएसँगै पार्टीभित्र एकखाले द्वन्द्व कायम छ। खड्का पक्षले महाधिवेशनमा मात्रै होइन, स्थानीय तहमा उम्मेदवारी दिँदासम्म एकलौटी भयो।

थानी गुटले महाधिवेशनसँगै उम्मेदवारीमा समेत आफ्नो पक्षलाई मिलाएर लैजान दबाब दिइरहेको थियो। तर, खड्का पक्षले पेलेर गयो, थानी गुटलाई पूरै नजरअन्दाज गर्‍यो। जसले गर्दा पनि यो समूह पूरै असन्तुष्ट रह्यो।

थानी समुहले महाधिवेशनदेखि उम्मेदवारी दिनेसम्म ४० प्रतिशत आफ्नो पक्षले पाउनुपर्ने माग गरिरहेको थियो। तर, खड्का पक्ष पेलेरै जाने मुडमा देखियो। वीरेन्द्रनगरको मेयर पदमा उम्मेदवारी दिएको थानी पक्षलाई खड्का समुहले कुनै पद नदिने छनक पाएसँगै उम्मेदवारी नै फिर्ता लियो। त्यसपछि कुनै पदमा उम्मेदवारी दिएन थानी पक्षले। आगामी रणनीतिका विषयमा उल्टै गुटको भेला चाहिँ चलिरह्यो।

खड्का समुहले उम्मेदवार टुङ्ग्याएर चुनाव प्रचार प्रसारमा जुट्यो। गठबन्धन भएपछि चुनाव जित्ने 'ओभर कन्फिडेन्स'मा रहेको खड्का पक्षले थानी समुहलाई बेवास्ता गरेको थानी समुहको आरोप छ।

खड्का पक्षले थानी गुटलाई असन्तुष्ट त बनायो बनायो, आफ्नै पक्षका नेता कार्यकर्तालाई थामथुम पार्न सकेन। गुट भित्रै पनि असन्तुष्टि बढिरह्यो।

थानी गुट र खड्का पक्षले आफ्नै गुटका कार्यकर्तालाई रिजाउन नसक्दा यसको असर जिल्लाको तल्लो तहसम्म पुग्यो। जसले गर्दा पनि कांग्रेस वीरेन्द्रनगरमा मात्रै होईन, जिल्ला भरि नै ओरालो लाग्यो। र, आफ्नो साख जोगाउन सकेन।

यता, खड्का पक्ष भने मिलाउन खोज्दा पनि अर्को समूह मिल्न नचाहेको हुँदा समस्या देखा परेको बताउँछन्।

'सबैलाई मिलाएर लैजाने अधिकतम प्रयास भएको हो, तर उहाँहरु मिल्न नै चाहनुहुन्न,' खड्का गुटका एक नेताले भने।

स्थानीय चुनावमा समेत पार्टीभित्रैबाट असहयोग भएकै कारण पराजित हुनु परेको खड्का पक्षको आरोप छ। उपसभापति खड्काले सबैलाई मिलाएर अघि नबढे आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि अर्कैको पोल्टामा जाने कांग्रेस कार्यकर्ता बताउँछन्।

देश भरीका नेता कार्यकर्ता मिलाउने जिम्मेवारी पाएका उपसभापति खड्काले गृह जिल्लामै कार्यकर्ता मिलाउन सकेनन्। जसको परिणाम स्थानीय तहको नेतृत्व गुमाउन पुग्यो। त्यसको असर आगामि निर्वाचनसम्मै जान्छ या जाँदैन, त्यो प्रतीक्षाको विषय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell