PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मकवानपुरको ८ स्थानीय तहमा सकियो मतगणना, कहाँ को चुनिए?



पहिलोपोस्ट

मकवानपुरको ८ स्थानीय तहमा सकियो मतगणना, कहाँ को चुनिए?

हेटौंडा : मकवानपुरको १० स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजा अनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको छ भने दुई स्थानीय तहमा एमाले विजयी भएको छ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र थाहानगरपलिकाको मतगणना सकिएको छ। बाँकी दुईवटा बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य जारी रहेको छ।

पालिकामा क कसको जित ?

इन्द्रसरोवर गाउँपालिका

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। इन्द्रसरोवर गाउँपालिकामा एमालेका देबकृष्ण पुडासैनी विजयी भएका हुन्। गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारेका हुन्। कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए। निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याएका थिए। उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरेकी छन्। उनले ३ हजार ७२५ मत पाएर विजयी भएकी हुन्। कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६ सय ५६ मत ल्याएर पराजित भएकी छिन्।

भीमफेदी गाउँपालिका

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन्। उनले पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हन्। लामा ५ हजार ५९१ मत प्राप्त गरेर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सञ्जिव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गरे। एमालेकी पार्वती राना १६ मतान्तरले पराजित भएकी छन्। भीमफेदीका नवनिर्वाचित अध्यक्ष लामा सोही पालिकाको निवर्तमान अध्यक्ष समेत हन्।

कैलाश गाउँपालिका

जिल्लाको कैलाश गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेद्वारले जीत हासिल गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोक्तानले ४ हजार ८९७ मत प्राप्त गर्दैगर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्र रिजालले ४ हजार ९३ मत मात्र प्राप्त गरेका थिए।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) का बालकुमार मल्ल विजयी भएका हुन्। उनले ४ हजार ८८ मत प्राप्त गरेर उपाध्यक्ष पदमा जीत हासिल गरेका हुन्। त्यस्तै उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत प्राप्त गरेर हार व्यहोरेकी थिइन्।

राक्सिराङ गाउँपालिका

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४८१ मत सहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरेर पराजित हुन्।

उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन्। थिङले ४ हजार ८३९ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तली माया प्रजाले ४ हजार १२९ मत प्राप्त गरेर पराजित भएकी हुन्।

मनहरी गाउँपालिका

मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ। गठबन्धनबाट अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका रञ्जन कालाखेतीले ९ हजार ३६६ मत प्राप्त गरेकर विजयी भएका छन्। उनको प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९७० मत प्राप्त गरेका थिए।

उपाध्यक्ष तर्फ गठबन्धनबाट नेकपा माओवादीका सिता पुलामी मगर (रेखा) विजयी भएकी छिन्। रेखाले ७ हजार ४७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकी छिन्। उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी छिन्।

मकवानपुरगढी गाउँपालिका

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ५ दलीय गठबन्धनको उम्मेद्वार विजयी भएका छन्। परिणाम अनुसार गठबन्धनबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङतान ६ हजार ७६ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्वतमान गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ५ हजार ६४५ मत ल्याए।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदमा विजयसिंह ठकुरीले १५० मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामाले २४ मत, स्वतन्त्र उम्मेदवारहरु कृष्ण प्रसाद कंडेल १२ र नवराज तिमल्सिनाले १ मत ल्याएका थिए।

यसैगरी, उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीकी मानकुमारी पाख्रिन ६ हजार ११० मतसहित विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी सन्तु थिङले ५ हजार २ सय ४ मत ल्याउँदा राप्रपाकी हिरादेवी हुमागाईले २०७ मत ल्याइन्। यसअघि,२०७४ को स्थानीय निर्वाचनमा मकवानपुरगढीको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका थिए।

थाहा नगरपालिका

थाहा नगरपालिकामा माओवादी कांग्रेस गठबन्धन उम्मेदवार विजयी भएका छन्। थाहा नगरको मेयरमा माओवादी केन्द्रका उमेदवार विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार भरत गोपाली विजयी भएका हुन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहामा सत्तारुढ गठबन्धन नै विजयी भएको थियो। यो पटक कुल २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्टले ९ हजार ७१९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरे। यस्तै उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गरि विजय भएका हुन्।

उनको निकटतम् प्रतिद्वन्द्वी एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन्। थाहा नगरमा नेकपा माओवादीले ६ वटा वडा, नेपाली कांग्रेस ३ वडा र नेकपा एमालेले ३ वडामा विजयी भएका छन्। १२ वडा रहेको यो नगरमा यसअघिको निर्वाचनमा माओवादी कांग्रेस गठबन्धन विजय भएको थियो।

बकैया गाउँपालिका

बकैया गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरू विजयी भएका छन्। अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी भएका हुन्। लामिछानेले ११ हजार २९२ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन्। राप्रपाका रामप्रसाद दाहालले ३६९ मत र नेकपा एकीकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १३२ मत प्राप्त गरेका छन्।

यसैगरि, गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्तबहादुर खत्री विजयी भएका छन्। खत्रीले ९ हजार ५२२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गर्दै उपबिजेता बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell